काठमाडौं । पेसाले चिकित्सक हुन्, अस्मिता अर्याल । दिनभर बिरामीको सेवामा तल्लीन रहन्छिन् उनी । जब राति घर पुग्छिन् । दिउँसो देखेको बिरामीको पीडा र अवस्थाले उनको मन उथल पुथल बनाउँछ । अनि त्यसलाई काव्यमा उतार्छिन । कविता तथा गजल सिर्जनापछि

तब उनको मन हलुका हुन्छ ।हो, नर्भिक इन्टरनेसनल अस्पताल काठमाडौंकी मेडिकल अफिसर डा. अस्मिता अर्यालको अर्को परिचय कवि हो । उमरेले अढाइ दशक पुग्दै गरेकी उनी समकालीन समस्यालाई कवितामा उन्न खप्पिस छिन् । कवितासंग्रह ‘मनको तिरैतिर’मार्फत उनले नेपाली काव्य वृत्तमा आफूलाई कविका रूपमा स्थापित गरिसकेकी छन् । दुई वर्षअघि बजारमा आएको उनको यो काव्य कृतिमा ५१ वटा कविता र १ सय १५ वटा हाइकु संगृहीत छन् । निकै चोटिला हाइकु लेख्न सिपालु अस्मिताका कवितामा सामाजिक अचेतनाको चिरफारसँग परिवर्तनका मार्गहरू सम्प्रेषित भएको देख्न पाइन्छ ।कवि अस्मिताको भनाइमा उनको काव्य सिर्जनाकी प्रेरणा आमा मायाँदेबी अर्याल हुन् । आफ्ना बुबा हाल काठमाडौं महानगरपालिकाका प्रशासकीय प्रमुख एकनारायण अर्यालसँगै आमाको प्रेरणाले उनलाई काव्यमा अघि बढाएको हो । स्कुले जीवनमा उनले लेखेका कविताहरू आमाले चाख मानेर सुनिदिने गरेपछि उनलाई लेख्न जाँगर चल्थ्यो । अझ ती कवितालाई परिमार्जत गरेर पाठकसम्म पु-याउने सारथि आमा नै थिइन् ।

यसै प्रसंगमा आस्मिताले भनिन्, ‘आफूले पनि लेखिरहने भएकाले ममीले नै कविता लेखनमा मलाई प्रेरणा दिनुभएको हो । पहिला उहाँले मेरा कविताहरूलाई राम्रो बनाउन सघाउनुहुन्थ्यो भने आजकल उहाँले आफ्ना कविताहरू मलाई करेक्सन गर्न दिनुहुन्छ ।’स्याङ्जाको पुतलीबजारकी अस्मिताले काठमाडौंको भीएस निकेतन स्कुलबाट आफ्नो विद्यालय स्तरको पढाइ पूरा गरेकी हुन् । स्कुलमा हुने साहित्यिक कार्यक्रममा उनी प्रायः अब्बल ठहरिने गरेकी थिइन् । सेन्टजेभियर्स कलेज पढाइका क्रममा त उनी कलेजस्तरीय कविता प्रतियोगितामा उत्कृष्ट नै भइन्, ‘यसरी स्कुलदेखि कलेज यात्रासम्म मैले काव्य सिर्जनालाई निरन्तर अघि बढाएँ । अहिले त आफ्ना कैयौं कुरा बिर्साउने माध्यम नै कविता, गजल, हाइकु भएको छ,’ अस्मिताले भनिन् ।यी कविलाई सामाजिक विकृति, विसंगति, नारी संवेग र आवेगलाई कवितामा उतार्न विशेष मनपर्छ । सामाजिक कुरीति, महिलामाथि हुने हिंसा, लैंगिक हिंसालाई उनी कवितामा कुँदने गर्छिन् ।‘मुड न हो, कहिलेकाहीँ मन रोमाञ्चत हुन्छ अनि प्रेमभावलाई रोमाञ्चक रूपमा कवितामा उतारिदिन्छु,’ कवि अस्मिताले हाँस्दै भनिन्, ‘मेरो कव्या सिर्जनाको समय भनेकै अस्पतालबाट फर्केपछि घरमा आराम गर्दा तथा सुत्नुअघिको समय हो । करिब तीन महिनायता जारी लकडाउनले त काव्य सिर्जनामा प्रशस्त अवसर मिलेको छ ।’

महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि भूपि शेरचनलगायतका कविता रुचाउने उनले समकालीन कविता पढ्न त्यति नभ्याएको बताइन् । बरु उनले नेपाली उपन्यासहरू नियाल्दै फुर्सद बिताउने गरेकी छन् । लकडाउनमै फिरफिरे, राधा, सायाजस्ता उपन्यास आफूले पढ्ेको पनि उनले बताइन्, ‘उपन्यासमा प्रयोग हुने ठेट भाषा र प्रस्तुतीकरणले कविता सिर्जनामा शब्द चयन र त्यसको संयोजनमा मलाई निकै सहजता मिल्ने गरेको छ,’ अस्मिताले भनिन् । त्यसो त उनले उपन्यास लेखनमा कलम चलाउन थालेकी छन् । आफ्नो नयाँ उपन्यास अर्को वर्षसम्म ल्याउने उनको लक्ष्य छ ।यसपटकको लकडाउनमा करिब तीन दर्जन कविता सिर्जना गरेकी यी कवि अबको केही महिनामा अर्को कवितासंग्रह ल्याउने पक्षमा छिन् । आफूलाई डाक्टर भनेर सम्बोधन गर्दा जुन आनन्द मिल्छ । कवि भनेर कसैले सम्बोधन गर्दा त्यत्तिकै आनन्द महसुस हुने गरेको पनि अस्मिताले बताइन् । उनलाई गजल लेख्नमा पनि त्यत्तिकै जाँगर चल्छ । पाँच दर्जन गजल सिर्जना गरिसकेकी यी डाक्टरको एउटा गजलसंग्रह पनि निकाल्ने सोच छ ।

आजकल त सहकर्मीदेखि स्रष्टादेखि पाठकसम्मले उनलाई नयाँ सिर्जनाबारे चासो राख्ने गरेका छन् । यस्ता चासोले उनलाई लेखनमा ऊर्जा मिल्ने गरेको छ । त्यसैले, बिरामीलाई दिएर बचेको समय उनी काव्य सिर्जनामा तल्लीन हुने गरेकी हुन् । बिरामीको सेवा र काव्य सिर्जनालाई सँगै अघि बढाउने अबको लक्ष्य रहेको डाक्टर अस्मिता अर्यालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News