काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढेसँगै देश छाडेर परदेशमा पसिना बगाउन गएका धेरैलाई यतिबेला परिवारसँग टाढा रहेर जोखिमको सामना गर्नुपरेको छ । नेपालीको मुख्य श्रम गन्तव्य खाडीका ६ देशसँगै मलेसिया, दक्षिण कोरिया लेबनान

खाडीका केही देशमा कर्फ्यु र ‘लकडाउन’, नेपाली श्रमिक भन्छन् : सुरक्षा सतर्कता अपनाएका छौँ
लगायतका ठाउँमा पनि अहिले कोरोना सङक्रमितको सङ्ख्या बढ्दो छ । तर यूएईमा र बहराइनमा मात्र नेपालीलाई सङ्क्रमण देखिएको छ ।यूएईमा सङक्रमित दुई जना त निको भइसकेका छन् । बहराइनमा सङ्क्रमण देखिएका तीन जना नेपालीको उपचार भइरहेको छ । बहराइनमै रहनुभएका प्रकाश चन्द्र पोख्रेल जोखिम भए पनि कम्पनीले सुरक्षाका लागि कुनै सम्झौता गरेको छैन भन्नुहुन्छ ।‘म सेक्युरिटी कम्पनीको अपरेशन विभागमा छु, मैले काम गर्ने कम्पनीमा पाँचसय हाराहारीमा नेपाली छौं, अहिलेसम्म सबै सुरक्षित छौं,’ उहाँ भन्नुहुन्छ, ‘कम्पनीले नियमित सरसफाइमा सतर्क गराएको छ, काम गर्ने ठाउँमा र बस्ने ठाउँमा पनि सुरक्षा सतर्कता अपनाइएको छ ।’

विपदका बेला उहाँलाई परदेशमा बस्न मन त छैन । तर पनि अहिलेको अवस्थामा संसारभरी नै जोखिम भएकाले जहाँ भए पनि सुरक्षित साथ रहन उहाँ सबैलाई आग्रह गर्नुहुन्छ । बहराइनमा अवतरण गर्ने उडानहरु १८ मार्चदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् । बहराइनले सबै लेबर क्याम्प सरसफाइ गर्ने र हरेक क्याम्पमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । सङ्क्रमितले क्वारेन्टाइनमा बस्न नमानेमा एक हजारदेखि १० हजार बहराइन दिनार जरिबाना हुनेछ । कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गर्न सकिन्छ ।

साउदीमा रात्रीकालीन कर्फ्यु
साउदीमा अहिले रात्रीकालीन कर्फ्यु लागेको छ । अहिलेसम्म साउदीमा कार्यरत नेपाली श्रमिकका कोरोनाको सङ्क्रमण नदेखिए पनि जोखिम छ भन्नुहुन्छ पीएम दिपेन मङ्गोलिएन । रात्रीकालीन कर्फ्यु भएकाले दिउँसो काम चलिरहेको छ उहाँको कम्पनीमा । तर सुरक्षाको बारेमा कम्पनीले त्यति ध्यान नदिएकाले डर छ भन्नुहुन्छ उहाँ ।

साउदीमै कार्यरत ओखलढुङ्गाका पासाङ शेर्पा गर्जा भने कोठाबाट बाहिर निस्कनु भएको छैन । कोठामै कम्पनीले खानेबस्ने व्यवस्था गरिदिएको छ । तर लामो समयसम्म अवस्था यस्तै रहेमा के होला भन्ने चिन्ता छ भन्नुहुन्छ उहाँ । ‘यस्तो बेला त घर जाउँजस्तो लाग्दोरहेछ, अनि नेपाल पनि फर्कन नपाइने भन्ने खबर सुन्दा मन पनि दुखेको छ,’ पासाङ गुनासो गर्नुहुन्छ । एक महिनासम्मलाई खानको चिन्ता छैन ।

कुनै समस्या परिहालेमा दूतावासको सहयोग लिने सोचमा छु भन्नुहुन्छ उहाँ । सङ्क्रमणको शङ्का लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको हेल्थ सर्भिस सेन्टरको सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिन सकिन्छ । अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको ०११४६१११०८ नम्बरमा सम्पर्क गर्न सकिन्छ । बिदाको दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० नम्बरमा फोन गर्न सकिन्छ ।

