काठमाडौँ : विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन प्रधानमन्त्रीले १४ दिन होम क्वारेन्टाइनमा बस्न नागिरकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ

विशेष सम्बोधन गर्दै चैत १० गतेदेखि २४ गतेसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन् । सम्बोधनको क्रममा प्रधानमन्त्रीले सबै अन्तर्राष्ट्रिय उडान चैत ९ देखि १९ सम्म स्थगित गरिएको घोषणा गरेका थिए ।आम नागरिकलाई उनले उच्च सयंमता अपनाउन पनि आग्रह गरे । तर नागरिकहरुलाई धैर्यवान हुन तर आतंकित नहुन पनि उनको आग्रह छ ।’महामारीसँग जुध्न सजिलो छैन । हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरूरी भएको छ । यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ । तर सम्भावित संक्रमणलाई परास्त गर्न हामीसँग यस बाहेक अर्को विकल्प पनि छैन । तसर्थः तपाईँहरुले भरोसा गर्नु भएको प्रधानमन्त्रीको हैसियतले म आग्रह गर्दछु, सरसफाईमा उचित ध्यान दिनुहोस्, साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस्, भीडभाडबाट टाढै रहनु होस्, सकेसम्म घरमै बस्नुहोस्, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस्,

हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस्, चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस्, धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस्, र सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् ।’ प्रधानमन्त्रीले भनेका छन् ।उनले अघि थपेका छन्, ‘संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्छ । सबै दिदीबहिनी तथा दाजुभाईहरुले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी राख्ने छैन । यसका लागि देशभरका अस्पतालहरूबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।

‘यस कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षा निकाय लगायतका जनशक्तिलाई उचित प्रोत्साहन सहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको पनि प्रधानमन्त्रीले बताएका छन् ।
प्रधानमन्त्रीको सम्बोधन : चैत ९ देखि १८ सम्म सबै उडान स्थगित
साथै निजी क्षेत्र समेतको सहयोगमा खाद्यान्न लगायतका अत्यावश्यक उपभोग्य सामाग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएको पनि उनले बताए ।

तर, अप्ठ्यारो समयको फाईदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता अपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारवाही गर्ने पनि प्रधानमन्त्रीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News