विराटनगर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङका २६ वर्षीय युवक ३० फागुनमा साउदी अरबबाट नेपाल आएका थिए । ११ चैतमा घर पुगेका उनलाई विदेशबाट आएको ४१ दिनपछि कोरोना संक्रमण देखियो । यससँगै उनमा

देखिएको कोरोनाको स्रोतको खोजी सुरु भएको छ ।कन्ट्याक ट्रेसिङमा हामी जुटेका छौं,’ जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामीले भने, ‘चाँडै संक्रमण स्रोतको पहिचान गर्ने काम हुनेछ । अहिलेसम्म प्राप्त सूचनाअनुसार संक्रमण देखिएका युवक फागुन ३० गते साउदीबाट काठमाडौं उत्रिएका थिए । त्यही दिन रात्रीबस चढेर सुनसरीको झुम्का आए । त्यहाँबाट चतरा गए, जहाँ उनकी श्रीमती र छोरी बस्दै आएका थिए । डीएसपी मगर भन्छन्, ‘उनी ८ दिनसम्म त्यहीँ बसे, धरान, इटहरी, चतरा, झुम्कालगायत स्थानमा पुगे ।’उनी श्रीमती र छोरीलाई लिएर उदयपुरको मैनामैनीस्थित ससुराली घर पुगे । तीन दिन त्यहाँ बसेका उनीहरु ११ चैतमा मूलघर भोजपुर गएको पाइएको छ । गाउँमा पुगेपछि पनि भलिबल खेल्न तथा किनमेल गर्न बजार गएका थिए ।

उनीमा संक्रमणको लक्षण देखिएको थिएन । तर स्थानीय तहले विदेशबाट आएकाहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने क्रममा तीन दिन अगाडि उनको पनि टेस्ट भयो । आरडीटीमा पोजेटिभ आएपछि उनको थ्रोट स्वाब संकलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । र, बिहीबार साँझ पोजेटिभ रिपोर्ट आयो ।अब उनको कोरोना संक्रमणको स्रोत विदेश कि उदयपुर भन्ने प्रश्न उठेको छ । जिल्ला जनस्वास्थ्य प्रमुख फणिन्द्र कार्की भन्छन्, ‘उनी उदयपुरबाट आएको पनि एक महिना भइसकेको छ । त्यसबेला त्यहाँ उदयपुरमा पनि संक्रमण देखिएको थिएन । त्यसैले आयातित नै हो कि ?’उदयपुरमा कोरोना संक्रमण समुदाय स्तरमा देखिएको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रमा हो । र, मैनामैनी बेलाका नगरपालिकामा पर्छ र यसको त्रियुगासँग सीमा पनि जोडिएको छैन ।

तर मैनामैनीमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको छ कि छैन भन्ने यकिन गर्न पनि परीक्षण गर्नुपर्ने हुन्छ । अहिले भने मैनामैनीमा रहेका संक्रमित युवकका सासु, ससुरासहित पाँच जनाको स्वाब संकलन गरिएको छ । यस्तै भोजपुरमा रहेको परिवारका सदस्य र उनको निकट सम्पर्कमा रहेकाहरुलाई पनि परीक्षणको दायरामा ल्याइँदैछ । ‘अहिलेसम्म हामीसँग १४/१५ वटा स्याम्पल संकलन गर्न सक्छौं’ जिल्ला जनस्वास्थ्य प्रमुख कार्की भन्छन्,

‘अरुका लागि थप मेडियम मगाउनुपर्छ ।’संक्रमित युवकलाई भने घोडेटारस्थित स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डमा राखिएको छ । र, थप उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल पठाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News