काठमाडौं । विदेशमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मोवाइल एप र वेब एप निर्माण गरेको छ । विभिन्न ४३ देशलाई लक्षित गरेर कांग्रेसको सूचना, सञ्चार तथा प्रसार विभागले एप निर्माण गरेको हो । ती एपहरुको कांग्रेस

सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो ३ बजे ट्विटरमार्फतसार्वजनिक गरे । संकटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोषका साथ रेस्क्यू नेपाली एप र वेब एप सार्वजनिक गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । इजरायल, बेल्जियम, बेलायतलगायत ४३ देश लक्षित गरेर निर्माण गरिएको एपबाट विदेशमा अप्ठ्यारोमा परेका नेपालीको विवरण संकलन गर्ने मुख्य उद्देश्य कांग्रेसको छ ।एपमार्फत संकलित तथ्यांक वर्गीकरण गरेर प्राथमिकताका आधारमा राहत व्यवस्थापन र उद्धारमा सरकारलाई सघाउने तथा दवाब दिने प्रवक्ता शर्माले बताए ।

कसरी प्रयोग गर्ने एप ?
विदेशमा रहेका नेपालीले आफ्नो अवस्थाबारे जानकारी गराउन एप र वेब एप दुवै प्रयोग गर्न सकिन्छ । कांग्रेस प्रवक्ता शर्माका अनुसार, स्वयं व्यक्ति वा तिनका आफन्तले समस्यामा परेका व्यक्तिबारे विवरण भर्न सक्नेछन् । एपमा नाम, हाल रहेको देश, सहर, सम्पर्क नम्बरलगायत विवरण भनुपर्ने छ । देश फर्कन चाहनेले त्यसको कारणलगायत विषय पनि खुलाउनुपर्नेछ ।

यही विवरणका आधारमा तिनलाई उद्धार तथा राहत गरिने कांग्रेसले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) ले महामारीको रुप लिएपछि विदेशमा रहेका नेपाली समस्यामा परेका छन् । खासगरी नेपालसँग सीमा जोडिएको भारतमा नेपाली अलपत्र परेका छन् ।

यद्यपि, तिनको उद्धारमा सरकारले उदासीनता देखाउँदै आएको छ । ती नेपालीबारे निरन्तर चासो राख्दै आइरहेको कांग्रेसले पछिल्लोपटक प्रविधिको प्रयोग गरेर अवस्था बुझ्ने प्रयत्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News