काठमाडौं लकडाउन लम्बिँदै जाँदा काठमाडौंमा खान–बस्न समस्या भएपछि घर जान निस्किएका पूर्वका ५० नागरिक दुई दिनदेखि ललितपुरको बालकुमारीमा गाडीभित्रै अलपत्र परेका छन् । उपत्यकाका विभिन्न क्षेत्रबाट घन्टौँ हिँडेर बालकुमारीमा जम्मा भएका उनीहरू प्रहरीले

गाडी छुट्न नदिएपछि बिलखबन्धमा परेका हुन् । उदयपुरको बेलका नगरपालिकाले पास दिएर पठाएको गाडी मंगलबार साँझ काठमाडौंबाट यात्रु लैजाने योजनामा थियो । सूचनाअनुसार विभिन्न जिल्लाका यात्रु बालकुमारीमा जम्मा भए । तर, प्रहरीले रोकिदिएपछि बुधबार रातिसम्म वृद्धवृद्धादेखि बालबालिकासम्म भोकभोकै गाडीभित्रै छन् । गठ्ठाघर बस्ने भोजपुरकी शान्ता तामाङ उदयपुरसम्म गाडी जान्छ भन्ने थाहा पाएपछि मंगलबार बिहानै बालकुमारी पुगेकी थिइन् । चतरासम्म गाडीमा जान पाए त्यहाँबाट हिँडेर घर पुग्ने हिसाब उनको थियो । तर, प्रहरीले रोकेपछि दुई दिनदेखि शान्ता गाडीभित्रै छिन् । ‘गाडीमै बसेको दुई दिन भयो, खाने–पिउने केही छैन,’ उनले भनिन्, ‘रातभर मच्छडले टोकेर हैरान पार्‍यो ।’ शान्ताका श्रीमान् ज्यामी काम गर्थे । ६ हजारमा दुई कोठा भाडामा लिएर बसेका थिए । तर, लकडाउनपछि काम बन्द भयो । हप्ता बित्यो, महिना बित्यो, कोठामा चामल, ग्यास, नुन, भुटन सबै सकिन थाल्यो । काखमा एक वर्षको बच्चा भएका उनीहरू अनिश्चित लकडाउन खुल्ने बाटो हेरेर पार नलाग्ने निष्कर्षमा पुगे । अनि गाउँतिर पाइला सोझ्याएका हुन् ।

‘आफू त जेनतेन बाँचिएला । यो नानीलाइै के खुवाउने मैले ? मेरो दूध आउँदैन, पैसा हुँदा त ल्याक्टोजिन खुवाउँथ्यौँ,’ शान्ताले पीडा पोखिन्, ‘आज पनि बिहानदेखि केही खान पाएको छैन । झन् अलपत्र पो परियो । घर जान पाइएन भने त मेरो नानीलाई के खुवाएर बचाउनु ?’ शान्तासँगै बालकुमारीमा गाडीभित्र अलपत्र पर्नेहरू झापा, उदयपुर र भोजपुरकै बढी छन् । काठमाडौंमा स्वास्थ्य उपचारका लागि आएकी भोजपुरकै ६० वर्षीया सुजमाया राई पनि गाडीमा भेटिइन् । लकडाउनले डेढ महिनादेखि राजधानीमा थुनिएकी उनी घर जान पाउने आसमा स्वयम्भूबाट सकी–नसकी हिँडेर बालकुमारी आइपुगिन् । तर, गाडी नगुडेपछि निराश छिन् । ‘छोरो काठमाडौंमा मजदुरी गर्छ । जिउ सुन्निएपछि डेढ महिनाअघि जचाउन आएको थिएँ । दम पनि छ । तर, न जचाउन पाइयो, न घर जान पाइयो,’ वृद्धा सुजमायाले भनिन्, ‘यहाँबाट घर जाने गाडी छुट्छ अरे भन्ने सुनेपछि राति नै उठेर स्वयम्भूबाट बिहानै आइपुगेँ । तर, जान पाइएन ।’

उनले छोराको कोठामा खानेकुरा सकिएको पीडा सुनाइन् । ‘कोठामा चामल पनि सकियो । गाडीले उदयपुर छाडिदियो भने त हिँडेर पनि जाने भनेर खुसी हुँदै आइयो, तर प्रहरीले रोक्यो,’ सुजमायाले भनिन्, ‘यहाँ झन् दिनभर भोकै भइयो । आराम गर्न पनि मिल्दैन । बिरामी मान्छे, रिँगटा लागिरहेको छ । हैन सरकारले केही गर्दैन रहेछ ? यस्तै हो भने त यतै मरिन्छ पो !’ ५० वर्षीया फुलसरी राई पनि गाडीमै अलपत्र छिन् । उनी सुनसरी चतराकी हुन् । काठमाडौं बस्ने छोरीले घुम्न आउन भनेपछि उनी दुई महिनाअघि आएकी थिइन् । तर, केही दिनका लागि आएकी उनी लकडाउनले यतै थुनिइन् । घरसम्म गाडी जाँदै छ रे भन्ने खबर सुनेपछि उनी पनि मंगलबार बिहानै बालकुमारी पुगिन्, चार वर्षीया नातिनीसमेत लिएर ।

