ललितपुर । ‘मजाले हिलोमा छुपुछुपु खेल्दै र धान रोप्दै अनि दही चिउरा खादै हामी असार १५ मा रमाइलो गथ्यौं’, गोदावरी नगरपालिका बडिखेलकी ७१ वर्षीय लक्ष्मी आचार्यले पुराना दिनहरु संझदै भनिन्, खेतको आलीमा सबैजना बस्थ्यौँ , घरबाट ल्याइएको दही र

चिउरालाई नाग नागिनी र देवतालाई चढाएर खाने गरिन्थ्यो । असार १५ गते धान रोपेर थकित भएपछि खेतको डिलमा बसी आलुको अचारसँगै दही चिउरा खाएर लय हालेर असारे गीत गाउँदाको रौनक कम्ती रमाइलो हुदैनथ्यो, लुभुकी तारा भण्डारीले सुनाइन्, कति रमाइलो हुुन्थ्यो, हामी रोपाइमा जाँदा पनि चिटीक्क परेर जान्थ्यौँ । लेलेका गोविन्द खुलाललाई असार १५ गते बाउसे गर्न जाँदाको क्षण ताजै छ । हिलोमा चलेर आउँदा लोद फर्किन्थ्यौ , तर दही चिउरा खाएपछि र अरुले रमाइलो गरेको देखेपछि पीडा र थकान भुल्थ्यौँ । उनीहरुको जस्तै असार १५ गतेकोे अनुभव धेरैको छ । सोमबार असार १५ गते दहि चिउरा खादै रोपाई गरेर धान दिवस पनि मनाइदैछ । कृषि प्रधान देश नेपालमा हरेक वर्षको असार १५ गते दही चिउरा खाने चलन छ । उनिहरु दिनभर हिलोमा रोपाइँ गरि आफ्ना दुख पीडा भुलेर रमाइलो गर्दै दही चिउरा खाने गर्छन् । वर्षका विभिन्न महिनामा एक विशेष परिकार खाने चलन रहदै आएको छ । साउन १५ मा खिर खाने, मंसिर १५ मा न्वागी खाने, पुस १५ मा घिउ खट्टे खाने तथा माघ १५ मा घितन पुवा खाने चलन छ । धार्मीक मान्यता नभए पनि पहिलेदेखी नै चलि आएको चलनका रुपमा यो खाने गरिन्छ ।

रोपाइ गर्ने समयमा खाइने चिउरा पनि धानबाटै बन्ने हुनाले यसको बेग्लै महत्व छ , आचार्यले थपिन् । तैपनी स्वास्थ्यका दृष्टिकोणले दही चिउरा खानुलाई महत्वपुर्ण मानिएको छ । पानीसहितको हिलोमा काम गर्दा चिसो लाग्ने हुनाले यसलाई कम गर्न दही महत्वपुर्ण हुने जानकारहरु बताउछन् । ‘वर्षायाम भएकाले पानीमा काम गर्दा शरिर भिजेर ढाडिन्छ, जसले गर्दा पखाला समेत लाग्न सक्छ, स्वास्थ्य क्षेत्रमा समेत काम गरिसकेका कृषक नमराज उपाध्यायले भने , जसका लागि दहि फाइदाजनक हुन्छ । आलुको अचार च्वास्स लगाउदै घर परिवारका सदस्य भेला भएर दही चिउरा खाँदाको मजा बेग्लै छ, भक्तपुरका रमेश हाडा बाल्यकाल सम्झदा दंग पर्छन् ।

‘हामी स्कुल जानै छाडेर दही चिउरा खान घर बस्ने गथ्र्यौ , साथीभाइविच पनि यो विषयमा छलफल हुन्थ्यो । कही दिउसो दही चिउरा खाइन्छ भने कतै बेलुकी खाने चलन छ । हामी घरका सदस्य भेला भएर दही चिउरा खान्थ्यौँ , गुल्मिका किरण अधिकारीले भने । पहिले पहिले घरमै जमाएको दही खाने गरिन्थ्यो भने अहिले किनेरै भएपनि दही चिउरा खाने चलन बढेको छ । मानो रोपेर मुरी फलाउने मौकाका रुपमा रोपाइलाई लिने गरिन्छ । असार १५ विशेषगरी कृषिसँग जोडिएपनि अहिले शहरी परिवेशमा पनि असार १५ गते खाने परिकार फैलिदै गएको छ ।

दहि चिउरा खाने दिन वजार पसलमा दही र चिउरा किन्नेको भिड नै दे्खीने गरिएको छ । धान रोपाईसँग दही चिउराको सम्बन्ध रहेर पनि अहिले फेसनका रुपमा मात्र दही चिउरा खाने चलन बढ्दै गएको छ । कतिले दही चिउरा खाँदै सेल्फी लिने , सामाजिक संजालमा दही चिउरा खाएको फोटो हाल्ने चलन पनि बढ्दै गएको छ ।

केही वर्षयता धान दिवसमा रुपमा मनाउँदै आएको असार १५ को संस्कृति नेपालीहरूको मौलिक दिवसमा रुपमा विकसित हुँदै संस्कृतिविद् विणा पौडेल बताउँछिन् । ‘१५ असारको संस्कृति नेपालमा प्राचीन समयदेखि मनाउँदै आएको हो, उनले भनिन्, धान रोपाइँले उत्कर्ष पाउने समयमा असारे गीत गाएर मनोरञ्जनका साथ रोपाइँ जात्रा गर्ने, दहीच्युरा खाने यहाँको छुट्टै विशिष्टता हो’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News