काठमाडौं । निरन्तर लकडाउनका कारण डेढ महिनाभन्दा लामो समयदेखि घरभित्र बस्नुपर्दा आफूलाई दिक्क लागेको अभिनेत्री निरुता सिंहले बताएकी छन् । उनी अहिले मुम्बईमा छिन् । भारतमा सबैभन्दा बढी कोरोना संक्रमित महाराष्ट्रमा बढेपछि त्यहाँ लकडाउन निकै कडा

गरिएको छ । त्यसैले, घरमै बस्नुपर्दा आफूले मनोरञ्जनका लागि टिकटकलाई पनि सहारा बनाएको यी अभिनेत्रीले बताएकी छन् ।लामो समयदेखि चलचित्रमा अभिनय गर्न नपाएको बेला अभिनय गर्न पनि पाइने र रमाइलो पनि हुने माध्यमका रूपमा निरुताले टिकटक रोजेकी छन् । उनले बुधबार मात्र दुई वटा टिकटक भिडियो बनाएर फेसबुकमार्फत अरूलाई सेयर गरेकी छन् । उनले यो टिकटक भिडियोलाई ‘फन्नी टाइम पास’ भनेकी छन् । आफू भर्खरभर्खर टिकटकमा आउन थालेको र यो निकै रमाइलो लाग्ने गरेको पनि यी अभिनेत्रीको कथन छ ।कोरोना भाइरसको संक्रमणले निम्त्याएको लकडाउनका कारण अहिले सबै कलाकार घरमा बस्न बाध्य छन् । यस्तो बेलामा अभिनेत्रीलाई समय बिताउन सजिलो माध्यम टिकटक बनेको छ । यो फुर्सदमा अभिनेत्रीले आफ्नो विभिन्न कार्यलाई दिनदिनै टिकटकमार्फत दर्शकमाझ ल्याउने अवसर पाएका छन् ।

अभिनेत्री निरुता मात्र हैन, अरू पनि थुप्रै अभिनेत्रीका लागि अहिले लकडाउनमा समय बिताउन टिकटक रमाइलो माध्यम बनेको छ । एक त आफूमा रहेको अभिनयलाई निरन्तर प्रस्तुत गर्न पाइने नै भयो । अर्कोतर्फ टिकटकले आफूसँग अरूलाई पनि रमाइलो दिने भएकाले आफूहरूले पनि टिकटक बनाउने गरेको यी अभिनेत्रीहरूको कथन छ । लकडाउनमा नियमित टिकटक बनाउने अभिनेत्रीमा वर्षा राउत पनि पर्छिन् । उनले विभिन्न घरायसी कार्यको टिकटक बनाएर आफ्नो एकाउन्टमा सेयर गरेकी छन् । मःमः पकाएको, अन्डा उसिनेको, बारीमा साग टिपिरहेको जस्ता विभिन्न घरायसी कार्यलाई यी अभिनेत्रीले टिकटकको रूपमा ल्याएकी छन् । त्यसो त विभिन्न गीत र संवादमा आफू प्रस्तुत भएर वर्षाले त्यसलाई टिकटकको रूपमा बनाएकी छन् ।

टिकटकमा सक्रिय अर्की अभिनेत्री केकी अधिकारी पनि हुन् । उनी पनि बेलाबेलामा टिकटकमा आफ्ना गीत, भिडियो तथा अभिनय प्रस्तुतिलाई सेयर गरिरहेकी हुन्छिन् । पछिल्लोपटक लकडाउनको २९औं दिनको अवसरमा यी अभिनेत्रीले टिकटकमा बाल्यकालको सम्झना शीर्षकमा एउटा भिडियो सेयर गरेकी छन् । त्यसपछि भने उनले टिकटकमा भिडियो सेयर गर्न भ्याएकी छैनन् । उनका ४० भन्दा बढी भिडियो टिकटकमा सेयर छन् ।

टिकटकमा सक्रिय अर्की अभिनेत्री रेखा थापा हुन् । तर, उनको टिकटकको शैली फरक छ । अरूको गीत तथा संवादमा अभियन गरेर टिकटक बनाउनुभन्दा रेखाले आफ्नो गीत र संवादलाई नै रोज्ने गरेकी छन् । अभिनेता रेखाले त्यसैले आफूले फिल्ममा अभिनय गरेको संवाद र गीतलाई टिकटकका रूपमा प्रस्तुत गर्दै आएकी छन् । एक समय टिकटकमा निकै छाएकी अभिनेत्री वर्षा सिवाकोटी भने आजकाल टिकटकमा निष्क्रिय देखिएकी छन् । टिकटक बनाउनभन्दा उनले पुस्तक बढेर दिन बिताउने गरेकी छन् । अरू पनि थुप्रै अभिनेत्रीहरूले लकडाउनको समयमा मनोरञ्जनको उपयुक्त माध्यमका रुपमा टिकटकलाई रोजेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News