‘आफ्नी छोरी नखर्माउली तन्नेरीलाई दोष ।’ थाहा छैन नेपालमा प्रचलित यो उखान भन्दा कुनै जात, समुदाय वा समुहलाई असर गर्छ कि गर्दैन । पछिल्लो समय उखान टुक्का पनि विचार गरेर मात्रै भन्नु पर्ने स्थिति छ । हाम्रा पुराना कुरा वा चलिआएको चलन भन्दै कुनै पनि जात

वा सम्प्रदायलाई होच्याएर भन्न वा लेख्न पाइँदैन । यो कुरा संविधानमै उल्लेख छ । मैले यसकारण लेख्ने हिम्मत गरेँ, यो उखान कुनै जात वा सम्प्रदाय भन्दा माथि छ । यसले व्यक्तिको प्रवृत्ति इंगित गर्छ । जाजरकोट भेरी नगरपालिका रानागाउँका नवराज बिकको स्थानिय गाउँलेद्वारा कुटि कुटि हत्या गरेपछि कतिपय व्यक्तिले घटनालाई अतिरञ्जित गर्ने हेतुले लकडाउनको समयमा नवराज हुलहुज्जतसहित गएकाले गाउँलेले प्रतिकार गरेको भन्दै सामाजिक सञ्जालमा टिका टिप्पणी गरेका छन् । जसले जेसुकै टिप्पणी गरुन् नवराजमाथिको ज्यादती सिंगो नेपाली समाजमाथिको कालो धब्बा हो । यो घटनामा आक्रमणकारीको जति निन्दा गरेपनि कम हुन्छ । २१ औं शताब्दीको यो युगमा जात नमिलेकै बहानामा हत्या गर्न तम्सिनेहरुलाई कुनै पनि बहानामा उन्मुक्ति दिन हुन्न र कसैले कुतर्क गरेर नवराजको हत्या होइन भन्छ भने उसलाई पनि कार्वाहीको दायरामा ल्याउनुपर्छ । नवराज बिकको हत्या नियोजित हो वा आवेगमा । यस्ता विषयमा तर्क गर्नुको कुनै औचित्य छैन । विवेकशील आम मानवका लागि आफैंमा यो लज्जाको विषय हो । कतिपयले यस्तो पनि तर्क गरेका छन्, ‘नवराजकी प्रेमिका सुष्मा सुधा मल्ल उमेरको हिसाबले विवाह योग्य थिइनन् ।’

जात्रा हिँडेकी छोरीलाई हामी त ‘बाउसाप’ भन्दै क्रिम, पाउडर, लिपिष्टिक किन्ने पैसा दिएर पठाए । जब छोरी प्रेममा पागल भई अनि ‘छोरी पट्याएको अभियोगमा नवराजमाथि जाई लागे त्यो पनि जातको कुरा गरेर । छोरीलाई असाध्यै मन परेको नवराज छोरीका बा आमालाई यसकारण मन परेको थिएन । किनकी नवराज ‘ठकुरी’ थिएनन्होला । कानुनले भन्छ ‘बिहेवारी २० वर्ष पारी ।’ छोरी लिन आउनेलाई भएभरका गाउँले जम्मा भएर खेदी खेदी छेकेर मार्नु भनेर कानुनको कुन चाँही दफामा लेखिएको छ ? उमेर नपुगेको कुरा गर्नेहरुले जवाफ दिनुपर्छ । घटना घटिसकेपछि थाहा भयो, सुष्माका बा आमा मात्रै हैन । कतिपय गाउँलेलाई समेत थाहा रहेछ । सुष्मा र नवराजको तीन वर्षअघि प्रेम सुरु भएको । तीन वर्षको बीचमा सुष्मा नवराजको घर जाने र नवराज सुष्माको घर जाने क्रम पटक–पटक भएको रहेछ । अहिले सुष्माको उमेर पुगेन भनेर प्रश्न गर्नेहरुले सुष्माका बा आमालाई प्रश्न गर्ने हिम्मत राख्छन् कि राख्दैनन् । आफ्ना छोरा छोरी कहाँ कुन अवस्थामा के गर्दैछन् भनेर चासो राख्ने दायित्व बाबु आमाको हो कि हैन ?

