चिनिया स्मार्टफोन कम्पनी हुवावेले हालै आफ्नो पि ४० सिरिजको नयाँ स्मार्टफोन सार्वजनि गर्‍यो । आफ्नै अपरेटिङ सिस्टम अर्थात् हुवावे मोबाइल सर्भिस सहितको उक्त स्मार्टफोन लञ्चिका बेला हुवावेको कन्जुमर बिजनेस विभागका सिइओ रिचार्ड यु ले एउटा तथ्यांक पनि

सार्वजनिक गरे । जसअनुसार हुवावेको मोबाइल सर्भिसका सक्रिय प्रयोगकर्ताको संख्या ४० करोड पुगेको छ । यो तथ्यांक वास्तवमा इन्टरनेट जाएन्ट गुगलका लागि टाउको दुखाइको विषय बन्न सक्दछ । हुवावे मोबाइल सर्भिका बारेमा बोल्दै सीईओ यु ले हुवावेसँगको सहकार्यबाट गुगलले ठूलो धनराशी आम्दानी गरेको बताए । तथापि गत वर्ष हुवावेमाथि अमेरिकाले प्रतिबन्ध लगाएसँगै हुवावेका नयाँ फोनहरुमा गुगलको मोबाइल सर्भिस प्रयोग हुन पाएन । तत्पश्चात् कम्पनीले आफ्नै हुवावे मोबाइल सर्भिस विकल्पका रुपमा ल्याएको थियो ।युका अनुसार अहिले हुवावेको उक्त प्लाटफर्मका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ४० करोड पुगेको छ भने यो विभिन्न १ सय ७० वटा देश तथा भाषाहरुमा उपलब्ध छ ।

हुवावे मोबाइल सर्भिसमा रहेको एप ग्यालरी गुगलको प्ले स्टोरको प्रतिस्पर्धी रहेको छ । जसमा नर्मल र क्विक एप गरी दुई श्रेणीका एपहरु रहेका छन् । क्विक एपहरु वेबमा आधारित एचटिएमएल फाइलहरु हुन् जुन प्रयोगका लागि सजिलो तथा छिटो हुने उनले बताए ।हुवावेको एप ग्यालरीमा धेरै भन्दा धेरै एप डेभलपर्सलाई आकर्षित गर्नका लागि कम्पनीले नयाँ सौविध्य नीतिको घोषणा गरेको छ । रिपोर्ट अनुसार हुवावेले एपबाट हुने कमाइको ९० प्रतिशत हिस्सा एप डेभलपर्सलाई दिन्छ र जम्मा १० प्रतिशत मात्र आफुले राख्दछ । जबकी गुगलले एप डेभलपर्सलाई ७० प्रतिशत र आफुलाई ३० प्रतिशत राख्ने गरेको छ ।

स्मरण रहोस् गत महिनामात्रै चिनिया स्मार्टफोन ब्राण्डहरु हुवावे, भिभो, ओप्पो र शाओमीले एक गठबन्धनको निर्माण गरेका थिए । ग्लोबल डेभलपर सर्भिस अलाइन्स नामक उक्त गठबन्धन वास्तवमा एउटा साझा प्लाटफर्मको विकास गर्नका लागि थियो जहाँ चीन बाहिरका एप डेभलपर्सहरुले आफ्ना एपहरु अपलोड गर्न सक्नेछन् । गुगलको प्लेस्टोरको प्रभुत्वलाई चुनौति दिनुका साथै गुगल प्रणालीमाथिको अत्यधिक निर्भरता घटाउने प्रयोजनका लागि चिनिया स्मार्टफोन कम्पनीहरु एकजुट भएका विश्लेषकहरुको ठम्याइ छ ।

उक्त प्लाटफर्म यहीँ मार्चमा लञ्च हुने बताइएको भएपनि पछिल्लो विश्वव्यापी अवस्थाका कारण तत्कालै हुने नहुने अनिश्चित बनेको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News