काठमाडौं : शुक्रबार एकै दिन १७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या१२ सय १२ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म १०६ जना निको

भएका छन् भने कोरोनाका कारण पाँच जनाको मृत्यु भइसकेको छ। शुक्रबार १९ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौंको टेकु अस्पतालबाट २, पाटन अस्पतालबाट ७, बलम्बुको अस्पतालबाट दुई र दाङको कोरोना विशेष अस्पतालबाट आठजना शुक्रबार डिस्चार्ज भएका हुन्। योसँगै कोरोना जित्नेको संख्या २०६ पुगेको छ। मन्त्रालयका अनुसार अहिले ९९ हजार एक सय ३६ जना क्वारेन्टाइनमा छन्। संक्रमणको आशंकामा आइसोलेसनमा राखिएकाको संख्या एक हजार पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६४ हजार एक सय ५४ र आरडीटी विधिबाट एक लाख पाँच हजार चार सय ७८ जनाको नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार दुई सय ३८ र आरडीटी विधिबाट तीन हजार आठ सय ४४ नमुना परीक्षण गरिएको छ।

रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
रौतहटमा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसहित कोरोना संक्रमितको संख्या जिल्लामा १ सय ८१ पुगेको छ । शुक्रबार संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट केहि दिनअघि घर आएका रहेका छन् । शुक्रबार फेला परेका राजपुर नगरपालिकाका ३३ जना, इशनाथ नगरपालिकाका १५ जना, मौलापुर नगरपालिका ६ तथा वौद्धिमाइ नगरपालिकाका २ जना रहेका रौतहटका सिडिओ बासुदेव घिमिरेले जनाएका छन्।

संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको तथा संक्रमितलाई गरुडा नगरपालिकास्थित प्रहरी स्कुलमा रहेको आइसोलेसनमा राख्ने तयारी भइरहेको सिडिओ घिमिरेले बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार शुक्रबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेनटाइनमा ६ हजार ४ सय ३९ जना रहेका छन् । जसमध्ये ६ हजार १ सय ३३ पुरुष र ३ सय ६ महिला छन् । ६ सय १३ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ ।

स्थानीय प्रशासनले क्वारेन्टाइन क्षेत्रमा स्थानीयको आवजावत बढेपछि सो क्षेत्रको २ सय मिटर वरपर निषेधाज्ञा जारी गरेको छ ।यस्तै केही दिनअघि राजपुर र इशनाथ नपामा पनि निषेधाज्ञा जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News