विराटनगर : सरकारी हेलचेक्राइका कारण कोरोना भाइरसको संक्रमणबाट आफ्ना बुवाले ज्यान गुमाउनु परेको भन्दै किरियामा बसेकी छोरीले उच्च अदालत विराटनगरमा रिट दायर गरेकी छन्। उपचारका क्रममा साउन २८ गते कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा

मृत्यु भएका विराटनगर महानगरपालिका-३ का ५७ वर्षीय सीताराम दाहालकी छोरी २२ वर्षीया निलिमा दाहालले रिट दायर गरेका हुन्। संक्रमण पुष्टि भएपछि साउन २६ मा उपचारका लागि अस्पताल भर्ना भएका सीताराम विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक हुन्। निलिमाले संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा हेलेचेक्राइ र लापरवाही गरेको भन्दै प्रदेश १ सरकार, महानगरपालिका र उपचारमा संलग्न कोशी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसमेत आठा सरकारी निकायलाई विपक्षी बनाएर परमादेशको माग गर्दै रिट दायर गरेकी हुन्। बाबुको ककिरियामा बसिरहेकी निलिमाले विराटनगर-१५ का ललन मण्डल वारेसमार्फत बुधबार रिट दर्ता गरेकी हुन्। सीतारामको मृत्यु भेन्टिलेटर, आईसीयू र अक्सिजनको अभावमा भएको उपचारमा संलग्न चिकित्सकले बताएका थिए। थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन खोजिएको थियो। बेड खाली नभएको भन्दै प्रतिष्ठानले अस्वीकार गर्दा उनको मृत्यु भएको जनाइएको छ।

रिट निवेदक निलिमाले नेपालको संविधानको धारा ४६ र १४४ मुलुकी देवानी संहिता २०७४ को दफा २० र मुलुकी देवानी संहितको दफा १९ अनुसार व्यक्तिगत र सार्वजनिक स्वास्थ्य उपचारको अधिकार प्राप्त हुनुपर्ने माग दाबी गरेकी छन्। रिट निवेदन उपर अन्तिम टुंगो नलागेसम्म ज्वरो आएका र श्वासप्रश्वासका बिरामीलाई तुरुन्त अस्पतालमा उपचार गर्न पाउने प्रबन्ध मिलाउन पनि उनले माग गरेकी छन्। ३० वर्षदेखि प्राधिकरण विराटनगर शाखामा कार्यरत दाहाल लकडाउनको समयमा निरन्तर विद्युत विस्तार र मर्मतमा फ्रन्टलाइनमा खटिएका थिए। त्यही क्रममा उनलाई संक्रमण भएको थियो। २६ साउनमा अस्पताल भर्ना भएका उनको २८ साउनमा आईसीयू, भेन्टिलेटर र अक्सिजन नहुँदा ज्यान गएको थियो।

सरकारलाई उपस्थित हुन आदेश
रिट निवेदनको पहिलो सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले कोरोना संक्रमण नियन्त्रणको कार्य प्रगतिसहित छलफलका लागि उपस्थित हुन प्रदेश र स्थानीय सरकारका नाममा बिहीबार आदेश जारी गरेको छ। अदालतले प्रदेश १ को सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका सहितका विपक्षीलाई छलफलका लागि बोलाएको हो। प्राकृतिक न्यायको सिद्धान्त अनुसार दुवै पक्षको कुरा सुन्नका लागि मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासबाट विपक्षीलाई भदौ ८ गते उपस्थित हुन आदेश भएको उच्च अदालत विराटनगरका रजिस्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिए।

कोरोना संक्रमण रोकथाम नियन्त्रण गर्न तत्काल प्रभावकारी काम कार्यान्वयनको माग गर्दै परेको रिट निवेदनमाथि भएको सुनुवाइमा कानुन व्यवसायी दुर्गाप्रसाद पोखरेल, प्रमोदराज आचार्य, हरिकुमार मण्डल ,मधुसुदन चौधरी, किशोरकुमार माझी, जनकबहादुर पुरी र राजकुमार राजवंशीले बहस गरेका थिए। अदालतबाट जारी आदेशमा निवेदकको निवेदन बमोजिम के भएको हो र माग बमोजिम आादेश जारी गर्नु पर्ने हो होइन भन्ने विषयका कारण खुलाई प्रदेश सरकारका तर्फबाट मुख्य न्यायाधीवक्ताको कार्यालयमार्फत र अन्यको हकमा आफ्नो कानुनी प्रतिनिधिमार्फत जवाफ पेश गर्न भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News