‘गाडीले लैजान्छ रे भन्ने थाहा पाएपछि मंगलबार बिहानै यहाँ आएँ । गाडी पनि बिहानै आइपुग्यो । तर, प्रहरीले जानै दिएन,’ फुलसरीले सुनाइन्, ‘ठूलाठूला झोला छन् । अब कसरी छोरीको घर फर्किनु ? झोला कसरी बोकेर लैजानु ? आफ्नै घर जान पनि दिँदैनन् । घर जान पाए ऐँचोपैँचो गरेर पेट भर्न हुन्थ्यो । यहाँ त खानु न पिउनु भएको छ ।’मंगलबार बिहानदेखि बुधबार अपराह्नसम्म मुखमा पानी र एक पोको चाउचाउबाहेक केही नपरेको उनले बताइन् । ‘एउटा चाउचाउ मैले र नातिनीले बाँडेर खायौँ । नातिनी भोक लाग्यो भन्छे, तर आफूसँग पैसा पनि छैन,’ नातिनीतिर हेरेर उनले भनिन्, ‘यसैले घर जाऊँ भनेर हत्ते गरेपछि हिँडेका थियौँ । अब कति दिन यसैगरी बस्नुपर्ने हो ? हामीलाई त यसरी रोगले भन्दा भोकले लैजाने भयो ।’

गाडी खोला किनारमा छ । रातभर लामखुट्टे भुनभुनाउँछ, खोलाको गन्धले उस्तै सताउँछ । ‘कानमा मच्छड कराउँछ, भोकले पेट कराउँछ । अनिदो र भोको भइयो, आपत् पर्‍यो,’ फुलसरीले गुनासो गरिन्, ‘सहयोग गर्नेहरू पनि कोही छैनन् । हामीजस्ता बुढाबुढीलाई यसरी अलपत्र पारेर सरकारलाई के फाइदा हुन्छ र !’उदयपुर रामपुरका दिनेश खड्का पनि लकडाउनसँगै काठमाडौंमा मजदुरी गुमेपछि घर फर्किन बालकुमारी पुगेका छन् । ‘कोठाबाट खान नपाएर निस्किएको, यहाँ गाडीमा आएर झन् बित्यासमा परियो,’ उनले भने, ‘कोठा छोडेको ५० घन्टा बित्यो, पानी र चाउचाउबाहेक मुखमा परेको छैन । खल्तीमा ५० रुपैयाँभन्दा छैन, अब के गर्ने ?’

लकडाउनमा घरबाट निस्किन हुन्न भन्ने थाहा भए पनि बाध्यताले निस्किनुपरेको बताए । ‘तर, भोको पेट कसरी कोठाभित्रै थुनिएर बस्न सकिन्छ ?’ दिनेशले सरकारसँग गुनासो गरे, ‘१५ गते खुल्छ अनि घर जाउँला भनेर अस्तिदेखि नै एकछाक मात्रै खाएर बसिरहेका थियौँ । तर, नखुलेपछि कसरी यहाँ बस्ने ? रहर लागेर हिँडेको होइन नि ! सरकारले खान देओस्, हामी कोठामै बस्छौँ ।’

पेरिसा कार्की पनि उदयपुर नै जान हिँडेकी हुन् । उनका श्रीमान् काठमाडौंमा फर्निचरमा काम गर्थे । साहुले फर्निचर कारखाना बन्द गरेपछि उनीहरूको आम्दानी पनि बन्द भयो । भान्सामा केही जुगाड दिएन, किनभने हातमा टन्न पैसा थिएन । भएको अलिअलि सकिएपछि उनीहरू गाउँ फर्किन लागेका हुन् । ‘मंगलबार नै हामी यहाँ आएका हौँ । तर, जान पाइएको छैन । जानै दिएन भने के गर्ने कुनै योजना छैन,’ पेरिसा भन्छिन्, ‘कोठामा फर्किएर त कामै छैन । बरु, हिँडेरै भए पनि घर जानैपर्छ । खानेकुरा केही नभएको कोठामा फर्किएर के गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News