वीरगन्ज । लकडाउनमा लुकिछिपी कण्टेनरमा वीरगन्ज आइपुगेका ५३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । काठमाण्डौ, भरतपुर, र मकवानपुरबाट मालवाहक कण्टेनर चढी वीरगन्ज आइपुगेका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । स्वास्थ्य परिक्षण गर्दा शंकास्पद भेटिएका वाहेक

सबैलाई होम क्वारेन्टाइनमा पठाइने तयारी भइरहेको छ । कन्टेनरमा आइपुगेका सबै ब्यक्ति पर्सा, बारा र रौतहटका स्थायी बासिन्दा रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए । चालक सहित ५३ जना वीरगन्जमा पक्राउ परे पछि सबैलाई होम र स्थानीय क्वारेन्टाइनमा पठाइएको उनको भनाइ छ ।वीरगञ्जको आइसीपीबाट काठमाण्डौको सतुंगल गएर फर्किएको ना ५ ख ९५५२ नम्बरको कण्टेनरको डब्बामा कोचाकोच भरिएका मानिसहरु वीरगन्जको घण्टाघर चोकमा ओलिएका थिए ।

त्यसरी ओलिएका सबैलाई प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्र बहादुर शाहीले बताए । चालक सहितका ५३ जना मध्ये ४९ जना पुरुष, १ महिला र ३ बालबालिका रहेको उनको भनाइ छ । उनीहरुलाई वीरगन्जको छपकैया स्थित आयुर्वेद मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटलमा बनाइएको क्वारेन्टिाइनमा राखी स्वास्थ्य परिक्षण पछि शंकास्पद नदेखिएका सबैलाई होम क्वारेन्टाइनमा पठाइएको छ ।

नेपाल सरकारले नै लकडाउन गरेको समयमा काठमाण्डौ, भरतपुर र मकवानपुरबाट यत्रो मानिस कण्टेनरको डब्बा भित्र ल्याई वीरगन्जमा पु¥याउने सवारी चालक बाराको कलैया ३ घर भएका शिवनारायण महरालाई संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कार्वाही प्रकृया अगाडी बढाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए । ‘कसुर अनुसार यो ऐन आकर्षित हुँदा ६ महिना कैद र १० हजारसम्म जरिवाना हुन सक्ने देखिन्छ’ उनले भने ।

पर्सामा लकडाउन उलंघन गर्ने १७५ जना मानिस र विभिन्न प्रकारका ३८ वटा सवारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मानिसलाई आगामी दिनमा पूनः यस्तो गल्ती नगर्ने शर्तमा छोडिएको छ भने सवारी साधानलाई प्रचलित कानून बमोजिम जरिवाना गरी फेरि लकडाउन उलंघन नगर्ने शर्तमा एक पटकलाई छोडिएको पर्साका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News