काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ। केन्द्रीय सङ्घर्ष समितिले सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ। स्थानीय रत्नपार्कमा

शुक्रबार हुने विरोधसभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाका जनसमुदायको सहभागिता हुने नेकपाले जनाएको छ। विरोधसभा सुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गर्ने बताइएको छ।

सभालाई नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने जनाइएको छ। यही माघ ३ गते बसेको सङ्घर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि माघ ९ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो। बैठकले विरोध प्रदर्शनमा व्यापक जनसहभागितासहित ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसङ्गठन तथा जनसमुदायमा अपील गरेको थियो।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी परेको रिटमाथि बिहीबारको बहस जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा रिटमाथिको बहस सुरु भएको हो।बिहीबार अधिवक्ता ओमप्रकाश अर्यालले बहस सुरु गरेका छन् । बुधबार वरिष्ठ अधिवक्ताहरु चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारीलगायत ६ जनाले संसद पुनर्स्थापना हुनुपर्ने पक्षमा बहस गरेका थिए।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दर्ता भएका दर्जन बढी रिटमाथि गत आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको हो । यही पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेका थिए। संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट परेका छन् भने रिट निवेदकका तर्फबाट ३१० जनाले अधिवक्ताले नाम दर्ता गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News