काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसको संक्रमण रोक्न नेपालमा पनि चिनियाँ मोडल अपनाइन्ने बताएका छन् । चिनियाँ सरकारसँग उसले अपनाएको उपाय अंगीकार गर्न चिनियाँ चिकित्सकबाट प्रशिक्षण माग गरेको उनले बताए ।

‘हिजोसम्म एउटा होमवर्क थियो त्यो भन्दा अब चिनियाँ मोडलमा जाने, उनीहरुको सुझाव/सल्लाहलाई अंगीकार गर्ने’, त्यसका लागि चीनसँग चिकित्सकको टिमबाट प्रशिक्षण माग गर्ने भन्ने भएको छ’ मन्त्री भट्टले भने ।चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट चीनमा ३ हजार २ सय जनाको मृत्यु भएको थियो । अहिले चीनमा यो रोगको संक्रमण करिब नियन्त्रणमा आएको छ ।युरोपतिर महामारीकै रुप लिइरहेका बेला चीनमा कोरोना भइरस नियन्त्रणउन्मुख हुँदै गएपछि सरकार चिनियाँ मोडलमै सर्तकता अपनाउने निश्कर्षमा पुगेको मन्त्री भट्टको भनाइ छ ।

चिनियाँ अनुभव र विधि सिक्न भिडियो कन्फरेन्समार्फत चिनियाँ चिकित्सक र नेपाली चिकित्सकको भिडियो कन्फरेन्स गराइने मन्त्री भट्टले सुनाए ।
‘यहाँबाट उता (चीन) लैजाँदा खर्चिलो र समय लाग्ने भएकाले उनीहरुको अनुभव, विधिबारे भिडियो कन्फरेन्समार्फत नेपालका डेडिकेटेड अस्पतालका डाक्टरलाई सुझाव दिइनेछ’ आइतबार संघीय संसद राज्यका नीति निर्देशक सिद्धान्तको अनुगमन तथा मूल्यांकन निर्देशक समितिको बैठकमा मन्त्री भट्टले भने ।मन्त्री भट्टका अनुसार कोरोनाबाट बच्न जुनसुकै देश वा संस्थाले उपलब्ध गराउने सहयोग नेपालले स्वीकार गर्नेछ । ‘चीनले र भारतले वा जुन सुकै देश वा संस्थाले जे उपलब्ध गराउँछ त्यो लिने भन्या छौं’ उनले भने ।

मन्त्री भट्टले चीनले झैं नेपालमा पनि कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा नेपाली सेनालाई संलग्न गराउने तयारी भएको बताए ।‘नेपाली सेनाले आफ्नो तर्फबाट पुरै तयारी गरेको छ । उनीहरुले एक हप्ताभित्र सम्भावित सबै कुराको तयारी गरिसक्ने भनेका छन्’ मन्त्री भट्ट भन्छन्, ‘सशस्त्र प्रहरीको हस्पिटललाई डेडिकेटेडका रुपमा निर्णय भइसकेको छ ।आपूर्तिमन्त्री भट्टले माग अनुसारको स्वास्थ्य परीक्षण उपकरण आपुर्ति गर्न नसकिएको पनि स्वीकार गरे । आन्तरिक रुपमा उत्पादन गर्ने र चीनलगायतका देशबाट औषधि र स्वास्थ्य उपकरण ल्याउने तयारी भएको उनले जानकारी दिए ।

सीमा बन्द गर्ने विषय छलफलमै
समिति बैठकमा सांसदहरुले तत्काल भारतसँगको खुला सीमा बन्द गर्न माग गरेका थिए । जवाफमा मन्त्री भट्टले यसबारे भारत सरकारसँग छलफल भइरहेको बताए ।‘बोर्डरमा आइसकेकालाई रोक्न सकेनौं । त्यसकारण भीड देखिएको हो’ मन्त्री भट्ट भन्छन्, ‘बोर्डर टाइट गर्ने र बन्द गर्नेबारे भारतसँग छलफल भइरहेको छ ।’

समिति बैठकमा सत्तारुढ दल नेकपाका सांसदद्वय पम्फा भुसाल र भीम रावलले एकतर्फी रुपमा भए पनि भारतीय नाका बन्द गर्न माग गरेका थिए ।
मन्त्री भट्टले खुला सीमा नाका बन्द गर्नुपर्ने सुझावलाई मन्त्रिपरिषद बैठकसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News