काठमाडौं । अहिले विश्वभर कोरोना भाइरसको महामारी फैलिएसँगै नेपालमा लकडाउनको प्रभाव जारी रहेपछि हास्य अभिनेता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले विपन्नलाई खाना खुवाउन थालेका छन् । उनीहरूले धुमुर्स सुन्तली फाउन्डेसनमार्फत खाना

खुवाउने अभिनय सुरु गरेका हुन् । कलाकार सीतारामका अनुसार फाउन्डेसनले कोरोना प्रभावित नेपालीका लागि विभिन्न राहत सामग्री वितरण गरिरहेको अवस्थामा विभिन्न स्थानमा अलपत्र परेका र बिहानबेलुका खानाको समस्या भएका नेपालीहरूका खाना खुवाउन सुरु गरेको हो । ‘फाउन्डेसनले ललितपुरको थसीखेलमा निःशुल्क भोजनको व्यवस्था गरेको हो । ललितपुरस्थित रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा फाउन्डेसनले बुधबारबाट प्रतिभा सहकारीको भवनअगाडि भोजनको व्यवस्था गरेको हो,’ कलाकार सीतारामले भने ।अशक्त तथा विपन्नवर्गका पीडितहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म निःशुल्क भोजनका लागि त्यहाँ जान सक्ने पनि फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताएका छन् । उनले आवश्यक पीडितहरू उक्त स्थानमा आई भोजनमा सहभागी हुन अनुरोधसमेत गरेका छन् ।

उनले विपद्मा सबैले सहयोग गरौं भन्दै पीडित पहिचान गरी आवश्यक सहयोग गर्नु नै मानवीय धर्म निर्वाह गर्नु भएकाले सहयोग गरी उद्धार गर्नसमेत सामाजिक सञ्जालमार्फत अपिल गरेका छन् । सीतारामका अनुसार फाउन्डेसनले पहिलो चरणमा उद्धार कार्य र दोस्रो चरणमा राहत वितरण गर्दै अहिले निःशुल्क भोजनको व्यवस्था गरेको छ । ९ वैशाख कीर्तिपुरस्थित रहेको त्रिभुवन विश्वविद्यालयमा अध्यनरत २ सय जना विद्यार्थीहरूका लागि राहत वितरणसँगै कोरोना प्रभावित पहिचान गरी निरन्तर सहयोग गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयका २ सय विद्यार्थीका लागि फाउन्डेसनले २ सय बोरा चामल, ६ सय केजी दाल, २ सय पाकेट नुन, २ सय लिटर तेल र २ सय कार्टुन बिस्कुटसहित खाद्यान्न सहयोग प्रदान गरेको हो ।

त्यससँगै झापामा अलपत्र परेको चितवनका २४ विद्यार्थीलाई चितवन र ललितपुरमा अलपत्र अवस्थामा रहेका ९५ जना मजदुरलाई २ वटा बस रिजर्भ गरी उनीहरूको गृह जिल्ला दाङ पठाइएको थियो । धुर्मुस र सुन्तलीको प्रत्यक्ष सहभागितामा काठमाडौं, ललितपुर तथा भक्तपुरमा रहेका विभिन्न विपन्न, गरिब, विभिन्न रोगी, ज्याला मजदुरी गरी गुजारा गर्ने मजदुर, अशक्त, विद्यार्थी, वृद्ध, गर्भवती महिलालगायतका पीडित पहिचान गरी अवस्थाअनुसार आर्थिक सहयोगसमेत गरेको छ । आमाको मुख हेर्ने दिनको अवसरमा धुर्मुसले विभिन्न पीडामा रहेका कोरोना प्रभावित आमाहरूलाई आर्थिक सहयोग गरेका थिए ।

धुर्मुसले आमाहरूलाई गरेको सहयोगको भिडियो थुप्रैपटक सेयरसमेत भएको छ । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार कोरोना प्रभावितका लागि हालसम्म ११ लाख बराबरको राहत विरण भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News