काठमाडौं : ट्राफिक प्रहरीले परीक्षा दिनुपर्ने भएको छ। परीक्षा हलमा दिनुपर्ने नभई उनीहरूकै कार्यसम्पादनलाई आधार बनाइएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्यसम्पादनलाई नै मुख्य आधार बनाएर उनीहरूको मूल्यांकन सुरु गरेको छ। ट्राफिकले गर्ने दैनिक काम

कारबाहीलाई चार खण्डमा बाँडेर ४ सय पूर्णांकका ५० प्रश्नका आधारमा मूल्यांकन गर्ने भएको हो। कार्यालय व्यवस्थापन, प्रहरी आचरण व्यवहार एवं अनुशासनमा २५, ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनीकरणमा २ सय, सवारी चोरी एवं दुर्घटनासम्बन्धी अनुसन्धानमा ६० र सिर्जनशील एवं उपलब्धिमूलक कार्यसम्पादनबापत ११५ अंकमा विभाजन गरिएको छ। ट्राफिकका सबै कामकारबाहीको वस्तुनिष्ठ आधारमा वास्तविक मूल्यांकन गरी व्यावसायिक, स्तरीय एवं काम प्रभावकारी बनाउन महाशाखाले परीक्षाको अवधारणा अघि सारेको हो। महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सम्पूर्ण ट्राफिक इकाइसँग अन्तरइकाइ कार्यसम्पादन परीक्षाको करार सम्झौता गरिएको छ। ३÷३ महिनामा उत्कृष्ट काम गर्ने कार्यालय प्रमुख र अन्य प्रहरी कर्मचारीलाई पुरस्कृत गरिने जानकारी उनले दिए। ‘सडकमा ट्राफिकले चालक र यात्रुसँग गर्ने व्यवहार अनुशासित हुनुपर्छ’, उनले भने, ‘कार्यसम्पादनमा त्रुटि हुनुहुँदैन भनेरै यो अवधारणा अघि सारेका हौं।’ यो अवधारणाले हरेक ट्राफिकलाई उसको काममा उत्तरदायी र जवाफदेही बनाउने महाशाखाको दाबी छ।

परीक्षाका विषयमा मापसे कारबाही, लेन अनुशासन उल्लंघनमा कारबाही, दुर्घटना गरी फरार सवारी र चालक पक्राउ, चोरीका सवारी पक्राउ र अनुसन्धान, दुर्घटनामा चालक, सहचालक र यात्रुको सुरक्षा तथा उद्धारलगायतलाई मान्यता दिइएको छ। ट्राफिक सचेतना कक्षा, बढी भाडा असुल्ने, मिटरमा नजानेलाई कारबाही, ठूलो आवाज निकाल्ने तथा मोडिफाई र तीव्र गतिमा लापरवाहीपूर्वक सवारी चलाउनेलाई कारबाही, सार्वजनिक यातायातमा यात्रुमैत्री बनाउन गरेको सुधार, आरक्षण सिटको व्यवस्थापनलाई परीक्षाको आधार बनाइएको छ।

एसएसपी ढकालका अनुसार ट्राफिक जाम न्यून गर्न गरिएको प्रयास, निषेधित स्थानमा पार्किङ गर्नेलाई कारबाहीलगायत सबैमा नम्बर दिइनेछ। ट्राफिक नियम र सडक सुरक्षासम्बन्धी सचेतना कक्षा, ट्राफिक लाइट, सीसी क्यामेरा, ट्राफिक संकेत थप, फुटपाथ अतिक्रमण हटाउने, लेन मार्किङ, यात्रीको सुरक्षालगायत सुधारमा समेत नम्बर दिने जानकारी महाशाखाले दिएको छ। साढे ८० प्रतिशतभन्दा बढी अंक ल्याउनेलाई विशिष्ट, ६५ देखि ७९.९५ प्रतिशत ल्याउनेलाई प्रथम, ५५ देखि ६४.९५ प्रतिशत अंक ल्याउनेलाई द्वितीय, ४५ देखि ५४.९५ प्रतिशत ल्याउनेलाई तृतीय श्रेणी तोकिएको छ।

एसएसपी ढकालका अनुसार विशिष्ट श्रेणी ल्याउनेलाई बढुवामा सहयोग हुने गरी पुरस्कृत गरिने, प्रथम श्रेणीलाई प्रशंसापत्र दिइने, दोस्रो हुनेलाई सान्त्वना र तृतीय हुनेलाई थप सुधारका लागि सचेत गराइनेछ। भ्रष्टाचार गरे, आर्थिक हिनामिना गरे विभागीय कारवाहीसँगै पाएको अंकबाट २० अंकसम्म घटाइनेछ। महाशाखाअन्तर्गत काठमाडौं उपत्यकामा ३५ इकाइ छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News