विराटनगर : कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा राखिएसँगै उपचारमा ढिलाइ हुँदा एक महिला फुटबलरको आँखाको ज्योति गुमेको छ । आँखामा लागेको चोटको उपचार समयमा गराउन नपाउँदा उदयपुरको बेलका नगरपालिका-५ की १६ वर्षीया समीक्षा मगरले दाहिने

आँखाको दृष्टि गुमाउनु परेको हो । कोरोना भाइरस संक्रमणको आशंकामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीनदिन आइसोलेसनमा राखिदिएपछि उनको चोट लागेको आँखाको उपचार समयमा हुन पाएन ।बुवा दलबहादुरका अनुसार बारीमा सिमल तरुल खन्ने क्रममा वैशाख १२ गते उनको आँखामा चोट लागेको थियो । ‘चोट लागेको बेला त्यति समस्या भएन,’ उनले भने, ‘भोलिपल्ट दुख्न थालेपछि नजिकैको स्वास्थ्य चौकीमा लगियो । रामपुर ठोक्सिला स्वास्थ्य चौकीले आँखाको नानीमा चोट रहेको भन्दै थप उपचारका प्रतिष्ठान रेफर गरिदियो।’आँखाको दुखाईसँगै शरीरको तापक्रम बढ्दै गएपछि प्रतिष्ठानका चिकित्सक हच्किए । बिरामीलाई ज्वरो आएको भनेर कोरोना भाइरस संक्रमणको आशंका गर्दै आँखाको उपचार गर्न मानेनन् । ‘डाक्टरले छोरीलाई तीन दिन आइसोलेसनमा राख्नु पर्ने र कोरोना परीक्षण गर्नुपर्ने सुझाव दिए,’ दलबहादुरले भने, ‘आँखाको दुखाई सहन नसकिरहँदा उपचार थाल्नु पर्ने अवस्थामा आइसोलेसनमा राख्न बाध्य भइयो ।’ त्यसपछि चिकित्सकले नमुना संकलन गरेर परीक्षणका लागि लिएर गए । तीन दिनपछि कोरोना रिपोर्ट नेगेटिभ आयो ।

त्यसपछि प्रतिष्ठानले आँखाको नानीमा समस्या रहेको जनाउँदै विराटनगरको विराटनगर आँखा अस्पतालमा वैशाख १८ गते बिहीबार रेफर गरिदिएको किशोरीका बुवा दलबहादुरले बताए। प्रतिष्ठानले उपचारका लागि पठाउँदा आँखामा चोट लागेकै ६ दिन वितिसकेको थियो । आइसोलेसनको बसाई र सीमित औषधि मात्रै सेवनका कारण समीक्षाको तत्काल गर्नुपर्ने आँखाको उपचार भने जस्तोहुन पाएन । सुधार हुनुपर्ने आँखामा समस्या थपिँदै गयो ।फुटबल खेल्ने क्रममा बल अघि बढाउँदै समीक्षा । विराटनगर आँखा अस्पताल ल्याएर उपचार थालिए पनि चिकित्सकले दृष्टि गुमिसकेको जानकारी गराएका छन् । उपचारमा संलग्न चिकित्सक विवेक आचार्यले आँखाको नानीमा नराम्ररी चोट लागेको र उपचारमा ढिलाई हुँदा दृष्टि गुमेको जानकारी दिए । ‘आँखाको नानीमा चोट लाग्दा जति सक्दो छिटो उपचार गर्नुपर्ने ठाउँमा चोट लागेको एक सातापछि मात्रै उपचार सुरु भयो,’ उनले भने, ‘उपचारमा ढिलाई भएकै कारण दृष्टि फर्कने सम्भावना लगभग सकिएको छ ।’ डा.आचार्यले आँखाको नानी जोगाउन गाह्रो रहेको अवस्थामा अझै पनि उपचार गरेर गुमेको ज्योति फर्काउनका लागि परिवारका सदस्यसँग छलफल गरेर धेरै प्रयास भइरहेको जानकारी दिए ।