हरेक बाबु आमाले आफ्ना छोराछोरी कहाँ जान्छन्, के गर्छन् चासो मात्रै राखेर हुन्न । यदि गलत बाटोमा हिँडेका छन् भने सहि बाटोमा हिँड्न प्रेरित गर्नुपर्छ । छोरीले उमेर नपुग्दै प्रेम गरेको भन्ने सुष्माका बा आमाले थाहा पाइसकेपछि छोरीलाई ‘यो प्रेम गर्ने उमेर होइन’ भन्दै सम्झाई बुझाई गर्नु पथ्र्यो । तर, उनीहरुले आफ्नी छोरीको आनीबानी, कमी कमजोरी, इच्छा, चाहनालाई कहिल्यै ख्याल गरेनन् । जात्रा हिँडेकी छोरीलाई हामी त ‘बाउसाप’ भन्दै क्रिम, पाउडर, लिपिष्टिक किन्ने पैसा दिएर पठाए । जब छोरी प्रेममा पागल भई अनि ‘छोरी पट्याएको अभियोगमा नवराजमाथि जाई लागे त्यो पनि जातको कुरा गरेर । छोरीलाई असाध्यै मन परेको नवराज छोरीका बा आमालाई यसकारण मन परेको थिएन । किनकी नवराज ‘ठकुरी’ थिएनन् ।यद्यपि दलित भएकै कारण प्रेम गरेको अभियोगमा कुटाई खाएर मृत्यु हुन बाध्य नवराज पहिलो व्यक्ति होइनन् । यसअघि धेरै युवा युवतीले जातकै कारण कथित माथिल्ला जातका बर्बरता सहन नसकेर मृत्यु झेलिसकेका छन् । रुकुम घटना हुनु भन्दा चार दिन अघि मात्रै रुपन्देहीमा १३ वर्षीय बालिकाको हत्या भयो ।

रुपन्देहीको देबदहवासीहरु मध्ये पनि कतिपयलाई लाग्दो हो ‘नवराजले साथी भाई सहित युवतीको घर जान हुँदैन थ्यो ।’ देवदहबासी तिनै हुन् जसले २५ वर्षे भुस्तीघ्रेलाई बलात्कार गरेबापत १३ वर्षे बालिका जिम्मा लगाए । जनप्रतिनिधी समेत सामेल भएर बलात्कारीलाई बालिका जिम्मा मात्रै लगाएनन् बालिका हत्या गर्ने बिरुद्ध उजुरी नलिन प्रहरीलाई दवाव दिए ।जातका नाममा हुने हत्याका घटना दोहोरिनुमा मान्छेको चेतनाको स्तरको कुरा गरिन्छ । चेतनाको स्तर त कति रहेछ देखिहाल्यो नै । अपराधमा संलग्नलाई राजनीतिक संरक्षण दिने परिपाटीले स्थिति झन् झन् नाजुक हुँदै गएको छ । जब कोही कसैमाथि हिंसा हुन्छ भने पीडित पात्रले सबै भन्दा पहिला प्रहरी प्रशासन गुहार्ने हो तर, पीडकलाई कार्वाही र पीडितलाई न्याय दिने सवालमा हाम्रो प्रशासनिक निकाय यति निकम्मा छ । कुनै घटनाका पीडित प्रहरीकोमा जाहेरी दिन पुगे भने प्रहरीले जाहेरी लिनु अघि पीडक पक्ष कति प्रभावशाली छ भनेर सोधी खोजी गर्छ र यदि पीडक पक्षको कुनै दलको शीर्ष नेतृत्वसंग सम्बन्ध रहेको थाहा पायो भने उजुरी लिनै मान्दैन ।

‘कथित’ तल्लो भएकै कारण अन्य नवराजहरु नमारिउन् भनेर सोच्न ढिला भैसक्यो । यस्ता घटना फेरि फेरि नदोहोरियोस् भन्नका लागि जातको आधारमा कोही कसैमाथी विभेद गर्न पाइन्न भनेर संविधानमा लेखेर मात्रै हुन्न । स्थानिय जनप्रतिनिधी र अधिकार शीर्षकमा एनजिओ÷आइएनजीओ चलाउनेहरुले आफ्नो क्षेत्रमा गएर निर्धक्कसंग भन्न सक्नु पर्छ । जातिय विभेद जघन्य अपराध हो भनेर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News