काठमाडौं : प्रहरी संगठनले माघ २९ गते नयाँ प्रहरी नेतृत्व पाउँदैछ। प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल ३० वर्षे सेवाहदका कारण मंगलबार अवकाश पाउँदैछन्। खनालपछि कसले २७ औं आईजीपी हत्याउने भनेर यो पटक राजनीतिक घम्साघम्सी देखिएको

छैन। सरकारले डीआइजीद्वय ठाकुर ज्ञवाली र तारिणी लम्सालमध्ये एक जनालाई प्रहरी महानिरीक्षक बनाउनेछ। कार्यसम्पादन मूल्यांकन र जेष्ठतामा लम्साल भन्दा ज्ञवाली अघि छन्। दुवै २०४७ असार २५ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन्। दुईमध्ये जो महानिरीक्षक भएपनि आगामी असार २४ गते सेवाहदका कारण अवकाश पाउनेछन्। सरकारले आईजीपी नियुक्तीको पुरानै नजिरलाई नकाट्ने हो भने ज्ञवालीकै पल्लाभारी निश्चित छ। यसअघि सरकारले नेपाल प्रहरीमा कार्यसम्पादन मूल्यांकन र जेष्ठतालाई आधार बनाउँदै आएको छ। सोही आधारमा नेपाल प्रहरीमा खनाल र सशस्त्रमा शैलेन्द्र खनाललाई महानिरीक्षक बनेका हुन्।

आईजीपी सर्वेन्द्र खनाल । नयाँ आईजीपीको दौडमा रहेका डीआईजी तारिणी लम्साल र ठाकुर ज्ञवाली ।

डीएसपी हुँदा ६ वर्ष लागूऔषध, एक वर्ष रुकुम र एक वर्ष बुटवल बसेका ज्ञवाली २०६६ मा एसपीमा बढुवा भएका हुन्। एसपी भएपछि उनी दाङ, बारा र झापाको जिल्ला इन्चार्ज भए। एसएसपी हुँदा प्रहरी महानिरीक्षकको सचिवालय, नेपालगञ्ज र सीआईबीमा काम गरेका उनी डीआईजी भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरे। अहिले उनी प्रदेश १ प्रहरी प्रमुख भएर काम गरिरहेका छन्। सम्भवत सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले प्रहरीको नयाँ नेतृत्व चयन गर्दैछ। महानिरीक्षक खनालसँगै एआईजी पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यात सेवाहदकै कारण अवकाश पाउँदैछन्। त्यसैगरी खनालकै ब्याची केदार रिजाल, मनोज न्यौपाने, शेरबहादुर बस्नेत, पूर्णचन्द्र जोशी, कमल जिटी, दानसिंह बोहोरा,

नारायणसिंह खड्का, हरिभक्त प्रजापति, पिताम्बर अधिकारी, दीपक थापा, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, सुरज केशी, दिनेश अमात्य, महेन्द्र पोखरेल र सुरेशविक्रम शाह सेवाहदकै कारण माघ २८ गते अवकाश हुँदैछन्। अब हुने प्रहरी नेतृत्वले सिनियर प्रहरी अधिकृतको बढुवा र सरुवामा धेरै समय खर्चिनुपर्ने अवस्था छ। गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार हालसम्म कुनै परिवर्तन नभए ज्ञवाली नै २७ औं प्रहरी नेतृत्व बन्ने पक्कापक्की छ।

‘छोटो अवधिको लागि प्रहरी नेतृत्व पाउने भएकाले पनि यो पटक राजनीतिक दौडधुप कम देखिन्छ’, गृहका ति उच्च अधिकारीले भने। डीआईजी ज्ञवाली र लम्साल भने अहिले काठमाडौंमै छन्। डीआईजी ज्ञवालीको नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्डसँग निकट सम्बन्ध रहेको उच्च स्रोतको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News