काठमाडौं । अब काठमाडौं जिल्लाको सम्पर्ण शहरी भू-भाग समेटिने गरी तार भूमिगत गरिने भएको छ । हाल दुई वटा मात्रै वितरण केन्द्र अन्तरगतको क्षेत्रमा तार भूमिगत गर्ने काम भइरहेपनि अब काठमाडौंको सबै क्षेत्रमा तार भूमिगत गर्न ठेक्का लगाइँदैछ । नेपाल विद्युत

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले काठमाडौंमा बाँकी ५ वटा वितरण केन्द्रअन्तरगत तार भूमिगत गर्न भारतको एक कम्पनीलाई ठेक्का दिने आशयको सूचना प्रकाशित गरिसकेको छ । सार्वजनिक खरिदको प्रतिस्पर्धामा सबैभन्दा कम रकम कबोल गरेको भारतको एल एन्ड टी कन्स्ट्रक्सनलाई ठेक्का दिन लागिएको हो । यो कम्पनीले काठमाडौंका महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र बाहेकका क्षेत्रमा तार भूमिगत गर्नेछ । कीर्तिपुर, कुलेश्वर, बानेश्वर, बालाजु र जोरपाटी वितरण केन्द्र अन्तरगगतका क्षेत्रमा एलएन्डटीले तार जमिनमुनि बिछ्याउने ठेक्का पाउने निर्देशनालयले जनाएको छ । करिब ५ अर्ब ४० करोडको लागतमा यो काम सम्पन्न हुनेछ ।यो कामका लागि केईआई इन्डिया र टेबा कर्पोरेसनले पनि बोलपत्र हालेको थियो । तर, उनीहरुभन्दा कम कबोल गर्ने एलएन्टीले यो कामको लागि ठेक्का पाउन लागेको हो ।

प्राधिकरणले पहिलो चरण अन्तरगतको दुई किलोमिटर सडक क्षेत्रमा तार बिछ्याउने काम गरिसकेको छ । यसमा तारको लम्बाइका हिसाबले करिब २० किलोमिटर बराबर हो । आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालका अनुसार तीव्र गतिमा काम गर्न नसकिएपनि रोकिएको छैन ।
‘कामदारको अभाव छ, भारतबाट प्राविधि जनशक्ति ल्याउनुपर्ने छ । अहिले दुवैै देशमा लकडाउन भएकाले त्यो सम्भव भएको छैन,’ सिलवालले भने,’यहाँ जे जति स्रोत साधन उपलब्ध छ, त्यसबाट काम गरिररहेका छौं ।’यो परियोजनाको फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । पहिलो चरणको काम सन् २०२१ अक्टोबरसम्म सक्नेगरी भारतको केईआई कम्पनीसँग ठेक्का सम्झौता भएको छ । पहिलो चरणमा तोकिएको क्षेत्रमा तार बिछ्याउन सात अर्ब खर्च गरिँदैछ ।

प्राधिकरणको रत्नपार्क र महाराजगञ्ज विद्युत् वितरण केन्ऽअन्तर्गतका क्षेत्रमा हुन लागेको यो कामलाई पहिलो चरणको आयोजना भनिएको छ । महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, बुढानीलकण्ठ, टोखा, गोंगबु, महाराजगञ्जलगायतका क्षेत्रमा तार भूमिगत गरिँदैछ । रत्नपार्क वितरण केन्द्रअन्तर्गतका रत्नपार्क, न्युरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चाबहिल, जोरपाटी क्षेत्रमा पनि तार जमिनमुनि बिछ्याइनेछ ।आयोजनाअन्तर्गत ११ हजार भोल्टेजको करिब चार सय ५० किलोमिटर र चार सय भोल्टेजको करिब आठ सय किलोमिटर तार भूमिगत गरिनेछ । यसै क्षेत्रमा करिब चार सय ५० किलोमिटर अप्टिकल फाइबर भूमिगत बिछ्याइनेछ । वितरण प्रणालीलाई स्वचालित बनाउन फिल्ड रिमोर्ट टर्मिनल युनिट पनि जोडिँदैछ । त्यसलाई नियन्त्रण गर्न स्युचाटारमा वितरण नियन्त्रण कक्ष पनि बनाइनेछ । यो प्रणाली जडान भएपछि विद्युत् वितरणको काम अझ बढी प्रभावकारी र सुरक्षित हुने अपेक्षा छ ।

तार भूमिगत गर्न र त्यसक्रममा भत्किने सडक पुनर्स्थापना गर्ने प्राधिकरणले सडक विभागसँग समझदारी गरेको छ । यो काम गर्दा सकेसम्म सडक कम भत्काउन आधुनिक ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइएको प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले बताए ।उनकाअनुसार यो प्रविधि अपनाउँदा सय मिटरसम्मको दूरीमा दुई खाल्डा खनेर बीचमा तार राख्ने पाइप हालिन्छ । यसप्रकार तार बिछ्याइने सडकहरुमा कम्तीमा सय मिटरको दूरीमा २-२ लम्बाइ र चौडाइको खाल्डोहरु खन्नुपर्ने हुन्छ । बीचमा लाइनहरु निकाल्न पनि स-साना खाल्डा खन्नुपर्छ । एक भागबाट मेसिनले पाइप घचेट्दै २०० मिटर पर निकाल्छ । तारलाई पनि त्यसैगरी पाइपभित्र तानिन्छ ।

सडकमा तार बिछ्याउनुअघि गरिने जीपीएस एक्स-रेले जमिनभित्र पानीका पाइप, ढल, टेलिफोनका तार भएरनभएको देखाउँछ । र, त्यसमा क्षति नपुग्ने गरी तार बिछ्याइन्छ । घुमाउरो भाग र मोडहरुमा भने सडक खन्नुपर्नेछ । यो परियोजना अन्तर्गत तार बिछ्याएर विजुलीका पोलहरु हटाइनेछ । प्राधिकरणले अहिले नै इन्टरनेट सेवा प्रदायकका लागि ठूलो क्षमताको अप्टिकल फाइबर पनि सडकमुनि बिछ्याइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News