काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले समय मागेपछि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले नेपाली नागरिकसंग विवाह गर्ने विदेशी महिलालाई दिने नागरिकताको समयावधिसम्बन्धी प्रस्तावको निर्णय हाललाई टाढिएको छ । समितिमा मंगलबार नेपाली नागरिकसँग विवाह गर्ने

विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेश भएको थियो । बुधबारको बैठकमा गृहमन्त्री थापाले समय मागेपछि समितिले उक्त नागरिकता विधेयकबारे सहमति जुटाउन सरकारलाई ५ दिनको समय दिएको छ । यस विषयमा राजनीतिक तहमा सहमति जुटाउनुपर्ने भन्दै गृहमन्त्री रामबहादुर थापाले समय माग्नुभएको थियो । सोही क्रममा समिति सभापति शशी श्रेष्ठले सहमति जुटाउनका लागि भन्दै ५ दिनको समय दिनुभएको हो ।

मंगलबार मात्रै नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्तावमा पेश भएको थियो ।यस प्रस्तावलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समर्थन गरेपनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने यसको विरोध गरेको छ ।

बुधबारको समिति बैठकमा गृहमन्त्री थापाले सरकारसँग पनि यस विषयमा कुरा आएको बताउनुभएको छ । सरकारबाट र राजनीतिक तहबाट पनि यसलाई सहमतिमा नै टुंग्याउन जरुरी रहेको उहाँको भनाइ छ ।सरकार र राजनीतिक तहमा पनि छलफल गर्नुपर्ने भएकाले समितिमा थप छलफल गर्न नहुने गृहमन्त्री थापाको भनाइ थियो ।

यसैबीच मंगलबारको समिति बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद दिलेन्द्र बडूले अंगीकृत नागरिकताको अहिलेको व्यवस्था नै सही भएको भन्ने पार्टीको निर्णय सुनाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News