एजेन्सी। भारत-चीन सीमा क्षेत्रमा गस्ती गरिहेको भारतीय सेनालाई चिनियाँ सेनाले नियन्तण लिएको खुलासा भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सीमा क्षेत्रमा भारतीय सैनिक टोलीले घुसपैठ गर्न खोजेपछि चिनियाँ सेनाले भारतीय सैनिकको एउटा टोलीलाई नै नियन्त्रणमा

लिएको हो । इण्डिय टुडेको अनुसार गत बुधबार लद्दाख क्षेत्रमा चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा लिएर हतियारसमेत खोसेको थियाे । उसका अनुसार चिनियाँ सेनाले भारतको ‘इन्डो–तिब्बतीयन बोर्डर पुलिस’ (आइटिबीपी)को एउटा टोलीलाई सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो । नियन्त्रण लिएर केहीबेरमै चिनियाँ सेनाले भारतीय सेनालाई छाडिदिएको इण्डिय टुडेले जनाएको छ । स्रोत उदृत गर्दै इण्डिय टुडे लेख्छ, ‘यो छोटो हिरासतमा राखियो । तिनीहरू छिट्टै रिहा गरियो र हतियार पनि फिर्ता हस्तान्तरण गरियो । पछिल्लो समय भारत र चीनबीच सीमा बारे विवाद बढ्दै गएको पाइन्छ । पछिल्लो समय सीमा क्षेत्रमा भारत र चीन दुवैले सुरक्ष निगरानी बढाएका छन् ।

अघिल्लो शनिबार सिक्किमस्थित चीन र भारतको सीमामा खटिएका दुई देशका सैनिकबीच झडप पनि भएको थियो । उक्त झडपका क्रममा ७ चिनियाँ र ४ भारतीय सैनिक घाइते भएका थिए । भारतीय सेनाले भने लद्दाखमा चिनियाँ सेनाले गस्ती टाेलीलाई पक्राउ गरेको खबरलाई खण्डन गरेकाे छ । भारत सरकारका तर्फबाट यस घटनाबारे केही प्रतिक्रिया जनाइएको छैन ।लद्दाख क्षेत्रमा तीन सातादेखि नै दुई मुलुकका सेनाबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । पटक पटक वार्ता भए पनि अझै समस्या समाधान भएकाे छैन । भारत र चीनबीच पहिलादेखि नै सीमा विवाद हुँदै अाएकाे छ । भारत र चीनबीचमा तीन हजार ४८८ किलोमिटर लामो सीमा जोडिएको छ ।

उक्त सीमाले जम्मु-काश्मीर, हिमाचल प्रदेश, उत्तराखण्ड, सिक्किम र अरुणाचल प्रदेशलाई छुन्छ । दुवै देशबीचको सीमा तीन भाग (सेक्टर) मा बाँडिएको छ । पश्चिमी सेक्टर अर्थात जम्मु-काश्मीर, मिडिल सेक्टर अर्थात हिमाचल प्रदेश र उत्तराखण्ड तथा पूर्वी सेक्टर अर्थात सिक्किम र अरुणाचल प्रदेश । कैयौं क्षेत्रमा विवाद कायमै रहेका कारण भारत र चीनबीच अहिलेसम्म पूर्णतया सीमांकन भएको छैन । भारतले पश्चिमी सेक्टरमा पर्ने अक्साई चीनमाथि आफ्नाे दाबी गर्दै आएको छ । जुन भूभाग अहिले चीनको नियन्त्रणमा छ ।

भारतका साथ १९६२ को युद्धमा चीनले उक्त भूभागमा कब्जा जमाएको थियो । त्यस्तै पूर्वी सेक्टरमा चीनले अरुणाचल प्रदेशमाथि आफ्नो दाबी गर्दै आएको छ । उक्त प्रदेश दक्षिणी तिब्बतको हिस्सा भएको चीनको भनाइ छ । चीनले तिब्बत र अरुणाचल प्रदेशबीचको म्याकमोहन रेखालाई पनि मान्यता दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News