इभर गोर्खाली साउदीमा एक रेस्टुरेन्टमा काम गर्नुहुन्छ । मानिसहरुको आवातजावत कम भए पनि रेस्टुरेन्ट खुलेको छ भन्नुहुन्छ उहाँ । तर दुई महिनादेखि तलब पाउनुभएको छैन ।

कतारमा दूतावासको भूमिका निष्क्रिय
कतार सरकारले सावधानी अपनाएकाले डराउनु पर्ने अवस्था छैन भन्नुहुन्छ, भगवान बोगटी । उहाँले काम गर्ने कम्पनीलाई नै क्यारेन्टाइन बनाइएको छ । श्रमिकलाई नियमित जाँच गर्ने र खान बस्नको समेत राम्रो व्यवस्था भएकाले घरपरिवारलाई चिन्ता नगर्न भन्नुहुन्छ, उहाँ ।

कोही पनि व्यक्तिलाई अत्यावश्यक काम बाहेक बाहिर निस्कन दिइएको छैन भन्नुहुन्छ सिताराम अधिकारी । सरकारले नजानु, नगर्नु भनेको ठाउँमा जानेलाई पक्राउ गर्ने गरेकाले पनि सावधानी अपनाउन उहाँ सुझाव दिनुहुन्छ । ‘सनैया लगायतका क्षेत्रमा बाहिर निस्कन र घुम्न प्रतिबन्ध लगाएकाले यस्तोबेला कोठामै बस्नुहोला, म पनि कोठामै बसिरहेको छु,’ उहाँ भन्नुहुन्छ ।

कतारमै कार्यरत राजन सुबेदी भने अहिले विपदका बेला नेपाली श्रमिकको समस्या समाधानका लागि दूतावासले भुमिका निष्कृय भयो भन्नुहुन्छ । कतार सरकारले बिना कारण नेपाली लगायत अरु देशका नागरिकलाई पक्राउ गर्दै देश निकाला गर्दा अरु देशले आफ्ना नागरिको हितमा बोले पनि नेपाली दूतावासले त्यस्तो पहल नगरेको उहाँको भनाई छ । ‘फोन नलाग्ने र लागिहाले पनि नउठ्ने दूतावासको पहिलेदेखिकै परम्परा हो, यस्तो विपदका बेला दूतावास थप चनाखो हुनुपर्छ,’ राजन भन्नुहुन्छ ।

कुवेतमा पनि कर्फ्यु
कुवेत सरकारले कोरोनाको सङक्रमण रोकथामका लागि बेलुकी पाँच बजेदेखि बिहान ४ बजेसम्मको कर्फ्यु लगाएको छ । अघिपछि पनि लकडाउन भएकाले बाहिर हिँडडुल गर्न समस्या छ भन्नुहुन्छ, आदिप मोक्क्तान । उहाँ कुवेतमा एक रेष्टुरेन्टमा काम गर्नुहुन्छ । तर अहिले बन्द छ । काम नहुँदा होम क्वारेन्टाइनमा बस्नुभएको छ उहाँ ।

नबिन तामाङको कम्पनीले भने काम लगाइरहेको छ । बिहान चारबजेदेखि दिउँसो ३ बजेर ३० मिनेटसम्म काम गर्नुहुन्छ, उहाँ । कम्पनीले सुरक्षा सतर्कतामा खासै ध्यान नदिएकाले जोखिम महसुस भएको छ, उहाँलाई । भन्नुहुन्छ, ‘कम्पनीले मास्कको व्यवस्था पनि गरेको छैन, घर फर्कन मन छ तर कसरी फर्कन सकिन्छ होला र ?’

