काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते नयाँ दल दर्ता र संवैधानिक परिषद्का प्रावधान परिवर्तनसम्बन्धी गरी दुई अध्यादेश ल्याउनुभएपछि गएको हप्ता ‘हाइभोल्टेज ड्रामा’का विभिन्न दृष्यहरु नेपाली जनताले हेर्न पाए । एकातिर मन्त्रिपरिषद्का केही मन्त्रीहरु अध्यादेश

बाट सन्तुष्ट थिएनन् भने अर्कोतिर सत्तारुढ नेकपाभित्रैका अधिकांश नेताले अध्यादेश ल्याएर प्रधानमन्त्रीले निकट भविष्यमा आफ्नै पार्टी टुक्र्याउन चालबाजी गर्नुभएको हो कि भन्ने गम्भीर आशङ्का गरे । राजनीतिक दल निर्माण र विभाजनसम्बन्धी अध्यादेशको सबभन्दा तत्कालिक असर अध्यादेश घोषणालगत्तै एकीकृत भएका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीमा पर्यो । अध्यादेशलगत्तै समाजवादी पार्टीका केही असन्तुष्ट नेताहरु पार्टी विभाजनतिर लागे । यसै प्रसङ्गमा प्रधानमन्त्रीले आफ्नो पार्टी नभई समाजवादी फुटाउन अध्यादेश ल्याइएको र नेकपाका केही सांसदहरुले समाजवादी पार्टीलाई फुटाउन लागेको तथा एक जना सांसदलाई ‘अपहरण’ गर्नसमेत भ्याएकोजस्ता समाचारहरु बाहिर आए । अध्यादेश आएलगत्तै समाजवादी पार्टी फुट्ने र फुटाउने गतिविधि तीव्र भएपछि र अर्को चरणमा आफ्नो पार्टी पनि टुक्र्याउने होला भन्ने राजपा नेतामा देखिएको त्रासका कारण दुवै पार्टीले हतारहतारमा एकीकरण गरे । यसरी पार्टी विभाजनको असफल प्रयास तुहियो । यस्तै सत्तारुढ नेकपाभित्रैको दबाब र विपक्षी पार्टीहरुको चर्को विरोधपछि दुवै अध्यादेश फिर्ता भइसकेको छ । तर गएको हप्ता घटित यी राजनीतिक घटनाक्रमले उत्पन्न गरेका तरङ्गहरुको प्रभाव र विश्लेषण अहिले पनि जारी छ ।

राजनीतिक शास्त्रका प्राध्यापक विजयकान्त कर्णले कार्यपालिका, न्यायपालिका, संसद्, निर्वाचन आयोग र अख्तियारमाथि आफ्नो कब्जा जमाएर सर्वसत्तावादी सरकार प्रमुख बन्न प्रधानमन्त्रीले दुई वटा अध्यादेश ल्याउनुभएको आरोप लगाउनुभयो ।‘संसद्मा दुई तिहाइ सांसद्को समर्थन आफ्नो पक्षमा पार्न प्रधानमन्त्री ओलीले समाजवादी पार्टी फुटाउन खोज्नुभएको थियो । पछि राजपा पनि उहाँको निसानामा पर्ने निश्चित थियो,’ पूर्व राजदूतसमेत रहनुभएका कर्णले भन्नुभयो ।
यस्तै, राजनीतिक विश्लेषक चन्द्रकिशोरले प्रधानमन्त्रीले कोरोना काललाई शक्ति सञ्चयको रुपमा प्रयोग गर्दै आफ्ना अतृप्त महत्वाकाङ्क्षाहरुलाई सम्बोधन गर्न अध्यादेश ल्याउनुभएको तर्क गर्नुभयो । ‘अल्पकालीन रुपमा राजनीतिक दलसम्बन्धी अध्यादेश मधेश र मधेशी दलप्रति केन्द्रित थियो भने दीर्घकालीन रुपमा त्यो उहाँको आफ्नै दलतिर लक्षित थियो । समग्रमा दुईवटै अध्यादेश लोकतन्त्रविरोधी थिए,’ चन्द्रकिशोरले भन्नुभयो ।

