काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो । तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण

कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

पाँचौं लकडाउन
सरकारले गत चैत ११ देखि देशव्यापी लकडाउन सुरु गरेको हो । पहिलोचोटि चैत १८ सम्म लकडाउन घोषणा गरिएको थियो । दोस्रो चरणमा चैत २५ सम्म लकडाउन घोषणा गरिएको थियो भने तेस्रो चरणमा वैशाख ३ सम्म लकडाउन लम्ब्याइएको थियो । चौथो चरणमा वैशाख ३ देखि वैशाख १५ सम्म लकडाउन गर्ने निर्णय गरिएको थियो । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पाँचौं चरणमा लकडाउन थप गर्दै वैशाख २५ सम्म लम्ब्याएको हो ।

कोरोनाको जोखिम बढी भएको ठाउँमा लकडाउन गर्ने र कम जोखिम भएको ठाउँमा खुकुलो बनाउने गरी लकडाउनको उपाय खोजी गर्ने सरकारी अधिकारीहरुले बताएका थिए । यसवीचमा लकडाउन लामो हुँदै जाँदा यसको विकल्पसमेत खोज्नुपर्ने माग भइरहेका बेला सरकारले थप १० दिन लकडाउन गर्ने निर्णय गरेको छ । वैशाख २५ सम्म हुने लकडाउनको मोडेल कस्तो हुनेछ भन्ने मन्त्रिपरिषदको विस्तृत निर्णय बाहिर आइसकेको छैन ।

पछिल्लो समयमा लकडाउनकै बेलामा सरकारले काठमाडौंबाट नागरिकहरुलाई बाहिरी जिल्लामा जान अघोषितरुपमा छुट दिँदै आएको छ । आइतबारदेखि राजधानीकै सडकहरुमा स्थानीय सवारी साधन बाक्लै चल्न थालेको अवस्था छ ।
तर, काठमाडौंबाट बाहिर जाने र उपत्यकामा चल्ने सवारी साधनहरु खुकुलो भइरहँदा कोरोनाका संक्रमितहरुको संख्या बढ्ने क्रम रोकिएको छैन । कोरोनाको जोखिम झनै बढ्दो अवस्थामा छ ।

उदयपुरको भुल्केमा समुदाय स्तरमा संक्रमण देखिनुका साथै संक्रमित पनि बढेर ५२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News