काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमणबाट अस्पताल भर्ना भएका एकै घरका आठ जना निको भएर घर फर्केका छन् । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ घर भई भारतको मुम्बई बस्दै आएका उनीहरु शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन्।

घर फर्केपछि परिवारका ४५ वर्षीय सदस्यले फेसबुकमा लेख्नुभयो ‘कोरोनालाई पराजित गर्दै २५ दिनपछि सपरिवार एक साथ हुँदा खुसीले गदगद भएको छु । यो खुसीको कुरा देश र विदेशमा रहनुभएका मेरा आफन्तलाई जानकारी गराउन पाउँदा म कति खुसी छु, शब्दमा भन्न सक्दिनँ । हामीले त कोरोनालाई जित्यौँ । तपाईंहरु सुरक्षित रहनुहोला ।’श्रीमती, छोराछोरी, भाइ र भतिजासहित एकै परिवारका आठ जना मुम्बईका चार अस्पतालमा भर्ना भएका थिए । पच्चिस दिनको अस्पताल बसाइपछि फर्केका उनीहरुले कोरोनाबाट बच्न सकिन्छ भन्दै नडराउन सबैलाई आग्रह गरेका छन् ।

यसरी थाहा भयो
मार्च १८ तारिख अथवा चैत ६ गते परिवारका ४३ वर्षीय माइला भाइ बिरामी परे । सुरुमा ‘फ्याम्ली’ डाक्टरलाई देखाइयो । डाक्टरले सामान्य ज्वरो भन्दै औषधी दिए । औषधी खाँदा सञ्चो भएन । बेस्सरी टाउको दुख्ने र खोकी लाग्न थाल्यो । मार्च २६ तारिखको दिन उनलाई नजिकैको निजी अस्पतालमा लगियो । त्यहाँ पनि भाइरल ज्वरो भन्दै औषधी मात्रै दिइयो । सञ्चो भएन । झन् गार्हो हुँदै गयो । बिस्तारै घरका अरुलाई पनि ज्वरो आउन थाल्यो ।मार्च ३१ तारिख दिउँसो उहाँलाई कोरोना भएको पुष्टि भयो । त्यसपछि कोरोना परीक्षणको लागि परिवारका ११ जनाको स्वाब लगियो । त्यसमध्ये ८ जनालाई कोरोना सङ्क्रमण पुष्टि भयो । त्यसपछि मुम्बईका चार अस्पतालमा आठ जना भर्ना भए ।

‘निकै आत्तिएका थियौँँ’
लमो समयदेखि भारतमा बस्दै आएको उनीहरुको परिवार मुम्बईमै व्यवसाय गरेर बसिरहेको छ । भारत सरकारले मार्च १९ तारिखबाट लकडाउन सुरु गर्यो । सबै जनाको काम बन्द भयो । घरबाहिर निस्कन बन्देज गरिएपछि सपरिवार घरमै बस्न थाले । सबै जनाले टिभी हेर्दै कोरोनाले कुन देशमा कतिको ज्यान गयो, कुन कुन देशमा फैलियो भन्नेबारे कुराकानी गरिरहन्थे ।दिनहुँ अरुको समाचार थाहा पाइराख्ने उनीहरुले आफूहरु पनि सङ्क्रमित हुनुपर्छ भन्ने कल्पना समेत गरेका थिएनन् । कोरोना सङ्क्रमित भएको थाहा पाउँदा सुरुमा सबै जना निकै आत्तिए । परिवारमा रुवाबासी चल्यो । अस्ताल बस्दा सबै जना छटपटिन थाले । मनमा अनेकौँ कुरा चल्न थाले । सङ्क्रमणभन्दा मनको त्रासले सबै जना गल्दै गए ।

‘तीन दिनसम्म अस्पतालमा हामी सबैलाई सम्हालिन गार्हो भएको थियो । पछि बिस्तारै बानी पर्दै गयो । हामीले डर होइन, आत्मबल बढायौँ । आत्मबलले हामी पुरै परिवार निको भएर घर फिर्कियौँ,’ फेसबुक म्यासेन्जरमा कुरा गर्दै अस्पतालबाट निको भएर फर्किनुभएका एक जनाले भन्नुभयो । अस्पताल भर्ना भएको पछिल्लो दिन आफूलाई सम्हाल्न नसक्दा परिवारका सबैभन्दा जेठा ४५ वर्षीयले अस्पतालकै बेडबाट फेसबुकमा देउडा गीत पोस्ट गर्नुभयो ।

रातिका बगन्या पानी कैका लुगा धुन्छै
अरुलाई सम्झाउन्या मन आफू किन रुन्छै
‘यो गीत मैले त्यतिकै लेखेको थिइनँ । यस्तो होइन, यस्तो गर्नुपर्छ, जीवनमा सङ्घर्ष गर्नुपर्छ, आत्तिनु हुँदैन भन्दै सधैँ अरुलाई परिस्थितिमा जुध्न सिकाउँथे । त्यो दिन म आफैँ डराएँ । निकै रोएँ र यो गीतको याद आयो । अनि फेसबुकमा लेखेँ,’ उहाँले भन्नुभयो ।

आत्मबल नै औषधी
कोरोना सङ्क्रमणको लागि न औषधी बनेको छ न त कुनै खोप । यसको औषधी भनेको आत्मबल हो । सुरुमा निकै आत्तिएका उनीहरु कारोनासँगको लडाइँ जितेर फर्केपछि आत्मबल बलियो बनाएर बाँचेको बताउँछन् ।आत्मविश्वास र मनोबलले नै कोरोनालाई जितेको भन्दै उनीहरुले मनोबल बलियो पार्न सबैलाई आग्रह गर्छन् । सरकारले जनताको भलाइका लागि लकडाउन गरेको भन्दै उनीहरुले सबैलाई घरभित्रै सुरक्षित बसिदिन पनि आग्रह गर्छन् ।

‘सबै जना सचेत रहेर घरमै बस्यो भने कोरोनाबाट बच्न सकिन्छ । सङ्क्रमण भइहाल्यो भने नआत्तिएर अस्पताल जानुपर्छ । यसरी कोरोनासँग सजिलै लड्न सकिने उनीहरुको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News