काठमाडौं : लकडाउन लम्बिदै जाँदा यसको मोडालिटीको विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ। संक्रमण फैलिरहेको र संक्रमण नदेखिएका क्षेत्रमा कसरी लकडाउनलाई प्रभावकारी र खुकुलो बनाउने भन्ने विषयमा आइतबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको हो।

मन्त्रिपरिषदको प्रमुख एजेन्डा संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने भए पनि प्रधानमन्त्री ओलीले सीमानामा कडाइ गर्न विभागीय मन्त्रीलाई मौखिक निर्देशन दिएका हुन्। जेठ १५ मा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधान भएकोले सरकारले आइतबार अधिवेशन बोलाउने निर्णय गरेको हो। निर्णय लगत्तै राष्ट्रपति भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामाजिक दूरी कायम गर्ने गरी संसदको बैठक कक्षको व्यवस्थापन गरिएको छ। प्रधानमन्त्री ओलीले गत बुधबार संसद भवन पुगेर बैठक कक्ष अवलोकन गरेका थिए।

लकडाउन ४१ औं दिन
लकडाउन ४१ दिनमा चल्दै गर्दा प्रधानमन्त्री ओलीले सीमानामा कडाइ गर्न निर्देशन दिएका हुन्। मन्त्रिपरिषद् बैठकमा लकडाउनको मोडालिटीको विषयमा भने छलफल भएको एक मन्त्रीले जानकारी दिए। ‘प्रधानमन्त्रीले तत्काल सीमा खुकुलो पार्न नसकिने बताउनु भयो’, ति मन्त्रीले भने, ‘यसको विषयमा भने मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ।’ सरकारले अन्तिम पटक थपेको लकडाउनको समय वैशाख २५ गते सकिदै छ। बैठकमा लकडाउनको मोडालिटीका विषयमा मन्त्रीहरुले केही प्रस्ताव सुनाए पनि यस विषयमा निर्णय भने हुन सकेन। आम सर्वसाधारणको चासोको विषयमा मंगलबार अझ गृहकार्य गरेर मात्र निर्णय गर्ने तयारी भएको ति मन्त्रीको भनाइ छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम र नियन्त्रणका लागि चैत ११ गतेबाट सुरु भएको लकडाउन पटकपटक गर्दै लम्बिदै आएको हो। कोरोनाको जोखिम अझै रहेको र भारतले लकडाउनको अवधि थप्दै गएको सन्दर्भलाई ख्याल गर्दै सरकारले यसको विषयमा निर्णय गर्नेछ। सरकारले अन्तर्राष्ट्रिय उडानलाई अझै लामो समय स्थगित गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर बढ्दै जाँदा तत्काल लकडाउन खुकुलो पार्नु नहुने तर यसको मोडालिटी परिवर्तन गर्न सकिने गरी प्रस्ताव तयार पारेको छ।

नेपालमा अहिलेसम्म ६१ हजार बढी नमुना परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये १६ जना निको भएका छन् भने अन्य ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सरकारले कोरोना परीक्षणको दायरालाई बढाउँदै देशभरका १७ अस्पतालमा पीसीआर विधिबाट परीक्षण गरिरहेको छ भने सबै जिल्लामा आरडीटी विधिबाट कोरोना परीक्षण भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News