राजविराज । कोरोना भाइरसको सम्भावित संक्रमण र लकडाउनका कारण अधिकांश समय घरमै बिताउने गरेका तत्कालिन राजपा र समाजपावादी पार्टीका नेता कार्यकर्ता विहीबार साँझ उत्साहित भएर घर बाहिर निस्के । उनीहरुले सप्तरी सदरमुकाम राजविराजको चोक

चोकमा खुशीयालीमा दिप प्रज्वलन गरे । मधेशमा राम्रो प्रभाव भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी एकीकरण भएको घोषणा सुनेर खुशीयाली मनाउन यसरी दुवै दलका नेता कार्यकर्ता घर बाहिर निस्की दिपावली गरी खुशीयाली मनाएका हुन् । एकीकरणले मधेश आन्दोलन र मधेशी जनताको भावनालाई सम्मान गर्ने काम गरेको मधेशवादी नेताहरुको भनाई छ । राजनीतिक मुद्दा समान रहेको दुवै दल बीच एकीकरण भई घोषणा भएको जनता समाजवादी पार्टीले अब एक जुट भई सशक्त रुपमा मधेश आन्दोलनबाट मधेशी, आदीबासी जनजाति, महिला पिछडिएका क्षेत्र एवं व्यक्ति लगायतका मुद्दा सम्बोधन गराई छाड्ने तत्कालिन समाजवादी पार्टीका प्रदेश २ का सचिव दिनेश कुमार यादवको भनाई छ ।विगतमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बनाएर दुवै दल मधेश आन्दोलनमा होमिएका पार्टी हुन् ।

अहिले एउटै झण्डा मुनी उभिएपछि संविधान संशोधन गराउन ठूलो ऊर्जा मिल्ने राजपाका केन्द्रिय सदस्य अमरनाथ मण्डलको भनाई छ ।प्रधानमन्त्री केपी ओलीले साना दललाई फुटाउन योजना सहित अध्यादेश ल्याएपनि फुटको सटा जुटा भएको र यसले ओलीको मधेश रणनीति असफल भएको राजपाका तत्कालिन महासचिव मनिष सुमनको भनाई छ । उनले भने, ‘प्रधानमन्त्री ओलीले गरेको षड्यन्त्रले हामीलाई हानीको ठाउँमा लाभ पु¥याएको छ । तत्काल एकीकरण उनको ‘विशेष योगदान’ छ, त्यसैले उहाँलाई विशेष धन्यवाद दिन्छौ ।’ यो एकीकरणले देशले ठूलो शक्ति पाएको उनको भनाई छ । अब हामी बैकिल्पीक शक्तिको रुपमा अघि बढ्छौ, उनले थपे ।

तत्कालिन राजपाका सह–महासचिव गजेन्द्र कुमार मण्डलले २ मधेशवादी पार्टी बीच भएको एकीकरण ऐतिहासिक भएको बताउँदै यो एकताले प्रधानमन्त्री ओलीको डिजाइन र षड्यन्त्रलाई असफल बनाई दिएको बताए । उनले एकताको प्रयास विगत लामो समय देखि चलिआएको बताउँदै संयोगवश सरकारले नै यस्तो परिस्थिति एकता प्रक्रियाले चाँडै मुर्त रुप लिएको बताए ।

स्थानीय बासिन्दाले पनि पार्टी एकताले मधेशी जनताको सपना र अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् । यद्यपी पार्टी एकीकरण सँगै शिर्ष नेताहरुको व्यवस्थापन, पार्टीको प्रदेश, जिल्लाका साथै भातृसंगठनहरुको नेतृत्वको मोडल र नेताको जिम्मेवारी लगायत व्यवस्थापन कार्य चुनौतीपूर्ण हुने देखिएको छ । यस्तो चुनौतीहरुको आपसी सहमतिमा व्यवस्थापन गर्न सकेमा मात्र पार्टी एकीकरण सार्थक बन्ने बुद्धिजिवीहरुको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News