काठमाडौं : आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार दिउँसो १९ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितको संख्या ६ सय ३ पुगेको छ । प्रवक्ता

देवकोटाका अनुसार ४२ जिल्लाका ५ सय २४ पुरुष पुरुष र ७९ महिला गरेर संक्रमितको संख्या ६ सय ३ पुगेको हो । प्रवक्ता देवकोटाका अनुसार शनिबार पर्साको नारायणी अस्पतालबाट डिस्चार्ज भएका ९ जना मध्ये दुई जनामा फेरि संक्रमण देखिएपछि उनीहरु अस्पतालमा भर्ना भएका छन् । अन्य सातजना भने घर गएका छन् । नेपालमा संक्रमितको संख्याले ६ सय नाघ्दा निको हुनेको संख्या ८७ पुगेको छ । अहिले ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा छन् ।

मोरङ बारादशी-३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीको समरिमाई-५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । यस्तै गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष तथा कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । उनीहरु मध्ये तीन जनाको निधन भएको छ भने ८७ जना निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News