कोहलपुर : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको आलोचना गर्ने मिडियालाई ‘शिकारी’ को संज्ञा दिएका छन्। गोरखापत्र दैनिकको पश्चिम क्षेत्र कोहलपुर संस्करणको बुधबार बाँकेको कोहलपुरमा शुभारम्भ गर्दै मन्त्री बाँस्कोटाले सरकारलाई ‘गैंडाको छाला’ को संज्ञा दिँदै मिडिले सरकारलाई जति ठोके पनि कुनै फरक नपर्ने जिकिर गरे।

उनले गोरखापत्र दैनिकले सरकारको राम्रो काम र गल्ती कमजोरी दुवै औंल्याउने काम निर्धक्क गर्न निर्देशन दिए। ‘गोरखापत्रले खाल्डो पनि देखाउनु पर्छ डराउनै पर्दैन तर पिच गरिरहेको छ भने त्यो पनि देखाउनुपर्छ’, मन्त्री बाँस्कोटाले आलोचना गर्ने मिडियालाई लक्षित गर्दै भने, ‘एउटा आँखाको त शिकारी हुन्छ। एउटा आँखाको प्रेस हुँदैन। प्रेसको दुईटा आँखा ओपन (खुला) हुनुपर्‍यो। अहिलेको टेन्डेन्सी के छ भने शिकारीले जस्तो सरकारलाई ठोक। जति ठोक न। केही फरकै पर्दैन। गैंडाको छाला हो। हामी काम गरिरहन्छौं र काम गराइरहन्छौं।’

गोरखापत्र दैनिकको कोहलपुर संस्करणमा बोल्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटा। तस्बिर : शंकरप्रसाद खनाल

नेपाली खुसी भएको बेला केही मिडिया मात्र विकास निर्माणबाट निराश भएको जिकिर गरे। उनले भने, ‘जनता खुुसी छन्। देश खुसी छ। सरकारदेखि निराश को भएको हो भने नेकपा मन नपराउने केही एउटा आँखा चिम्लेर ताकिरहने शिकारी पत्रकारिताको क्षेत्र मात्र छ।’ आफूले मिडिया टेन्डन्सीबारे बताउदा मिडियाले अप्ठारो मानिसको संज्ञा दिएको उनले आरोप लगाए। उनले सरकारको आलोचना गर्ने नागरिकलाई बाँस्कोटाले नेपाल टेलिभिजनको हाँस्य श्रृङ्खलाको भोक लाग्यो पात्रसँग तुलना गरे। ‘भर्खरै गलासम्म आउने गरी खाना खाएर गएको हुन्थ्यो।अझै भोक लाग्यो भन्थ्यो।

केही साथीहरुलाई यही रोग लागेको छ। केही पनि भएको छैन भन्छन्। उहाँहरुले टेलिभिजनको भोक लाग्यो पात्रसँग मित लगाए हुन्छ’, उनको भनाइ थियो। मन्त्री बाँस्कोटाले गोरखापत्रले व्यवसायिक रुपमा सबैभन्दा बढी ‘पढिने र भेटिने पत्रिका’ को रुपमा फड्को मार्ने दाबी गरे। ‘गोरखापत्र मिडिया मार्केटमा अब सरकारको सासमा हुर्केर होइन। प्रतिस्पर्धा र पहल कदमीको आधारमा उत्कृष्ट बनेरै छोड्छ। हेर्दै जानुहोला। यो जनताको सबैभन्दा प्रिय पत्रिका बन्छ। सत्ता पक्षको होइन’, उनले गोरखापत्रको भविष्य आँकलन गरे।

नेपालको पहिलो समाचारमूलक पत्रिका गोरखापत्र दैनिकले बुधबार प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरेर कोहलपुर संस्करण प्रकाशित थालेको छ। यी तीन वटै प्रदेशका लागि गोरखापत्रले एक÷एक वटा पृष्ठ छुट्टाएको छ। गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले सातै प्रदेशबाट पत्रिका प्रकाशित गर्ने र पत्रिकालाई आवाजविहीनहरुको आवाज बन्ने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News