कोरोना संक्रमण रोकथाम नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन पूर्ण रूपमा कार्यान्वयन गर्न प्रहरीले थप कडाइ सुरु गरेको छ । लकडाउन घोषणाको चौथो दिन शुक्रबार पनि अत्यावश्यकबाहेकका मानिसको आवतजावत भित्री तथा मुख्य सडकमा समेत नरोकिएपछि

प्रहरीले कडाइ गर्ने नीति अख्तियार गरेको हाे । सरकारले गत मंगलबारदेखि एक हप्ताका लागि लकडाउनको घोषणा गरे पनि प्रहरीले सुरुवाती दिनमा सडकमा निस्कनेहरूलाई सम्झाइबुझाई आवतजावत गर्न रोकेको थियो । तर, शुक्रबारदेखि प्रहरीले लकडाउनलाई कडा पार्न अत्यावश्यकबाहेक घरबाहिर निस्कनेलाई प्रक्राउ गरी कानुनी कारबाही सुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले लकडाउन अवज्ञा गर्नेविरुद्ध कडा कारबाही सुरु गरेको जानकारी दिए । ‘लकडाउन पूर्ण रूपमा कार्यान्वयनका लागि विशेष टोली नै परिचालन गरिएको छ, मुख्य सडक तथा भित्री गल्लीमा समेत बाहिर निस्के तत्काल पक्राउ गर्न आदेश दिइएको छ,’ बाेगटीले भने ।

महानगरीय प्रहरी परिसर काठमाडौंले अत्यावश्यकबाहेक बाहिर निस्कनेलाई पक्राउ गर्न बन्दोबस्ती (गाडीमै हिरासत कक्ष रहेको) भ्यानसँगै सिआरभी, क्विक रेस्पोन्स भेहिकलसहितको टोली परिचालन गरिएको जनाएको छ ।परिसरमातहतका १४ वटै वृत्तको टोली परिचालन गरिएको र हेटक्वार्टरबाटसमेत थप मद्दत गाइएको महानगरीय प्रहरी परिसर काठमाडाैंले जनाएको छ । परिसरले मातहतका क्षेत्रमा लकडाउन कडाइ साथ पालना गराउन तत्कालका लागि दुईवटा टोली परिचालन गरेको जनाएको छ ।

प्रहरी निरीक्षकको कमाण्डमा रहेको १५ जनाको टोली कलंकी, बालाजु, कालिमाटी, बसपार्क, सामाखुसी, बसुन्धरा क्षेत्रमा परिचालन गरिएको छ । त्यस्तै, अर्को १५ जनाको टोली चाबहिल, बौद्ध, महाराजगन्ज, बानेश्वर क्षेत्रमा परिचालन गरिएको छ ।

ललितपुर र भक्तपुरमा पनि कडाइ गर्दै
त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरले स्थानीय जनप्रतिनिधिको सहयोगमा लकडाउन पूर्ण रूपमा कार्यान्वयनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ । परिसर प्रमुख एसएसपी टेकबहादुर राईले अत्यावश्यकबाहेकको अवस्थामा बाहिर ननिस्कन प्रहरीले पटकपटक आग्रह गरेको र त्यसो गर्दा पनि अवज्ञा गरे कारबाही गरिने बताए ।

महानगरीय प्रहरी परिसर भक्तपुरले पनि अत्यावश्यकबाहेक बाहिर ननिस्कन सबैमा आग्रह गरेको र त्यसको अवज्ञा गरेमा कडा कारबाही थालिने जनाएको छ । भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधानले लकडाउन पहिलोपटक अभ्यास भइरहेकोले मानिसमा काैतूहल र अज्ञानताका कारण फाटफुट रूपमा बाहिर निस्कने गरेकोमा प्रहरीको आग्रहपछि त्यसमा कमी आएको जनाए । मुख्य सडकमा साथै भित्री गल्लीहरूमा पनि आवतजावतलाई कडाइ गर्दै लगेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News