समाजवादी पार्टी विभाजनउन्मुख हुनुमा बाह्य कारणमात्रै थिएन । आन्तरिक कारणहरु पनि उतिकै दोषी थिए । पूर्वराजदूत कर्णका अनुसार समाजवादी पार्टीका ९ देखि ११ जना सांसद पार्टी विभाजनको लागि एक ठाउँमा आउन खोज्नु भनेको पार्टी नेतृत्वप्रति चरम असन्तुष्टि थियो भन्ने बुझ्नुपर्छ । नेपालका कुनै पनि राजनीतिक पार्टी लोकतान्त्रिक सिद्धान्त र संस्कारअनुसार चलेको देखिँदैन । कर्णले सङ्गठन र नेतृत्वको अलोकतान्त्रिक चरित्रका पनि कारण मधेशवादी दलहरुमा विभाजनको श्रृङ्खला कायम रहेको बताउनुभयो । बि.स. २०७४ सालको सङ्घीय र प्रादेशिक निर्वाचनमा चुनाबी गठबन्धन गरेर राम्रो नतिजा ल्याएदेखि नै समाजादी पार्टी (तत्कालीन सङ्घीय समाजवादी फोरम) र राजपाबीच एकीकरणको लागि दर्जनौँ पटक वार्ता भएको थियो । एकताको लागि दुबै पक्षबाट वार्ता टोलीहरु गठन समेत भएका थिए । एकीकृत पार्टीमा करिब एक दर्जन प्रमुख नेताहरुको पद सोपान कस्तो हुने भन्ने विषयमा सहमति हुन नसकेपछि विभिन्न बहानामा एकीकरण लामो समयदेखि टर्दै गएको थियो । तर अध्यादेशको आगमनलगत्तै समाजवादी पार्टी फुट्न थालेपछि दुबै पार्टीका नेताहरुले रातारात एकता घोषणा गरे ।

‘समाजवादी र राजपाका नेताहरुले आफूलाई जोगाउन एकीकरण गरेको कर्णको बुझाइ छ । चन्द्रकिशोरको बुझाइ पनि कर्णभन्दा फरक छैन । चन्द्रकिशोरका अनुसार वीरबलको खिचडीजस्तै एकीकरणको खिचडी लामो समयदेखि पाक्दै आएको थियो तर समाजवादी मात्र नभई राजपामाथि पनि विभाजनको सङ्कट आउने भएपछि दुबै पार्टीका नेताहरु मिल्न बाध्य भए ।‘जब बाढी आउँछ, अनि सर्प, बिच्छी र भ्यागुता ज्यान जोगाउन ठूलो रुखको एउटै हाँगामा गएर बस्छन् । राजपा र समाजवादीका नेताहरुको एकीकरण पनि त्यस्तै हो । उनीहरुका मुद्दा र मार्का मिलेका छन् । तर मन र मत मिलेका छैनन्,’ चन्द्रकिशोरले टिप्प्णी गर्नुभयो ।

एकीकरण अप्रत्यासित र अधुरो भएपनि यसले नेपालका मधेशीसहित सिमान्तकृत समुदायको लागि सकारात्मक सन्देश दिएको छ । मधेशी नागरिकको चाहनाअनुसार पार्टी एकता भएको कर्णले बताउनुभयो । लकडाउनमा सर्लाही जिल्लाको आफ्नो गाउँमा रहनुभएका चन्द्रकिशोरले मधेश आधारभूमि भएका पार्टीहरुको एकताले मधेशमा आशा र उत्साह सञ्चार गरेको बताउनुभयो । यसका साथै उहाँले एकीकरणले प्रधानमन्त्रीलाई पाठ सिकाएको धारणा पनि राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News