पछिल्लो समय रोल्पामा तत्कालिन द्वन्दको झझल्को दिने खालका गतिविधिहरु हुन थालेका छन्। दश बर्षे सशस्त्र द्वन्दका समयमा सुरक्षाकर्मीले गाडीबाट यात्रु झारेर पालै पालो झोला जाँच्थे भने अहिले स्वास्थ्यकर्मीले पालै पालो ज्वरो नाप्ने गर्छन्। उहिले पनि अलि पर गाडी

रुक्थ्यो अनि लामो लाइनमा यात्रुले पालै पालो झोला देखाउथे सोधखोज हुन्थ्यो आज पनि सोधखोजको तरिका उस्तै छ। सुकिला मुकिलालाई उतिबेला पनि त्यती धेरै कडाई हुदैनथ्यो भने आज पनि उनिहरु अलि सहुलियतमा पर्ने गरेका छन्। पछिल्लो समय दक्षिणी नाकाबाट रोल्पा भित्रिने होलेरीमा बनाइएको हेल्थ डेस्कमा मजदुरहरुलाई लाइन लगाएर आलो पालो स्वास्थ्य परीक्षण गरेपछि उनिहरुलाई क्वारेन्टाइनमा राख्न थालिएको छ। यो भन्दा केहि दिन पहिले पनि ईट्टाभट्टामा काम गर्ने मजदुरहरुलाई मिनी टिप्परमा राखेर काठमाण्डौबाट अमानवीय तरिकाले रोल्पा भित्राइएको थियो। निम्नबर्गका मजदुरहरुमाथि राज्यले समेत सौतेलो ब्यबहार गरेको भन्दै स्थानीयहरुले चित्त दुखाएका छन्। खाने बस्ने समस्या हुन थालेपछि रोल्पाका श्रमिकहरुले काठमाण्डौं उपत्यका छोड्न थालेका छन्। रुन्टीगढी गाँउपालिका वडा नम्बर ७ का २७ जना मंगलवार होलेरी आइपुगेका हुन्। भक्तपुरको सुँडालमा रहेको चारपाटे इट्टा उद्योगबाट ३१ जनको समूह हिडेकोमा ४ जना भने दाङ बसेका थिए।

भक्तपुरबाट कलंकीसम्म पैदल हिँडेका उनीहरु त्यसपछि चितवनको रामनगरसम्म ट्रकमा पुगेकाका थिए। रामनगरदेखि नवलपुरको गैंडाकोटसम्म पैदल हिडेका उनिहरुलाई गैंडाकोटमा हरियाली समूहले खाना खुवाएर रुपन्देहीको देवदह नगरपालिकासम्म पुराएको थियो। रोल्पाली मजदुर बिचल्लीमा परेको थाहा पाएपछि देवदह नगरपालिकाका प्रमुख हिरा केसीले समन्वय गरेर रोल्पा पठाएका थिए। प्रदेश न. ५ का आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसीसंगको सहकार्यमा मजदुरहरुलाई त्यहाँबाट बसको ब्यबस्था गरेर रोल्पा पु-याइएको हो। तीन दिनमा रोल्पा पुगेका मजदुरहरुलाई स्थानीय राजनीतिक दल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र गाँउपालिकाले आवश्यक सुरक्षा र सावधानि सहित राख्ने तयारी गरेका छन्।

सबै मजदुरहरुलाई रुन्टीगढी गाँउपालिका वडा नम्बर ७ मा रहेको क्वारेन्टाइनमा राखिने छ। ‘आज पनि नुवाकोटबाट २७ मजदुर आएका छन्। अस्तीका र आजका सबैलाई ३ वटा क्वारेन्टाइनमा राखेका छौ।’ रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले भने ‘हाम्रो क्षेत्रका धेरै मजदुरहरु कष्टकर यात्रा गरेर रोल्पा भित्रिरहनु भएको छ। उहाँहरुलाई सहज ब्यबस्थापनको तयारी गरिरहेका छौ।’

तस्बिरःहोलेरीमा स्वास्थ्य परीक्षणका लागि पालो कुरेका मजदुरहरु।

जिल्लामा पाइने रोजगारी डोजले खोसेपछि रोल्पालीहरु मजदुरीका लागि उपत्यका तीरका इट्टा उद्योगमा पुग्ने गरेका छन्। राज्यले लकडाउन गरेपछि बिचल्लीमा परेका उनिहरु कतै पैदल कतै सवारी साधनको प्रयोग गर्दै कष्टपूर्ण तरिकाले रोल्पा भित्रिएका हुन्। खाने र बस्ने समस्या भएपछि उपत्यका छोडेर आफ्नै गाउँ फर्किएको रमेश बुढाथोकीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News