बोलीकै कारण विवादमा पर्नेमा अभिनेत्री करिश्मा मानन्धर पनि अग्रपंक्तिमा पर्छिन् । खास गरी, सामाजिक सञ्जालमा लेख्ने कुराको भेउ नपाउँदा उनी विवादमा परिरहन्छिन् । लकडाउनका बेला राजनीतिमा देखिएका घटनाक्रमले हरकोही सचेत नागरिकलाई विरक्त बनाएको छ ।

करिश्मासँग त झन् राजनीतिको अनुभव नै छ । राजनीतिले जति नै दिक्क बनाए पनि त्यसलाई व्यक्त गर्ने भाषाको आफ्नै सीमा हुन्छ । अझ सेलिब्रिटीले त झनै यसको ख्याल गर्नुपर्छ । तर, करिश्माले हालसालै फेसबुकमा यस्तो स्ट्याटस लेखिन्, जुन उनको स्तरको कलाकारलाई लेख्न सायदै सुहाउँछ ।

करिश्माले लेखेकी थिइन्, ‘यी आचीहरूको कुरा गर्नुभन्दा बरु नराम्रो भए पनि आफ्नै फोटो राख्छु ।’ उनका सीधा संकेत राजनीति र नेतालाई थियो । तर, के करिश्मालाई यस्तो भाषा प्रयोग गर्न सुहाउँछ ? उनको तर्क होला, सर्वसाधारणले गर्न हुने, हामीले नहुने ? अरू बेला चाहिँ सेलिब्रिटीको भाउ खोज्ने अनि मर्यादा राख्नुपर्ने बेलामा चाहिँ सर्वसाधारण बन्न खोजेर धर पाइएला र ?

सुनसानमा गुमनामको चर्चा
सुष्मा कार्की पछिल्लो समय गुमनामजस्तै छन् । हातमा न फिल्म छ, न म्युजिक भिडियो । अफेयरका कारण समाचारमा आउने उनले मिडियालाई अहिले यसको खुराक पनि दिएकी छैनन् ।

तर, लकडाउनको सुनसानबीच उनी अचानक चर्चामा आइन् । कारण थिइन्, पूजा शर्मा । सुष्माले पूजामाथि केही समयपहिले बोलेको भिडियो यतिबेला भाइरल भयो । भिडियोमा उनले पूजालाई अभिनय गर्न नजान्ने र बेकारकी हिरोइन भएको टिप्पणी गरेकी थिइन् । लकडाउनले फुर्सदमा रहेका पूजाका फ्यानले सो भिडियो यति व्यापक बनाए कि सारा मानिस सुष्मालाई गाली गर्न लागे । उनी सुरुमा त बचाउ गर्नतिर लागिन्, तर अति भएपछि उनी पनि किन चुप लाग्थिन् ? ऋषि धमलाको टेलिभिजन कार्यक्रममा गएर उनले पूजा र आकाश श्रेष्ठले नक्कली फेसबुक आईडी बनाएर आफ्नो प्रशंसा आफैँ गर्ने गरेको आरोप लगाइन् ।

त्यसो त पूजामाथि नक्कली आईडी बनाएर आफ्नो बढाइचढाइ गर्ने गरेको आरोप लगाउने सुष्मा पहिलो मान्छे होइनन् । यसअघि अरूले पनि यो आरोप लगाइसकेका छन् । तर, पूजाले कहिल्यै यसको जवाफ दिएकी छैनन् । यो पालि देलिन् कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News