दैनिक ज्यालादारी गरि जीविकोपार्जन गर्ने मजदुरहरुको खाद्य सुरक्षाको अधिकारलाई मध्येनगर गर्दै राहतको प्याकेज दिने घोषणा गरेको कमलामाई नगरपालिकाले मंगलबार ग्वाङखोलामा गिट्टी कुट्ने मजदुरका परिवारलाई राहत वितरण गरेको छ । कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री,

प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी र नगर प्रवक्ता कर्णबहादुर घिसिङले घरमै पुगेर राहत वितरण गरेका हुन ।उक्त प्याकेजमा १० देखि १५ दिनलाई पुग्ने गरि अत्यावश्यक खाद्य सामग्रीहरु चामल, दाल, आलु, नुन, चिनी, वेसार, तेल लगायत राखिएको छ ।लक डाउन अवधिमा दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने कमलामाई नगरक्षेत्र भित्रका ३३ जनालाई मंगलबार उक्त राहत उपलब्ध गराईएको कमलामाई नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले बताए ।राहत प्याकेजले १० देखि १५ दिनसम्मको लागि पुग्ने अनुमान गरिएको छ । प्याकेजमा, चामल २० के जी, दाल ३ के जी, चिनी १ के जी, आलु २ के जी, बेसार ५० ग्राम, तेल १ लिटर र नुन १ के जी राखिएको छ ।

प्रति प्याकेज १ हजार ८१० रुपैंया बराबरको लागतको रहेको छ । नगरपालिकाले अन्य मजदुरहरुलाई पनि प्याकेज वितरण गरिने जनाएको छ । विशेषगरि दैनिक ज्याला मजदुरी गरि जीविका चलाउनहरुका लागि नगरपालिकाले उक्त प्याकेज ल्याएको जनाएको छ ।

लक डाउनका बेलामा कोहि पनि भोकले मर्न पर्ने अवस्था नआओस भनेर उक्त प्याकेज ल्याईएको नगरपालिकाका मेयर खड्ग खत्रीले बताए । कोरोना भाइरसको संक्रमण हुनसक्ने भनि सरकारले गरेको लकडाउनका कारण मजदुरहरुले खान नपाएको गुनासो बढेपछि नगरपालिकाले उक्त अभियान सुरु गरेको हो । नगरपालिकाले नगरभित्रका सबै मजदुरहरुलाई राहत दिने जनाएको छ ।

पहिलो र दोस्रो चरणमा गरि नगरपालिकाले करिब ५ सय जनाको सूचि राहत दिनका लागि तयार गरेको छ भने विपन्न र मजदुरहरु पत्ता लगाउन जनप्रतिनिधिहरु, टोल विकास संस्थाहरुलाई परिचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News