काठमाडौं : बुधबार दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सरेको छ। प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल लम्बिएपछि मन्त्रिपरिषद् बैठक साँझ ५ बजेका लागि सरेको एक मन्त्रीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। आजको मन्त्रिपरिषद बैठकमा

लकडाउनको मोडालिटीका विषयमा तयार भएको प्रस्तावमाथि छलफल हुने ति मन्त्रीको भनाइ छ। केहीबेरअघि प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री केपी ओली स्वयम्ले लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा निर्णय हुने जानकारी दिएका थिए। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण र रोकथामा लागि २०७६ चैत ११ देखि सुरु भएको लकडाउन जेठ ३२ सम्म लम्बिएको छ। लकडाउन लम्बिदै जाँदा विभिन्न क्षेत्रका व्यवसायीले विरोध सुरु गरेपछि सरकारले मोडालिटीमाथि तयार भएका विभिन्न प्रस्तावमा छलफल सुरु गरेको हो। कतिपय ठाउँमा व्यवसायिले लकडाउन उलंघन नै गर्न थालेका छन्। कोरोनाका कारण सिर्जना भएको असहज अवस्थालाई कसरी सहज बनाउने भन्ने विषयमा सरकार गम्भीर रहेको र यस विषयमा मन्त्रिपरिषद्ले चाँडै निर्णय गर्ने प्रधानमन्त्रीले प्रष्ट पारिसकेका छन्।

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले तयार पारेका लकडाउन मोडालिटीका विभिन्न चरणमाथि मन्त्रिपरिषद्ले छलफल गर्न लागेको हो। विभिन्न चरणमा लकडाउनलाई खुकुलो पार्न सकिने प्रस्ताव उच्चस्तरीय समिति र सीसीएमसीले प्रधानमन्त्री समक्ष पुर्याएको ति मन्त्रीको भनाइ छ। सरकारले असार १ गतेदेखि निजी क्षेत्रलाई सुरक्षित ढंगले सञ्चालन गर्न दिने र कृषि क्षेत्रलाई खुला गर्ने तयारी गरेको छ। सँगै आन्तरिक उडानलाई सुरक्षित ढंगले खोल्ने र निश्चित प्रतिशत यात्रु राखेर मात्र सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्नुपर्ने प्रस्ताव नयाँ मोडालिटीमा उल्लेख छ।

सकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ र त्यसपछि जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो।

त्यसपछि सरकारले एकै पटक १५ दिन लकडाउन थपेर जेठ २० गतेसम्म लम्बाएको थियो। कोरोना संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन उच्च स्तरीय समितिले सिफारिस गरे अनुसार सरकारले अन्तिम पटक जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News