काठमाडौं : सोमबार पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्‍ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गर्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा भनेका

थिए ‘तपाइँहरु ढुक्क हुनुस् यो अध्यादेश नेकपाका लागि होइन है।’ सत्तारुढ दलमा किचलो भइराख्दा प्रधानमन्त्रीले एक्कासी अध्यादेश जारी गर्ने प्रस्ताव ल्याउँदा केही मन्त्रीहरु मुखामुख गरे। ओलीले पहिला नै मुख थुनिदिए जसरी भनेका थिए ‘नेकपा बाहेकलाई हो है यो अध्यादेश।’अध्यादेशबारे हल्ला यसरी फिजियो कि अब नेकपा नै फुट्यो। नेकपाका कार्यकर्ता मात्रै होइन् केही सचिवालयका केही नेताहरु पनि रनभुलमा परे। हतार हतारमा सचिवालय बैठक डाकियो पनि। तर ओलीले आश्वस्त पार्न खोजे तर उनीहरुले पत्याएनन्, सोचे अध्यादेशले कसरी नेकपालाई चाहीँ नछोला र! यसै तनावका बीच बुधबार प्रधानमन्त्री ओलीले प्रचण्डलाई बोलाएर बालुवाटारमा सुदूरपश्चिम भेगका काठमाडौंमा उपलब्ध सांसदलाई ब्रिफिङ गरे, प्रचण्डले मुन्टो हल्लाए मात्रै बोल्दै बोलेनन्, सुनिरहे। प्रचण्डलाई यत्ति थाहा थियो अध्यादेश आउँदैछ, तर मिति थाहा थिएन, विश्व कोरोना महामारीमा लडिरहेको बेला आउला भनेर कल्पनासमेत गरेका थिएनन्।

अध्यादेशले नेकपाका नेतालाई जति डर थियो त्योभन्दा बढी राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी सशंकित थिए। ताकि समाजवादी र राजपाका केही नेताहरु नेतृत्वसँग असन्तुष्टि थिए। समाजवादी र राजपा मुख्यत दुई कुरामा सशंकित थिए, एक केही नेताहरु नेतृत्वसँग असन्तुष्टि हुनु, अर्को प्रधानमन्त्री ओलीले सो अध्यादेश नेकपाबाहेकलाई भन्नु।समाजवादीलाई फुटाएर सिंहदरबार ‘रातो कार्पेट’ बिच्छ्याउने ओलीको चाहना थियो। ओलीको चाहना मात्रै टुटेन्, यादव समूहको सत्ताग्रहण गर्ने सपना पनि तुहियो। ओलीकै कारण न त्यो समूह सिंहदरबार भित्रियो, न समाजवादी नै फुट्यो।यिनै गञ्जागोलमा अल्झि रहेको नेपाली राजनीतिमा बुधबार साँझतिर एउटा हल्ला फैलियो- पूर्व स्वास्थ्यराज्यमन्त्री तथा समाजवादी पार्टीका सांसदसमेत डा. सुरेन्द्र यादव प्रधानमन्त्री ओलीको आदेशमा ‘अपहरण’ शैलीमा रातारात जनकपुरबाट काठमाडौं झिकाइयो। यादव तिनै हुन् जो नेतृत्वसँग असन्तुष्टि थिए। त्यसपछि अर्को खुल्दुली हुन थाल्यो यादव कहाँ छन् त? समाजवादीका धेरै नेताले अड्कल गरे बालुवाटार। रातारात कसरी यादव बालुवाटार पुगे भन्ने प्रश्नलाई समाजवादीकै नेता विश्वदीप पाण्डेले यसरी पुष्‍टि गरे ‘मध्येरातमा यादवलाई बालुवाटार पुर्‍याउने पूर्व आइजिपी सर्वेन्द्र खनाल, महेश बस्नेत र व्यापारी किसान श्रेष्ठ हुन्। पाण्डेले त्यति मात्रै पुष्टि गरेनन् केहीलाई आर्थिक प्रलोभन र केहीलाई डर पनि देखाएको रहेछ भन्ने पनि पुष्टि गरे। बालुवाटारमा के-के कुरा भयो त? त्यो विस्तारै खुल्ला।

बालुवाटारबाट निस्किएपछि यादवसहितका टोली पाँचतारे मेरियट होटलमा बसे। मेरियट होटलको रुम नम्बर ७०१ देखि ७१५ नम्बर रुममा रेणु यादव, इस्तियाकसहितको टीम थियो। पाण्डेकै भाषा सापटी लिने हो भने बिहीबार बिहान मेरियट होटलबाट यादवलगायतको समूह भाग्न सफल भयो।उनीहरुले त्यो होटलमा रात बिताउन नपाउँदै ओलीसहित यादवहरुको सपना चक्नाचुर हुने नेपाली राजनीतिमा अर्को ‘पासा पल्टियो।’ समाजवादी र राजपा जुटेनन् मात्रै फुट्नबाट पनि मध्यरातमा जोगाए। यदि रातारात दुई दल नमिलेको भए नेपाली राजनीतिमा आज अर्को दल थपिने निश्चित थियो।समाजवादी र राजपाभित्र केही समयअघि देखि ओली खेल खेलिरहेका थिए। ओली प्रधानमन्त्री भएदेखि नै मधेस केन्द्रीत दलहरुलाई फुटाउने प्रयास गरिरहेका थिए।क तिपय नेताहरुलाई राम्रै मन्त्रालय दिने आश्वासन पनि नदिएका होइनन्। एकताअघि उपेन्द्र यादव नेतृत्वको पार्टीलाई पनि संविधान संशोधनको आश देखाएर सरकारमा सहभागी गराएका थिए। उपेन्द्र सत्ता मोही थिए। योबीच उपेन्द्रलाई सरकारबाट गलहत्याउन मात्रै खोजेनन् स्वास्थ्यमन्त्रीबाट कानुनमन्त्रीतिर पनि धकेलिदिए। अन्तत भोलिवादको उधारो संविधान संशोधन पाएका उपेन्द्रले सरकार नै छाड्नु पर्‍यो।

ओली सरकार गठनका बेला राजपाले मौन समर्थन गरेको थियो। यो बीचमा ओलीले राजपाको राजनीतिमा खेल्न नखोजेका होइनन्। स्मरण रहोस् राजपालाई फकाएर २ नम्बर प्रदेश सरकार ढाल्न पटकपटक खोजेका ओलीले रिक्त राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गरेका थिए। एकै रातमा समाजवादी-राजपा राजनीतिले कोल्टे फेरेपछि ओलीकै जोडबलमा ल्याइएको अध्यादेश ढिला चाँडो अवश्य फिर्ता हुनेछ। अन्नपुर्ण पोस्ट बाट साभार।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News