गोरखा : प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरका मुख्य पूजारी इन्सान थापालाई प्रहरीले बन्दुकसहित फेला पारेको छ । लकडाउनका बेला प्वाइन्ट टु टु नामक बन्दुकसहित शनिबार पूजारी थापा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रशासन

कार्यालयबाट बन्दुकको इजाजत लिएको भएपनि लकडाउनका बेला रातको समयमा हतियार लिएर हिँडेकाले बन्दुक नियन्त्रणमा लिएर उनलाई तारेखमा रिहा गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।दैनिक करिब पाँच हजार भक्तजन आउने मनकामना मन्दिर लकडाउनका कारण सुनसान बनेको छ ।

पाँचौँ एनभीए राष्ट्रिय भलिबल स्थगित

काठमाडौं : नेपाल भलिबल संघले यही वैशाख अन्तिम साता आयोजना गर्ने भनिएको पाँचौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगन गरेको छ। कोरोना भाइरसको महामारीका कारण उक्त प्रतियोगिता स्थगन गरिएको हो।

प्रतियोगिताको नयाँ मिति कोरोना भाइरसको महामारीको अवस्था साम्य भएपछि निर्णय गरिने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए। यसअघि सो लिग वैशाख २५ देखि जेठ १ गतेसम्म हुने तय गरिएको थियो। ‘अहिलेको अवस्थामा कुनै पनि प्रतियोगिता गर्न सकिने अवस्था छैन’, महासचिव चन्दले भने, ‘पछि संघको बैठकबाट प्रतियोगिताको छिनोफानो गछौँ।’

पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका आठ पुरुष तथा छ महिला टोलीले पाँचौं एनभीए राष्ट्रिय भलिबल क्लब लिगमा प्रतिस्पर्धा गर्ने तय भएको थियो। ‘कोरोना भाइरसका कारण सङ्घको खेल तालिका नै परिवर्तन गर्नुपर्ने अवस्था आयो’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News