भक्तपुर : चाँगुनारायण नगरपालिका–७ खरिपाटीका स्थानीयले सञ्चारकर्मीले गर्ने प्रश्नले आफूहरूलाई घरमा बस्नै गाह्रो भइसकेको गुनासो गरेका छन्। सञ्चारकर्मीहरूको प्रश्नले तनाव भएको सुनाउँदै उनीहरूले भने, ‘अब तपाईंहरूलाई गाली गर्ने बेला आएको छ। एकदम धेरै

भइसक्यो। सहनुको पनि सीमा हुन्छ नि ? यहाँका स्थानीय अहिले सञ्चारकर्मीदेखि आक्रोशित हुन थालेका छन्। अब त सञ्चारकर्मीले प्रश्न सोध्दा नै झनक्क रिस उठ्ने गरेको स्थानीय महिला बताउँछन्। युट्युबअनलाइनकापत्रकारले आफूहरूलाई वाहियात प्रश्न गर्ने गरेको उनीहरूको गुनासो थियो। प्रश्न सोध्ने नै कस्तो, रोग लागेका मान्छेलाई ल्याएर राखिएको छ, के तपाईहरूलाई पनि संक्रमण हुन्छ कि ? ’, ती महिलाले भने, ‘यस्तो पनि प्रश्न हुन्छ ? वाहियात प्रश्न ? घरमा ताल्चा लगाएर खेतबारीमा जाँदासमेत कोरोना भाइरसको संक्रमण हुने त्रासले खरिपाटीका स्थानीयले घर छाडे, बसाइँ सरे भन्दा आफूहरूलाई सह्य नभएको भन्दै अर्का स्थानीय पद्मबहादुर महाजूले आक्रोश पोखे। उनले आफ्नो घरपरिवारका कुनै पनि सदस्यले घर नछाडेको जानकारी दिए। ‘दिउँसो घरमा ताल्चा लाग्दैमा घर छाडेर भागेको हुन्छ ? ’, उनले प्रतिप्रश्न गरे, ‘दिउँसो हामी काम परेर कतै जान हुँदैन ? खेतबारी पनि जान नपाउने, भोजमा जान नपाउने ? ’

सरकारले कोरोना भाइरस संक्रमित नल्याएको र चीनबाट पनि स्वस्थ मान्छे मात्रै पठाएको देखिसकेपछि संक्रमण हुन्छ भनी डराउनुपर्ने कुनै कारण नभएको महाजू बताउँछन्।उनले सञ्चारमाध्यममा आएजस्तो खरिपाटीका सयौं घरपरिवारले घर नछाडेको स्पष्ट पारे।त्यस्तै, एक अर्की स्थानीय महिलाले आफूहरू मरे पनि खरिपाटीमै मर्ने तर घर नछाड्ने सुनाइन्। भूकम्पमा समेत घर नछाडेका आफूलाई अहिले स्वस्थ मान्छे ल्याएको बेला घर छाड्नुपर्ने कुनै कारण नभएको उनको भनाइ थियो।
११ घरकाले छाडे खरिपाटी
स्थानीयका अनुसार खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रको उत्तर र पूर्वी दिशामा रहेका ११ घरका स्थानीयले घर छाडेका छन्। यसरी घर छाड्नेमध्ये कोही विदेशमा रहेका आफ्ना छोराछोरी भेट्न गएका छन्। कोही तराईमा रहेका आफन्तको घरमा गएको स्थानीय महाजूले सुनाए। त्यस्तै, कोही आफ्नो पुख्र्यौली घर र कोही भक्तपुरकै अन्य क्षेत्रमा रहेका आफन्तका घरमा गएको स्थानीय बताउँछन्।

सर्वसाधारणलाई मास्क बाँड्दै प्रजिअ
प्रहरीका अनुसार तालिम केन्द्रवरिपरि ४ सय घरपरिवार बसोबास गर्छन्। स्थानीयमा त्रास नफैलियोस् भनेर जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर भक्तपुरले घर–घर पुगेर परामर्शसँगै स्वास्थ्य सुरक्षाका लागि सर्वसाधारणलाई मास्क वितरण गर्दै आएको छ।भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानलगायत सुरक्षा प्रमुखले सर्वसाधारणको घरमा गएर परामर्श गर्दै र मास्क बाँड्दै स्थानीयको स्वास्थ्य अवस्था बुझिरहेका छन्। उक्त अवसरमा प्रजिअ पाण्डेले डराउनुपर्ने अवस्था नभएको र स्वास्थ्य सचेतता अपनाउन सर्वसाधारणलाई आग्रह गरेकी छन्। कथं केही समस्या भए प्रहरी प्रशासनलाई तत्काल जानकारी दिनसमेत उनले आग्रह गरेकी छन्।सर्वसाधारण तालिम केन्द्रस्थित क्वारेन्टाइनवरपर हिँड्डुल गर्दै आफ्नो गन्तव्यमा पुग्दै आएका छन्। मजदुर पनि आफ्नो काममै व्यस्त देखिन्छन्। तालिम केन्द्रको पर्खालै छेउमा घर निर्माण गरिरहेका छन्। क्वारेन्टाइन गरिएको भवनकै मुनि जग्गा प्लटिङ भइरहेको छ।

खरिपाटीस्थित तालिम केन्द्रमा चीनको वुहानबाट सरकारले उद्धार गरेर ल्याएका एक सय ७५ जना विद्यार्थीलगायतलाई क्वारेन्टाइन गरिएको छ। उनीहरू स्वस्थ रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सकले बताइसकेका छन्। अस्पतालका चिकित्सकले उनीहरूको स्वास्थ्य जाँचपछि प्रयोगशाला परीक्षणका लागि उनीहरूको खकार, ¥याल, पसिनालगायत नमुना संकलन गरेर लगेका छन्। उक्त जाँचको रिपोर्ट तीन÷चार दिनमा आउने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।उनका अनुसार यसबाहेक क्वारेनटाइनमा रहेको स्वास्थ्य टोलीले उनीहरूको निगरानी राखेको छ। त्यस्तै, चीनबाट उद्धार गरिएकाहरूको दैनिक दुईपटक शरीरको तापक्रम जाँच गरेर लगफर्ममा भर्ने कार्य हुँदै आएको छ। सोमबारसम्म कुनै पनि व्यक्ति अस्वस्थ नदेखिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News