इनरुवा । यतिबेला सुनसरीको हरिनगर गाउँपालिकामा राहतका नाममा प्लाष्टिकको चामल बाँडिएको हल्ला निकै फैलिएको छ ।
लकडाउन पीडितका लागि बाँडिएको भनिएको चामल प्लाष्टिकको भएको भन्ने हल्ला सिङगो गाउँपालिकाको लागि मात्रै नभइ आसपासका स्थानीय तह

समेतका लागि चासोको विषय बनेको छ । गाउँपालिकाबाट राहत बुझेका मध्ये केहीले आफूले पाएको खाद्यान्न सामग्री फिर्ता समेत गरेको बताइरहेका छन् ।हरिनगरको वडा नम्बर २ का स्थानीयले राहतमा पाएको चामल पकाएर खाँदा अपच भएको भन्दै विरोध जनाएपछि उक्त विषय यतिबेला चुलिएको छ ।
राहतका नाममा गुणस्तरहीन र प्लाष्टिकको चामल वितरण गरेको भन्दै अनियमितताको आरोप लगाईए पछि गाउँपालिकाले पत्रकार सम्मेलनसम्मको आयोजना गर्नु परेको छ ।गाउँपालिकाको कार्यालयले प्रेश विज्ञप्ती निकाल्दै फैलाइएको अफवाहमा कुनै सत्यता नरहेको भन्दै लगाइएको आरोपको खण्डन गरेको छ । छ ।राहतको विषयलाई लिएर सृजित घटनाक्रम प्रति आफुहरुको ध्यानाकर्षण भएको बताएका गाउँपालिका अध्यक्ष गफार अन्सारीले गलत प्रचारबाजी गरी आरोप लगाउनेमाथि छानविन गरी कानूनी दायरामा उभ्याइने बताएका छन् । उनले पत्रकार सम्मेलनकाबीच आफू र सिङगो गाउँपालिका माथि लगाइएको आरोपको खण्डन गर्दै आरोप प्रमाणित गरी देखाउन चुनौती समेत दिएका छन् ।

पत्रकार सम्मेलनमा प्लाष्टिकको चामल भनेर गरिएको दाबी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरमा गरिएको जाँच र नमूना परीक्षणको रिपोर्टले समेत झुटो सावित भैसकेको व्यहोराको प्रतिवेदनका बारेमा समेत जानकारी गराइएको छ ।प्रतिवेदनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिराटनगरबाट खरिद गरिएको चामलको नमूना परीक्षण गर्दा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप रहेको उल्लेख छ ।कम्पनी लिमिटेडले जापान सरकारले अनुदानकोरुपमा नेपाल सरकारलाई उपलब्ध गराएको जापानिज चामल गाउँपालिकाको कार्यालयलाई राहत वितरणका लागि विक्रि वितरण गरिएको जनाएको छ । उसले आफुले विक्रि गरेको चामल नेपाल सरकारको मापदण्ड अनुसारकै रहेको दावी गरेको छ ।

कस्तो छ त चामल ?
हरिनगर गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खरिद गरेको चामल नेपाल सरकारलाई जापान सरकारले अनुदानका रुपमा उपलब्ध गराएको चामल हो ।झट्ट हेर्दा दैनिक प्रयोग र उपभोगमा ल्याइदै आइएका चामल भन्दा अलि भिन्न देखिने उक्त चामल मोटो छ । हाम्रो गाउँसमाजमा सो सामान खासै प्रयोगमा ल्याइदैन् ।खासगरी नेपालमा सो चामल पहाडी भेग तथा श्रमगर्ने ज्यालादारी मजदूरको हकमा प्रयोगमा ल्याइने गरिएको छ । नेपाल सरकारले समेत आपतविपतको अवस्थामा सोही मापदण्ड अनुसारको चामल पठाउने गरेको छ ।

तराई मधेशका जिल्लाहरुमा दैनिकजसो उपभोगमा मिठो मसिनो चामल प्रयोगमा ल्याइने गरिन्छ । मिलमा कुटाइएको चामलको बढी प्रयोग गर्ने गरिन्छ । जसको स्वाद अन्य चामलको तुलनामा मिठो मानिन्छ ।प्रायजसो हामीकहाँ माँड पसाएको भात खाने गरिएको छ । जसले गर्दा समेत जापानिज चामल तराई भेगको हरिनगरका वासिन्दाको दैनिक उपभोगको हकमा नपचेको हुन सक्छ ।स्वादमा फरक परेकाले समेत चामलको विषयमा अर्नगल प्रचारबाजी भएको हुन सक्ने गाउँपालिकाको ठहर छ ।तर गाउँपालिकाले खरिद गरेको सरकारी चामल खासगरी तराईभेगमा त्यतिसारो नरुचाइने भएकाले समेत सो चामलको विषयमा हरिनगरमा सर्वसाधारणको विरोध सुनिएको आंकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News