जोमसोम : प्रतिनिधिसभा विघटनसँगै सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको छ ।आगामी बैशाखा १७ र २७ गते हुने संघीय निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय मुस्ताङले प्रारम्भिक निर्वाचनको तयारी अघि बढाएको जनाएको छ । संसद विघटन मुद्धा सर्वोच्च अदालतमा

विचाराधीन अवस्थामा रहँदै गर्दा निर्वाचन आयोगले मुलुकभर निर्वाचनको तयारी थालेको हो । जसअनुसार आयोगको निर्देशनमा जिल्ला निर्वाचन कार्यालय मुस्ताङले मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन र मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । यही माघ ४ गते प्रजिअ हिरादेवी पौडेलको संयोजकत्वमा बसेको मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकमा प्रदेश सांसद माननीय महेन्द्र बहादर थकाली, राजनीतिक दलका प्रतिनिधि,सुरक्षा निकायका प्रमुख, गाँउपालिकाका अध्यक्षहरुको उपस्थिति रहेको थियो । बैठकले स्थानीय तहबाट प्रस्ताव भए अनुसारका मतदानस्थल तथा मतदानकेन्द्रको स्थलगत निरीक्षण गरी आगामी माघ १२ गते बस्ने मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकमा छलफल गरी अन्तिम रुप दिइ निर्वाचन आयोगमा सिफारीस गर्ने जिल्ला निर्वाचन अधिकारी सुशिला पौडेल दाहालले जानकारी दिइन् ।

यसैगरी मतदाता नामावली अध्यावधिक गर्ने कार्यका लागि जिल्ला निर्वाचन अधिकारीलाई प्रमुख नाम दर्ता अधिकारी एवं स्थानीय तहमा १ जना सहायक नाम दर्ता अधिकारी तोकी माघ १५ गतेदेखि जिल्ला निर्वाचन कार्यालय एवं स्थानीय तहमा कार्यालय स्थापना गरी २१ गतेसम्म मतदाता नामावलीमा त्रुटी भएमा सच्याउने ,नागरिकता त्याग गर्ने व्यक्तिको नाम हटाउने, दोहोरो नाम रहेको सूचि हटाउन निवेदन दिनसक्ने र मृत्यु भइसकेको मतदाता नामावलीबाट नाम हटाउने कार्य गरी जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगमा पठाइने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समिर थापाले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालयकी निर्वाचन अधिकारीले निर्वाचन सम्बन्धि यसप्रकारको कार्यक्रम आयोगको नियमित कार्यक्रम भएपनि सरकारबाट मध्यावधि निर्वाचनको घोषण भईसकेकाले यसलाई लक्षित गरी आसन्न निर्वाचनको प्रारम्भिक कार्यक्रम अघि बढेको बताइन् ।

दोश्रो संविधानसभापछि २०७४ सालमा भएको संघ तथा प्रदेश सभाको निर्वाचनमा मुस्ताङमा ३७ मतदान केन्द्र तोकिएको थियो । जसमा ९ हजार ४ सय २७ जना मतदाता रहेका थिए । यस्तै ३७ मतदान केन्द्रमा १ सय ८५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News