काठमाडौं । राष्ट्रिय विपदका बेलामा संसारभरिका जनताले आफ्नो देशको गृहमन्त्रालयलाई सम्झन्छन् । घरमा पनि यस्तै हो, विपतमा आमालाई, अभिभावकलाई सम्झिइन्छ । हाम्रा गृहमन्त्रीचाहिँ यो महामारीका बेला कानमा खोकनाको शुद्ध तोरी तेल हालेर पुल्चोकस्थित

मन्त्रि निवासमा घाम तापिरहेका छन् । नागरिकलाई जति गाह्रो–साह्रो परोस्, गृहमन्त्री सुन्दैनन्, सुनिँदैनन् ।गृहमन्त्री रामबहादुर थापा बादल राजनीतिमा लागेदेखि नै लोकतान्त्रिक प्रक्रियाप्रति खासै रुची राख्ने नेता होइनन् । उनी जनतासँग सम्वादमा आउन चाहने नेता होइनन् । उनको राजनीतिक लाइन ‘लिन प्याओवाद’ हो । यही सिद्धान्तका कारण जस्तोसुकै विपदका बेलामा पनि बरु ढुंगो बोल्ला, गृहमन्त्री बोल्दैनन् । जनतामा उठेका प्रश्नको जवाफ दिइरहन उनी जरुरी ठान्दैनन् । राष्ट्रिय संकटमा समेत उनी ‘माथिको सेवा’ बाहेक न कसैसँग सल्लाह माग्छन्, न त आफ्नै विवेकले कुनै व्यवहारिक निर्णय लिने आँट नै गर्छन्।

देशले आवश्यकताभन्दा बढ्ता भलाद्मी गृहमन्त्री पाएको छ ।
लकडाउनका बेला काठमाडौंबाट मानिसहरु बालबच्चा बोकेर पैदल हिँडेका दर्दनाक तस्वीर सामाजिक सञ्जाल भाइरल छन् । गृहमन्त्रीले या त यी तस्वीर हेरेकै छैनन्, वा हेरे पनि उनमा कुनै सम्वेदना पलाएको छैन । वा, संवेदना पलाएर पनि कुनै निर्णय लिने ह्याउ आएको छैन ।प्रधानमन्त्री ओलीका अगाडि उभिएर ‘लु यसो गरौं प्रधानमन्त्रीज्यू’ भन्ने एकमुठी साहस गृहमन्त्रीले देखाउन सकेका छैनन् । संकटका बेला नेतामा दुईवटा गुण चाहिन्छ – भिजन र ह्याऊ । बादलमा न कुनै ठोस भिजन देखिन्छ, न ह्याउ । नत्र, जनताले यस्तो सास्ती भोगिरहँदा गृहमन्त्रालयको घुम्ने मेचमाथि कोही न कोही मान्छे त बसेको छ भन्ने अनुभूति जनतालाई हुनुपर्ने हो ।

लाचार गृहमन्त्रालय
प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते बेलुकाको सम्वोधनमा १० गतेदेखि लामोदुरीका यातायातका साधनहरु नचल्ने अनि ११ गतेदेखि लकडाउन हुने घोषणा गरेका थिए । चैत ८ र ९ गते राजधानीबाट मानिसहरु हतार–हतार गाउँतिर लागे । तर, छोटो समयमा सबै जान भ्याएनन् । यसवीचमा यातायात व्यवसायीले यात्रुहरुलाई घर पठाउन केही दिन समय मागेका थिए, तर श्रवण क्षमता कमजोर रहेको गृहमन्त्रालयले सुनेन ।एकछिनलाई मानौं, कोरोनाको जोखिमलाई गम्भीररुपमा लिएका कारण गृहमन्त्रालयले काठमाडौंबासीलाई घर जाने दिने यातायात व्यवसायीको आग्रहलाई अस्वीकार गरेको हो । जनताको स्वास्थ्यप्रति गृहमन्त्रालय अति नै गम्भीर छ ।

त्यसो हो भने गृहमन्त्री रामबहादुर थापाले किन राति–राति छापामार शैलीमा काठमाडौंबाट बाहिरी जिल्लामा गाडी चल्ने छुट दिए त ? किन लकडाउनमा पनि राति–राति मानिसहरुलाई घर जानबाट रोकिएन ? के दिउँसो घर जाँदा कोरोना सल्कने, राति जाँदा जोगिने गृहमन्त्रालयको ठहर हो ?जब चैत ११ को लकडाउनपछि पनि मानिसहरु रातारात राजधानीबाट बाहिरिए, त्यसले उहीबेला शासकहरुलाई दुईवटा संकेत दिएको थियो–

एक– गृहमन्त्रालयले लकडाउन पालना गराउन सकेन ।
दुई– काठमाडौंका मानिसहरु घर जान चाहिरहेका छन्, लकडाउनलाई जारी राख्दै उनीहरुलाई यसको उपयुक्त विकल्प दिइयोस् ।विडम्वना ! अहिले पनि विपन्न वर्गका मानिसहरु बालबच्चा बोकेर भोकै र तिर्खै राजधानीबाट गाउँतिर पैदल हिँडिरहेका छन् । लाचार गृहमन्त्रालय न लकडाउनको पालना गराउन सक्छ, न त उपयुक्त विकल्प दिन सक्छ ।

जनताप्रति पटक्कै सम्वेदना नभएका गृहमन्त्री थापाले अहिले भोका पैदलयात्रीलाई चोक–चोकमा रोक्न आदेश दिएका छन् । शुक्रबार बिहान ६ बजे नयाँ बानेश्वर चोकमा रोकिएका एक गरीब युवकले प्रहरीलाई भन्दै थिए– भोक लाग्यो, पानी चाहियो ।

चैत २७ गते प्रधानमन्त्री कार्यालयको अफिसियल फेसबुक पेजमा एउटा सूचना आयो– ‘लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिरिन खोज्नुभएका बासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्चस्तरीय समितिको बैठकले भोलि र पर्सि (चैत २८ र २९ गते) काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News