भ्यालेन्टाइन्स डेका अवसरमा हार्ट सेपको प्रयोग व्यापक रूपमा भएको पाइन्छ। बेलुनदेखि प्रेमी–प्रेमिकाले एकअर्कालाई दिने उपहार हार्ट सेपकै हुने गरेका छन्। ‘मनैदेखि कसैलाई माया गर्छु’ वा ‘मन पराउँछु’ भन्नुपर्‍यो भने हार्ट सेपकै सहारा लिने गरेको पाइन्छ। यसो गरिनुका

पछाडि केही कारण छन्। मानव सभ्यतामा मुटु र मनलाई पर्यायवाची शब्दका रूपमा प्रयोग गरिन्छ। साहित्यकार, लेखक तथा कविले पनि मुटु र मनलाई पर्यायवाचीकै रूपमा प्रयोग गर्ने गर्छन्। माया दर्शाउन रातो मुटु, दुःखलाई टुटेको मुटु, दयालुलाई ठूलो मुटु, डरपोक वा कञ्जुस जनाउन सानो मुटु आदि अवधारणा शुभकामना कार्ड, स्टिकर, खेलौना, चकलेट, केक तथा उपहारमा सामग्रीमा चित्रित गरिन्छ। तर, विज्ञानको दृष्टिमा यो धारणा सरासर गलत हो। मन र मुटु एकै होइनन्। मुटु मांसपेशीले बनेको यान्त्रिक पम्प मात्र हो।यसको मद्दतले शरीरको कुनाकाप्चासम्म रक्तसञ्चार हुन्छ। मुटुको जटिल शल्यक्रिया गर्दा अथवा मुटु फेर्दा यसलाई पूर्ण रूपमा अलग्याएर, कृत्रिम यन्त्रले सहजै ज्यान धान्न सकिन्छ। यस्तो मुटुविहीन अवस्थामा पनि मान्छेले सबै भावना महसुस गर्न सक्छ। अर्थात्, मनको घर मुटु होइन। आजभन्दा पाँच सय वर्षअघि वैज्ञानिक लियोनार्दो दा भिन्चीले मानव शरीरको गहन अध्ययनको क्रममा पत्ता लगाइसकेको तथ्य हो यो। तैपनि, विज्ञानबाहेक अन्य विधामा यसले अझै मान्यता नपाएको वा मान्यता पाएर पनि व्यवहारमा स्वीकार गर्न नसकेको तथ्य हो यो।

विज्ञानमा मनलाई मस्तिष्कको समस्त कार्यकारिणी पक्ष अर्थात् दिमागलाई कम्प्युटरसित दाँज्दा मनलाई सफ्टवेयर भनेर बुझ्न सकिन्छ। समस्त सोचविचार, भावना, आवेग, बुद्धि, विवेक, चेतना मुटुबाट नभई दिमागबाट नै उत्पन्न हुन्छन्। मुटुलगायत सम्पूर्ण अंगप्रणालीको सञ्चालन केन्द्र पनि मन नै हो। सबै अंग एकापसमा यसरी सम्बन्धित हुन्छन् कि एकमा कुनै असर पर्दा अर्कामा पनि त्यसको प्रतिअसर देखिन्छ। मुटुले अपरिहार्य खाद्यपदार्थ र अक्सिजन आपूर्ति गर्न रक्तसञ्चार गर्ने हुनाले कुनै पनि प्रक्रिया हुनुअगाडि सर्वप्रथम मुटुलाई कार्यभार थपिन्छ।अतः हरेक भावनाले प्रथमतः मुटुमा केही असर परेको महसुस भइहाल्छ। यसर्थ, भावनाहरू मुटुबाटै उत्पन्न भएको भ्रम हुन्छ। यस प्रक्रियालाई कम्प्युटरको हरेक क्रियाकलाप पहिला स्क्रिनमा देखापर्दा स्क्रिनले नै समस्त गतिविधि नियन्त्रण गर्छ भन्ने गलत निचोड निकाल्नुसँग दाँज्न सकिन्छ।

मानिस मानसिक र शारीरिक रूपमा स्वस्थ हुञ्जेल यस गलत धारणाले खासै नोक्सानी त नगर्ला तर मनको रोगलाई मुटुको रोग भन्दै गलत अनुसन्धान र उपचार गरेर समय र स्रोत तथा अमूल्य जीवन बर्बाद गर्नुलाई कुनै पनि हालतमा उचित मान्न सकिन्न। उदासी, तनाव, डर, चिन्ताजन्य मानसिक रोगमा मुटुसम्बन्धी अवश्य धेरथोर लक्षण हुन्छन्। उक्त लक्षणबाट सजग भएर मानिसहरू मुटुको रोग भन्दै मुटु रोग विशेषज्ञकहाँ पुगिहाल्छन्।सर्वसाधारणले त अनजानमा गल्ती गर्छन् नै। तर, तथाकथित विज्ञहरूद्वारा धेरैजसो निजी फाइदाका लागि जानाजान वा कहिलेकाहीँ मानसिक रोगको विभेदबाट बच्न झुट बोल्दै अपूर्ण वा गलत उपचार गर्दै बिरामीलाई झुलाइराख्नु दुःखदायी कुरा हो।

कतिपय अवस्थामा मानसिक रोग भनेर चिनिसकेपछि पनि अरूले हेप्लान् भन्ने डरले बिरामी पनि सकेसम्म सही ठाउँमा उपचारका लागि जान हिचकिचाइरहेका हुन्छन्। स्रोतसाधन र कहिलेकाहीँ त जीवन नै बर्बाद गरिरहेका हुन्छन्। मुटु र मन एउटै नभए पनि दुईको सम्बन्ध नै छैन भन्ने चाहिँ होइन। शरीर र मन छुट्टिनै नसक्ने एकापसका पूरक भएकाले एउटालाई अप्ठ्यारो हुँदा अर्कोमा पनि स्वाभाविक रूपमा नकारात्मक प्रभाव पर्छ। अर्थात, मन अस्वस्थ हुँदा मुटुको रोग पनि ह्वातै बढ्छ। विशेष मानसिकता भएका व्यक्तित्वलाई मुटु रोगको खतरा बढी हुन्छ।बढी महŒवाकांक्षी, अत्यन्त व्यस्त, आफूलाई सधैँ चुनौती र तनावमा राख्ने व्यक्तिलाई उच्च रक्तचाप, हृदयघात हुने सम्भावना बढी हुन्छ। उदासी (डिप्रेसन) का बिरामीलाई मुटुको रोग हुने जोखिम अरूलाई भन्दा दोब्बर हुने गर्छ। त्यस्तै, चिन्ताको रोगले पनि मुटुको रोग निम्त्याउँछ।

यस्ता मानसिक समस्या हुनेहरूले लागुपदार्थ बढी सेवन गर्ने, अनिद्राको शिकार हुने, खानपिनमा ध्यान नदिने हुनाले समस्यामाथि समस्या थपिन्छ। फलतः मुटुको रोगको जोखिम पनि बढ्छ। त्यस्तै, मुटुको रोगसँगै अनेक मानसिक रोग पनि देखापर्न थाल्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News