काठमाडौं । मंगलबार एकै दिन कोरोना भाइरस (कोभिड–१९) का ११ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यी सबै संक्रमित उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको मस्जिद आसपासका क्षेत्रका वासिन्दा हुन् ।

भुल्केको मस्जिदमा रहेका १२ जना (११ भारतीय र एक नेपाली) जमातीमा कोरोना संक्रमण भएको वैशाख ५ गते पुष्टि भएको थियो । त्यसको भोलिपल्ट त्यही समूहका एक नेपाली जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।लगत्तै त्यो क्षेत्रलाई सिल गरेर उनीहरुको सम्पर्कमा आएका २६० जनाको नमुना संकलन गरिएको थियो । त्यसमध्ये काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार तीन जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । २० जनाको रिपोर्ट आउन बाँकी छ ।यस्तै ६९ जनाको नमुना विराटनगरको कोशी अस्पताल पठाइएको थियो, त्यसमध्ये ८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः परीक्षण गर्दा पनि उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।थपिएका ११ संक्रमितमध्ये दुई महिला हुन् भने बाँकी पुरुष हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । कोरोना संक्रमितमध्ये ५ जना निको भइसके ।

समुदाय स्तरमा पुग्यो संक्रमण
कुल संक्रमितमध्ये २४ जना त्रियुगा नगरपालिका भुल्केकै छन् । अर्थात कोरोनाका लागि भुल्के हटस्पट बनेको छ र, त्यहीँ कोरोनाको संक्रमण समुदाय स्तरमा पुगेको पाइएको छ ।१२ जना जमातीमा देखिएको संक्रमण धेरै स्थानीयमा सरेको पाइएकाले कोरोना संक्रमण समुदायस्तरमा पुगेको मान्नुपर्ने जनस्वास्थ्यविद् डा. अनुप सुवेदी बताउँछन् । उनले भने, ‘आयातीत कोरोना परिवारको एकाध सदस्यमा मात्र सरेको भए लोकल ट्रान्समिसन (स्थानीयस्तरमा संक्रमण) भन्न सकिन्यो । त्यहाँ त फरक फरक परिवारको धेरै संक्रमित पाइएकाले कम्युनिटी लेभलको ट्रान्समिसन (समुदायस्तरको संक्रमण) मान्नुपर्छ ।’
यद्यपि सरकारले अहिले नै कोरोना संक्रमण तेस्रो चरणमा पुगेको घोषणा गरेको छैन । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘अहिलेसम्म संक्रमण देखिएकाको क्लोज कन्ट्याकमा आएकाहरु मात्र छन् । अहिले हामी केही केसलाई हेर्दैछौं, त्यसपछि मात्र समुदाय स्तरमा पुगेका नपुगेको निक्र्यौल गर्छौं ।’

सबै संक्रमितमा लक्षण छैन
भुल्केमा भेटिएका संक्रमितहरुमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन । त्रियुगा नगरपालिकाको स्वास्थ्य सेवा शाखाका अवधनारायण चौधरी भन्छन्, ‘कुनै लक्षण देखिएको छैन तर नमुना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ ।’संक्रमितहरुको विराटनगरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ । यसअघिका संक्रमित १३ जना त्यही उपचाररत थिए भने १० जनालाई मंगलबार ल्याइएको छ । थप एक संक्रमितलाई ल्याउने नल्याउने अझै प्रष्ट भएको छैन ।

सबै नाका सिल, परीक्षण तीव्र बनाइने
धेरै संख्यामा कोरोना संक्रमित भेटिएसँगै उदयपुर जिल्लालाई सिल गरेर सबै नाका बन्द गरिने भएको छ । प्रदेश सुरक्षा समन्वय समितिको बैठकले लकडाउनलाई अझ कडा बनाउन निर्देशन दिएको छ । साथै संक्रमण देखिएको क्षेत्रबाट उत्पादित वस्तुहरुलाई बाहिर लैजान नदिने निर्णय त्रियुगा नगरपालिकाले गरेको छ ।भुल्के क्षेत्रमा बाक्लो बसोबास छ । तर अहिले संक्रमण देखिएको मस्जिदमा बाक्लो आउजाउ गर्ने मुस्लिम समुदायका मानिसहरुमा हो । अरुमा संक्रमण देखिएको छैन । तर सम्भावित जोखिमलाई ध्यानमा राख्दै २१ सय जनाको ¥यापिड र २५० जनाको पीसीआर विधिबाट परीक्षण गर्ने निर्णयसमेत भएको छ ।

स्थानीय तहसँग पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सुरक्षा सामाग्री भने पर्याप्त छैन । त्रियुगा नगरअन्तरगत ३ वटा स्वास्थ्य चौकी र तीन वटा शहरी स्वास्थ्य केन्द्र छन्, जसमा ८० भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन् । तर अहिले स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रलाई स्थानीय तरमा बसेको पीपीई दुई दुई सेट दिइएको छ । ‘अहिले हामी थप सुरक्षा सामग्रीको खोजीमा छौं’ चौधरीले भने, ‘तर किन्न पनि महंगो भन्छन्, विल पनि दिन मान्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News