विराटनगर । प्रदेश नं. १ का मुख्यमंत्री शेरधन राईले लकडाउनको पालना नभएको निष्कर्ष निकाल्नु भएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई कडाईका साथ पालना गराउनुपर्ने बताउँदै मुख्यमन्त्री राईले लकडाउन पालना नभएको ठाँउमा करफ्यु सम्म लगाउन सकिने चेतावनी दिनुभएको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सञ्चारकर्मीसंग छलफल गर्दै मुख्यमन्त्री राईले लकडाउन पालना नगरिए जोखिम बढ्न सक्ने भएकाले लकडाउन पालना नभएको ठाँउमा कफ्र्यु लगाएर भएपनि पालना गराउने स्पष्ट पार्नुभयो ।उहाँले कोरोना भाइरससंगको युद्धमा प्रदेश सरकारले लकडाउन पालना र खाद्य आपूर्ति व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले राहत वितरणलाई प्रभावकारी बनाउन कोरोना उपभोक्ता कार्ड मार्फत खाद्यान्न सामग्री वितरणको तयारी प्रदेश सरकारले गरेको जानकारी दिनुभयो । सो छलफल कार्यक्रममा सञ्चारकर्मीहरुले कोरोना भाईरसको संक्रमण रोक्न प्रदेश सरकारले चाल्नुपर्ने कदमहरु बारे सुझाव दिएका थिए ।

यसैबीच कोरोना जनसुरक्षा कोषमा विराटनगरस्थित सिटिजन्स बैंकले ७ लाख रुपैया प्रदान गरेको छ । एक कार्यक्रम बीच सो चेक बैंकका प्रमुखले मुख्यमन्त्री राईलाई हस्तान्तरण गर्नुभयो । यसैगरी जीवन विकास समाजले ५ हजार कोरोना प्र्रभावित गरीब परिवारलाई खाद्यान्न वितरण गर्न ५० लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको छ ।

समाजले उपलब्ध गराएको खाद्यान्नमा प्रति परिवार १० किलो चामल, ५ किलो आलु, १ केजी नुन र एक लिटर दुध वितरण गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News