दिलकुमार पाख्रिनले काम गर्ने कम्पनीले भने कर्फ्युका कारण काम गर्ने समय तालिका फेरबदल गरेको छ । यो बेला काम र कमाइ भन्दा पनि ज्यानको सुरक्षामा ध्यान दिन सबैलाई उहाँको अनुरोध छ ।

कुवेतमा सार्वजनिक क्षेत्रमा भेला भएर नबस्न र घरभित्रै पनि धेरै मानिस जम्मा भएर नबस्न भनेको छ । स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गरेर आफ्नो अवस्थाबारे जानकारी गराउन सकिन्छ । २२ दिन अघि कुवेत जानुभएका गौरव बिक्रम कुँवर अहिले होम क्वारेन्टाइनमा बस्नुभएको छ । तर जोखिम जताततै भएकाले डर छ भन्नुहुन्छ उहाँ । ‘कामको टुङ्गो छैन, स्यानेटाइजर, मास्क र गोलोब त छ तर सतर्कता अपनाउँदा अपनाउँदै पनि मनमा डर भने लागिरहन्छ,’ उहाँ आफ्नो अनुभव सुनाउनुहुन्छ ।

यूएई : कोरोना सङक्रमित दुई नेपाली निको भए
यूएईमा दुई जना नेपालीलाई कोरोना सङ्क्रमण भएको थियो । तर दुवै जना निको भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । अरु नेपालीले सावधानी अपनाएर काम गरिरहेका छन् ।

मिनसागर लामाको कम्पनीले अहिले बिदा दिएको छ । घर आउने तयारीमा पनि हुनुुहुन्थ्यो तर अहिले बन्द भएकाले आउन पाइएन भन्नुहुन्छ उहाँ ।
‘जहाज चल्न थाल्ने बित्तिकै घर फर्कने हो, यस्तो दुःखका बेला नि परदेशमा एक्लै बस्न पर्‍यो,’ उहाँ गुनासो गर्नुहुन्छ ।

यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भइसकेका छन् । कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्न सकिन्छ । आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ ।

मलेसिया लकडाउन, सचेत गराउन नेपाली सुरक्षा गार्ड परिचालन
प्रकाश सिंह ठकुरी अहिले मलेसिया सेक्युरिटी गार्डको काम गर्नुहुन्छ । मलेसियामा लकडाउन भएकाले त्यसको पालनाका लागि अहिले नेपाली सुरक्षा गार्डलाई खटाइएको छ भन्नुहुन्छ उहाँ । ‘अहिले हामीले नै लकडाउन पालना गराउन काम गरिरहेका छौं, साथै होटल र पसलहरु पनि खुल्ला छ तर चहलपहल काम छ,’ उहाँ भन्नुहुन्छ ।

सेक्युरिटीकै काम गर्ने बद्री पौडेललाई भने सुरक्षा गार्डको काम गर्नेलाई सुरक्षाको ध्यान दिइएन भन्ने लागेको छ । अरु काम र कम्पनीहरु बन्द भए पनि सेक्युरिटीको काम झन थपिएको छ, तर सुरक्षा भने चाहिनेजति नभएको उहाँको गुनासो छ । हबिन लिम्बू कार्यरत कम्पनी भने अनिश्चितकालका लागि बन्द छ । उहाँसहित त्यसकम्पनीमा कार्यरत सबैजना त्यही होटलमै बसिरहेका छौं, भन्नुहुन्छ उहाँ ।

‘अत्यावश्यक सामान किन्न बाहेक हामी बाहिर निस्किएका छैनौं, हात सँगसँगै होस्टेलको फ्लोर पटकपटक सफा गरेका छौं, बाहिर निस्किदा अनिवार्य मास्क र पन्जा प्रयोग गरेका छौं, सामान किनेर आए पछि जाँदा लगाएको लुगा सर्फ पानीमा र हातखुट्टा राम्ररी धुने गरेको छौं, सेनिटाइजरको व्यावस्था पनि गरेको छौं, कुनै समस्या परेमा एचआर म्यानेजरलाई खबर पनि गछौं,’ हबिन आफूले अपनाएको सुरक्षा सतर्कताको बारेमा सुनाउनुहुन्छ ।

कोठाभित्रै बसे पनि मलेसियामा कोरोनाको सङक्रमण दिनहुँ बढेकाले डर पनि बढेको छ भन्नुहुन्छ हबिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News