नेकपा केन्द्रीय सचिवालयका ६ जना नेता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा भेला भएका छन् । उता प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । सरकारले ८ वैशाखमा ल्याएको

‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश’ले नेकपाभित्र सिर्जना गरेको संकट टार्न नेकपाका शीर्ष ६ नेता खुमलटारमा भेला भएका हुन् । स्रोतका अनुसार सो भेलामा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल छन् ।

नेकपा सचिवालयमा रहेका बाँकी तीनमध्ये प्रधानमन्त्री ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाचाहिँ खुमलटार गएका छैनन् । दुई अध्यादेशले सिर्जना गरेको संकट टार्ने विषयमा नेकपाका शीर्ष नेताहरू दिनभर छलफलमा व्यस्त थिए । आजै नेकपा अध्यक्षद्वय प्रधानमन्त्री ओली र प्रचण्ड एवं प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच पनि छुट्टाछुट्टै भेटवार्ता भएको थियो ।

खुमलटार जमघटमा अध्यादेशले सिर्जना गरेको संकट कसरी टार्ने भन्ने सम्बन्धमा अन्तिम निर्क्याेल निकालिने र सोहीअनुसार प्रधानमन्त्री ओलीले कदम चाल्न सक्ने बताइएको छ । नेकपाका शीर्ष नेताहरूको छलफल खुलमटारमा चलिरहँदा प्रधानमन्त्री ओली भने राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफलमा छन् ।

यी छलफल र भेटवार्तापछि ८ वैशाखमा जारी गरिएका दुवै अध्यादेश प्रधानमन्त्रीले फिर्ता लिन सक्ने सम्भावना रहेको पनि स्रोतहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News