उदयपुर । उदयपुरमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । त्रियुगा नगरपालिका– ३ भुल्केस्थित जामे मस्जिदमा रहेका १२ भारतीय नागरिकसहित १ नेपाली नागरिकमा गरी १३ जना मुस्लिम धर्म गुरु जमातीलाई कोरोना संक्रमण पुष्टि भएको केही दिन बित्न नपाउँदै त्यहाँ

पुनः ८ जना स्थानीयबासीमा कोरोना भाइरस (कोभिड १९) भएको पुष्टि भएको छ ।कोरोना संक्रमित क्षेत्र उदयपुरको भुल्केबाट स्वाब परीक्षणका लागि शनिबार प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाखा कोसी अस्पताल बिराटनगर लगेका स्वाबको नमुना परीक्षणमा ८ जनामा कोरोना संक्रमण भेटिएको हो । उनीहरुको पुनः परीक्षण गर्न धरान लगिएकाले सार्वजनिक गर्न भने बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए ।भुल्केको मस्जिद नजिकको बस्तीका ६९ जनाको स्वाब परीक्षणका लागि शनिवार विराटनगर लगिएको थियो । संकलित नमूनामध्ये ८ जनाको संक्रमण देखिएको र अन्य ६१ जनाको नेगेटिभ देखिएको अस्पताल बिराटनगरस्थित जनस्वास्थ्य प्रयोगशालाले बताएको छ । कोरोना पोजिटिभ देखिएकाहरुलाई पुनः परीक्षण गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षण पठाएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार कोसीमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको तर अन्तिम पुष्टिका लागि थप परीक्षण गर्नुपर्ने बताइएपछि धरानस्थित प्रतिष्ठानमा दोर्होयाएर परीक्षण गर्न लागिएको हो । उनीहरु सबैलाई उदयपुरबाट परीक्षणका लागि एम्बुलेन्समा धरान पठाइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । संक्रमण देखिएका भनिएका व्यक्तिहरु सबै पुरुष हु्न् । उनीहरु सबै वयस्क उमेरका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) बीरबहादुर बुढा मगरका अनुसार भुल्केबाट २ वटा एम्बुलेन्समा राखेर उनीहरुलाई धरान पठाइएको स्विकारे । मस्जिदमा बसेका धर्म प्रचार धर्म गुरु जमातीहरु गाउँबस्तीका बासिन्दाको सम्पर्कमा आएको हुन सक्ने भन्दै गाउँलेको नमुना संकलन गरेर परीक्षण गरिएको हो । नजिकै नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा रहेको छ । जामे मस्जिदमा बसिरहेका १३ जनामा कोरोना संक्रमण भएको पुष्टि शुक्रबार भइसकेको छ । उनीहरुलाई बिराटनगरस्थित (कोभिड १९) उपचार केन्द्रमा राखेर उपचार गरिदैछ । उनीहरुसँगै ल्याइएका तीन जनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ । मस्जिदमा रहेको धर्म गुरु जमातीहरुलाई कोरोना संक्रमण भेटिएपछि प्रदेश सरकारले भुल्केस्थित मुस्लिम समुदायका ५६ घर परिवारमध्ये घरमुलिको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको थियो । त्यसमा २ महिलासहित ६९ जनामा स्वाब परीक्षणको लागि संकलन गरि विराटनगर लगिएको थियो । ६९ जना मध्ये ९ जना सुरक्षाकर्मी र स्वास्थ्यकर्मिको पनि स्वाब संकलन गरिएको थियो ।

संक्रमित ८ जना भुल्केका स्थानीय मुस्लिम समुदाय हुन् । उनीहरु टयाम्पो, अटो चालक, दुध, तरकारी ब्यापारी हुन् । ८ जनमा कोरोना संक्रमण देखिएपछि गाईघाट बजार त्रसित बनेको छ । उनीहरुले यहाँसम्म दुध, तरकारी तथा सवारी साधान सञ्चालन गर्दै आएका थिए । स्थानीय प्रशासनले संक्रमित क्षेत्र लगायत उदयपुरका ६ वटै मस्जिद यतिखेर सिल गरिएको छ । शनिवार भुल्के मस्जिद आसपासका ५६ घर मुस्लिम समुदायका परिवारका ६९ स्वाव संकलन गरी विराटनगर लगिएको थियो । शनिबार विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयबेन्द्र यादवको नेतृत्वमा उदपुर आएको चिकित्सक टोलीले मस्जिद आसपासका बासिन्दा स्वाब संकलन परिक्षणका लागि लगेको थियो ।त्यसैगरी आईतवार सोमवार पुन नेपाली सेनाको चिकित्सक टोलीले २ सय ५२ जना स्वाब संकलन गरेको थियो । सेनाको छाउनी अस्पतालको चार सदस्यीय चिकित्सक टोलीले मस्जिदसगै जोडिएको बस्तीका सर्बसाधरणको स्वाब संकलन गरेको हो । छाउनी अस्पतालका मेजर डा.प्राची रायमाझीको नेतृत्वमा चिकित्सक टोली आएको थियो । संकलित स्वाबलाई परीक्षणका लागि काठमाडौं लगिएको छ ।

तीन दिनमा ३ सय २१ जनाको स्वाब परिक्षणका लागि पठाएका मध्ये ६९ जनाको परिक्षण बिराटनगरमा भएको र बाँकी काठमाण्डौ लगिएको छ । ६९ जनाको परिक्षण मध्ये ८ जनामा पोजिटिभ देखिएका हुन् । कोरोना प्रभाबित क्षेत्रका १५ घर थारु समुदाय, ५६ घर मुस्लिम समुदाय र ३ सय ५० घर पहाडे समुदाय गरि ४ सय २१ घर परिवार रहेको भुल्केलाई अहिले सिल गरेको छ । त्यहाँबाट कोही पनि बाहिर जान पाउँदैनन् भने त्यहाँ जान पनि निशेष गरिएको (एसपी) बीरबहादुर बुढा मगरले बताए । त्यसले पनि स्थानीयबासीमा त्रास झन बढेको स्थानीयबासी यदु ढकालले जानकारी दिए ।उनले भने यहाँको तरकारी गाईघाट बजार तथा आसपासको क्षेत्र प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको १८ नम्बर बाहिनी अडडामा समेत जाने गरेको बताए ।

तिनीहरूको ‘ट्राभल हिस्ट्री’ हेर्दा उनीहरू सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३–५ गते भएको नेपाल इज्तिमा सहभागी हुन आएको बताईएको छ । उनीहरु भारतको जोगबनी हुँदै बिराटनगर, दुहबी, ईटहरी, इनरुवा, राजबिराज हुँदै बोदेबसाईन नगरपालिका– ५ जाँजरमा भएको सम्मेलनमा सहभागी भई स्थानीय बिभिन्न मस्जिदमा धार्मिक प्रबचन दिई कन्चनपुर, फत्तेपुर, शिवाई हुँदै भुल्के आएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News