मोरङ – ओखलढुङ्गाकी कल्पना मगर मोरङको बुढीगङ्गा गाउँपालिकाको नेमुवामा रहेको कार्टुन उद्योगमा काम गर्नुहुन्छ । एक वर्षदेखि नियमित रुपमा काम गर्दै आउनुभएकी मगर विगत डेढ महिनादेखि कामबाट वञ्चित हुनुभएको छ । लकडाउनको कारण देखाउँदै उद्योगले

सबै मजदुरलाई घर पठाएको छ । घर हुनेले आफ्नो घरमा बसेका छन् । मगर भने बालबच्चा लिएर भाडाको घरमा बस्दै आउनुभएको छ । उद्योगले काममा नआउन भनेपछि घरमा भएको खाद्यान्न सकिएको र घरभाडा तिर्न समेत सकस भएको मगरले बताउनुभयो । अवस्था राम्रो हुँदासम्म उद्योगले काममा राखेको तर लकडाउन सुरु भएपछि काममा नआउन र आवश्यक परेमा बोलाउने भन्दै निकालेपछि समस्या भएको मगरको भनाइ छ ।

छाक टार्न धौ धौ
‘एक जनाले ५ जनाको परिवार पाल्नुपर्ने बाध्यताले उद्योगमा काम गर्दै आएको थिएँ,’ मगरले भन्नुभयो, ‘अहिले रोगको महामारी देखाउँदै उद्योगले नआउन भन्यो । यता राहत पनि दिएन । के हामी कोठा भाडामा बसेका नागरिक होइनौँ ?’

चार वर्षदेखि सोही कार्टुन उद्योगमा काम गर्दै आउनुभएकी अर्घाखाँचीकी मेनुका मगरको समस्या पनि उस्तै छ । भाडाको कोठामा बस्दै आउनुभएकी मेनुकालाई कोठा भाडा तिर्न समस्या हुन थालेको छ । बीचमा काम सुरु भएको जानकारी पाएर काम गर्न गएपछि उद्योगले छिर्न नदिएर फर्काएपछि अहिले घरमै बस्नुपरेको मेनुकाले दुखेसो पोख्नुभयो । ‘घरमा बसेको लामो समय भइसक्यो । हरेक दिन कमाएर घर चलाएका हामीलाई छाक टार्न धौ धौ हुन थालेको छ,’ मेनुकाले भन्नुभयो । खोटाङ घर भएकी सुुनिता थापालाई पनि अरु साथीको जस्तै समस्या भएको छ । टङ्कीसिनबारीमा रहेको म्याजिक चामल उद्योगमा काम गर्ने थापालाई उद्योगले नआउन भन्यो । घरमा बस्दा राहत लिन आउनेबारे पनि कसैले नसोधेको उहाँले बताउनुभयो । धेरै मजदुरका समस्या उस्तै

कल्पना, मेनुका र सुनिता मात्र होइनन्, उनीहरुसँगै आफ्नो गुनासा सुनाउने सुनसरी-मोरङ औद्योगिक करिडोरमा काम गर्ने धेरै मजदुरका समस्या उस्तै छन् । उद्योगमा काम गर्ने धेरै मजदुरहरु जो कोठा भाडामा लिएर बसेका छन् उनीहरुको घरमा चुलो बल्न समस्या हुन थालेको छ ।धेरै पटक गाउँपालिका तथा वडाबाट राहत दिने भन्दै नाम टिप्न आएको तर राहत नदिएको उनीहरुको गुनासो छ । यसअघि ५ भन्दा बढी पटक नाम टिपेर लगेको भएपनि राहत भने नदिएको बुढीगङ्गा वडा नम्बर ४ मा भाडाको कोठामा बस्दै आउनुभएकी सरस्वती कार्कीले बताउनुभयो ।

राहत पनि पाइएन
बुढीगङ्गा गाउँपालिकाले ६ हजार ३ सय ८३ परिवारलाई राहत वितरण गरेको थियो । तर अझै धेरै छुटेका छन् । बुढीगङ्गा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कासिम मियाँले राहत विरतणको लागि भएको तथ्याङ्क सङ्कलनमा केही छुटेको हुनसक्ने भन्दै फेरि लगत सङ्कलनको काम भइरहेको बताउनुभयो ।चार सय मजदुर आफ्नो वडामा रहेको भन्नुभएका मियाँले कोठा भाडामा लिएर बस्नेहरुलाई राहत वितरण नगरिएको स्वीकार गर्नुभयो । समस्यामा परेका त्यस्ता मजदुरलाई उद्योगले ५० प्रतिशत तलब उपलब्ध गराउने सहमति भएकोले सोहीअनुसारको व्यवस्था गर्नुपर्ने मियाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News