सचिवालय बैठकमा प्रवक्ता श्रेष्ठले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अब के हुन्छ भन्ने प्रश्न गरेका थिए । त्यसपछि गौतमले पनि के गर्ने छलफल गरौं भनेका थिए । र, उनलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने र संसदमा ल्याउन प्रयत्न गर्ने निर्णय भएको

छ ।तर, यो निर्णय कार्यान्वयन हुनेमा स्वयं सचिवालयकै नेताहरुले आशंका गरेका छन् ।प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकमा गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेपछि उनी हौसिएका थिए । तर, शनिबारको बैठकमा आफूबारे छलफल नै नभई बैठक समापन हुन लागेपछि गौतम आफैंले ‘मेरोबारेमा चाहिँ के हुन्छ’ भनेर ध्यानाकर्षण गराउनुपरेको थियो । बैठकले वामदेवलाई प्रतिनिधिसभामा ल्याउने निर्णय त गरेको छ, तर यो निर्णय कार्यान्वयन हुनेमा नेताहरु विश्वस्त छैनन् ।यसअघि वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सचिवालयका बहुमत नेताहरुको निर्णय पनि शनिबारदेखि स्वतः खारेज भएको छ ।त्यसो त सचिवालय बैठक बस्नुअघि वामदेवलाई उपप्रधानमन्त्री बनाइने चर्चा पनि चलेको थियो । विष्णु पौडेल, बादल र वामदेववीच भएको छलफलबाट त्यस्तो विकल्पबारे चर्चा भएको थियो ।

प्रतिनिधिसभामा हारेको व्यक्ति मन्त्री बन्न नसक्ने संविधानमा प्रष्ट प्रवाधान छ । यो अवस्थामा राष्ट्रियसभाको सदस्यमा मनोनित गरेर वामदेवलाई उपप्रधानमन्त्री बनाउने प्रयास संस्थापन पक्षबाट भए पनि राष्ट्रपतिबाट मनोनित हुने कोटामा बामदेवको नाम अटाउन सकेन ।अब कहाँको प्रतिनिधिसभा खाली होला र त्यहाँबाट वामदेव चुनाव लड्लान् ? त्यो चुनाव उनले जित्लान् या नजित्लान् ? अहिल्यै बताउनु सकिँदैन । यद्यपि कास्कीका सांसद खगराज अधिकारीले आफू वामदेवका लागि राजीनामा दिन तयार रहेको यसअघि नै बताइसकेका छन् ।

कसले जित्यो, कसले हार्‍यो ?
सरकारले विवादास्पद अध्यादेश जारी गरेपछि उत्पन्न राजनीतिक संकटका कारण केही दिन यता नेकपा फुट्न सक्ने वा सरकार ढल्न सक्ने किसिमका आंशकाहरु बढेका थिए । केपी ओली पक्ष र प्रचण्ड-माधव पक्षवीच शक्ति संघर्ष चर्केको थियो ।प्रधानमनत्री ओलीले सचिवालयमा अल्पमतमा परेको अवस्थामा सरकार ढल्ने डरले नेकपा सांसदहरुलाई बालुवाटारमा बोलाएर खाली कागजमा हस्ताक्षर संकलन समेत गरिसकेका थिए ।

लकडाउनका बेला मोरङमा रहेका नेकपा सांसद घनश्याम खतिवडाले पनि बालुवाटारमा हस्ताक्षर संकलन भएको पुष्टि गर्दै भने, ‘मैले पनि जिल्लाबाट आएर बालुवाटारमा हस्ताक्षर गरें ।’यसरी एकापसमा अविश्वासको खाडल बढ्दै गएका बेला शनिबारको सचिलावय बैठकपछि एकताको भाव सञ्चार भएको नेताहरुले बताएका छन् । बैठकपछि महासचिव विष्णु पौडेलले भने, ‘आजको बैठकबाट नेकपा एकतावद्ध छ भन्ने सन्देश प्रवाह भएको छ, पार्टी फुटोस् भन्नेहरुको निराश बनेका छन् ।’

तर, के शनिबारको बैठकपछि नेकपाभित्रको संकट टरेकै हो त ? माधव नेपाल पक्षका एक नेताले अनलाइनखबरसँग भने, ‘हामीले स्थायी कमिटीको बैठक माग गरेका थियौं, वैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय सचिवालयले गरेको छ । अब त्यहाँ छलफल हुन्छ ।’उनको विश्लेषण अनुसार पार्टी सचिवालयमा चलिरहेको नेकपाको अन्तरसंघर्ष अब स्थायी कमिटीको मोर्चामा सरेको छ । तर, सरकारले गरेका कमीकमजोरीहरुको समीक्षा हुन अझै बाँकी छ । सरकार र पार्टी सञ्चालनमा भएका गलत कामबारे नेताहरुले स्थायी कमिटीलाई जवाफ दिन बाँकी छ ।

माधव नेपाल र प्रचण्ड पक्षका नेताहरुले स्थायी कमिटीको बैठक माग गरेका थिए, त्यसमा उनीहरु सफल भएका छन् । प्रधानमन्त्रीलाई आत्मालोचना गराउन पनि प्रचण्ड-माधव पक्ष देखिएको छ ।कतिपय नेताहरुको विश्लेषणअनुसार प्रधानमन्त्री र अध्यक्षमध्ये एउटा पद छाड्नैपर्ने अवस्थामा पुगेका केपी ओलीले शनिबारको बैठकपछि हाइसञ्चो महसुस गरेका छन्, जुन उनको जीत हो । केही मन्त्री र मुख्यमन्त्रीहरु फेर्न तयार भइसकेका प्रधानमन्त्रीले शनिबारको बैठकमा त्यो गुमाउनुपरेन । र, वामदेवलाई प्रधानमन्त्री बनाउनु पनि परेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News