‘उदयपुरबाट आएको बिरामी भन्नासाथ मुख्य समस्यालाई ध्यान नदिइकन प्रतिष्ठानले आइसोलेसनमा राखिदियो । त्यहाँमाथि दुखाईको पीडाले छोरीको शरीरको तापक्रम पनि बढ्दै गयो । आँखामा समस्या भएको बिरामीलाई आइसोलेसनमा राखिएपछि उपचारमा समस्या भयो,’ दलबहादुरले भने, ‘आँखाको उपचार नै रोकियो । बरु सुरुमै आँखा अस्पताल जानु भनिदिएको भए ढिलो हुने थिएन । छोरीको दृष्टि पनि गुम्ने थिएन ।’स्थानीय लिटिल स्टार स्कुलको कक्षा ८ मा अध्यनरत समीक्षा फुटबल खेलाडी हुन् । स्थानीय तहदेखि काठमाडौंमा आयोजित विभिन्न प्रतियोगितामा उनले सहभागिता जनाइसकेकी छन् ।महिला फुटबल प्रशिक्षक भगवती रानामगरले समीक्षाको उपचारमा सहयोग गर्न सबैमा आग्रह गरेकी छन् । ‘विभिन्न प्रतियोगितामा खेल्दै आएकी समीक्षाको पछिल्लो अवस्था निक्‍कै दर्दनाक बन्यो । अग्रपंक्तिमा खेल्ने उनको सम्भावना निक्कै राम्रो थियो,’ प्रशिक्षक रानागरले भनिन् , ‘मेरै प्रशिक्षणबाट उनले निक्कै छिटो खेल कौशल विकास गरेर लगेकी थिइन् । तर आज नियतिले ठगेपछि आँखाको चोटका कारण भविष्य के हुने हो भन्ने अन्योल छ ।’

उनले नेपाली फुटबलमा निक्कै सम्भावना बोकेकी समीक्षाको उपचारमा सहयोग गरेर खेल क्षेत्रको सम्मान गरिदिन आग्रह गरिन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएसँगै उनको उपचारमा पैसाको पनि अभाव हुन थालेको प्रशिक्षक रानामगरको भनाइ छ । उपचारमा सहयोग पुर्‍याउन अखिल नेपाल फुटबल संघ (एन्फा) र स्थानीय क्लबहरुले सहयोग संकलन गर्न थालेका छन् । शुक्रबार एन्फाका तर्फबाट सहायक महासचिव बसन्त अर्यालले २५ हजार रुपैयाँ हस्तान्तरण गरे । विराट सांग्रिला स्पोर्टिङ क्लबले समेत २५ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको क्लबका अध्यक्ष समेत रहेका एन्फा केन्द्रीय सदस्य रुपेश अधिकारीले बताए ।

ज्वरो आएको भनेर कोरोनाको आशंका गर्दै प्रतिष्ठानले आइसोलेसना राखिदिँदा समय खेर गएर आँखाको उपचार समयमा हुन नपाएको अधिकारीको भनाइ छ । उनले अहिलेको अवस्थामा ज्वरो आउनासाथ कोरोनाकै शंकाले हेर्ने अस्पतालको संस्कारले सर्वसाधारणलाई समस्या पर्दै गइरहेको बताए ।

उदयपुरमा हालसम्म नेपालमै सबै भन्दा बढी २८ जनामा कोरोना संक्रमण भेटिएको छ । उदयपुरका बिरामी आउनसाथ सबै जसो अस्पतालले शंकास्पद रुपमा हेरिदिने र अरु समस्या हुँदा उपचार गर्न अस्वीकार गर्ने तथा यो वा त्यो बहानामा ढिला गरिदिने परिपाटी बढेको अधिकारीको भनाइ छ । समीक्षाका एक दाइ र एकजना दिदी छन् । परिवार खेती किसानीमा आश्रित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News