काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाको महामारीबाट बच्नका लागि आफ्नो मातहतमा रहेका भौतिक संरचनालाई क्वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने बताएको छ । एन्फाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको महामारी

र संक्रमणबाट बच्नका लागि आवश्यक परेको खण्डमा देशभर रहेका फुटबलको संरचना प्रयोग गर्न सकिने उल्लेख गरेको हो ।एन्फाका सचिव किरण राईले जारी गरेको विज्ञप्तिमा एन्फाअन्तर्गत ललितपुरको सातदोबाटोस्थित खेलाडी होस्टल, बुटबल र धरानको एन्फा एकेडेमी भवन, रौतहटको महिला एकेडेमीलगायत संरचनालाई क्वारेन्टाइन र आइसोलेसनको रूपमा प्रयोग गर्न सकिने उल्लेख छ । एन्फाले भवनलगायत अन्य संरचनालाई पनि प्रयोग गर्न र गराउन अनुरोध गरेको छ ।

कोरोनाको महामारीबाट सजग रहन सरकारले आग्रह गरेसँगै एन्फाले अहिले फुटबलका सम्पूर्ण गतिविधि बन्द गरेको छ । एन्फाले काठमाडौंमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग सञ्चालनकै क्रममा रोकेको थियो । एन्फाले ‘बी’ डिभिजन लिग चैत १२ गतेसम्म स्थगित गरेको थियो । एन्फाले एक साताका लागि आफ्नो कार्यालय र सचिवालयसमेत बन्द गरेको छ । कोरोनाका कारण विश्वकप छनोटका खेलसमेत स्थगित भएको छ ।

यसैगरी नेपाल तेक्वान्दो संघले पनि आइतबार प्रेस विज्ञप्ति जारी गरी चैत २२ गतेसम्मका लागि तेक्वान्दोका सबै गतिविधि ठप्प गरिएको जानकारी गराएको छ । संघले कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यानमा राखी ललितपुरस्थित संघको केन्द्रीय कार्यालय, प्रदेश, जिल्लाको कार्यालय र सबै डोजाङको प्रशिक्षण बन्द गर्ने निर्णय गरेको छ ।

कोरोनाको जोखिमलाई मध्यनगर गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यसअघि नै खेलकुदका सम्पूर्ण गतिविधि बन्द गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News