प्रधानमन्त्री केपी शर्मा ओली र दुई वर्ष भूमिगत रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’शुक्रबार दिउँसो राष्ट्रिय सभा गृहमा सँगसँगै झुल्किए। सरकार र विप्लवको नेकपाबीच भएको तीन बुँदे सहमति मा हस्ताक्षर गर्न दिउँसो दुई बजे कार्यक्रम राखिए को थियो

तर आजै नवलपुरबाट आएका विप्लव प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएकाले कार्यक्रम ढिलो गरी सुरू भएको थियो। बालुवाटारमा भलाकुसारी गरेर ओली र विप्लव सँगै राष्ट्रिय सभा गृहमा आएका थिए। मञ्चमा पुग्नेबित्तिकै प्रधानमन्त्री ओलीले विप्लवको हात समातेर उठाए। त्यहीबेला दर्शकदीर्घातर्फ हेर्दै विप्लवले लालसलाम गरे। त्यसपछि दुबै जना मञ्चमा राखिएका सोफामा बसे। मञ्चमा एकातर्फ प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपा नेता सुवासचन्द्र नेम्वाङ र राजन भट्टराई थिए।अर्कातर्फ महासचिव विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, उदय चलाउने ‘दीपक’ बसेका थिए। कार्यक्रम भट्टराईले सुरू गरे। उनले १०/११ महिनादेखि प्रत्यक्ष/अप्रत्यक्ष संवादबाट वार्ता सफल भएको बताए। यसपछि हस्ताक्षर समारोह चल्यो। वार्ता टोलीबाट गृहमन्त्री बादल र विप्लव समूहबाट प्रवक्ता ‘प्रकाण्ड’ले हस्ताक्षर गरे। प्रकाण्डले हस्ताक्षर पत्रको एकप्रति विप्लवलाई बुझाए।

त्यसपछि सम्बोधनको क्रम सुरू भयो। प्रधानमन्त्रीभन्दा पहिला विप्लवको पालो आयो। यो राजनीतिक व्यवस्था नै ठिक छैन भनेर हिंसात्मक आन्दोलन गरेका विप्लवले के भन्छन् भन्नेमा धेरैको चासो थियो।उनले वार्ता टोलीलाई धन्यवाद दिएर भाषण थालनी गरे। नेपाली युवामा समृद्ध जीवन बनाउने चाहना रहेको र त्यो पूरा गर्न आफू शान्तिपूर्ण राजनीतिमा आएको उनको भनाइ थियो।उनले नवलपुरमा आज बिहान सहिदकी आमाले टीका लगाई दिँदै भनेका कुरा पनि सुनाए। ‘एउटा गाउँमा सहिदकी आमाले टीका लगाइदिनुभयो। आजसम्म धेरैका इच्छा पूरा भए तर सहिदका चाहना पूरा भएका छैनन्, यो सम्झेर हस्ताक्षर गर्नू भन्ने उहाँको भनाइ थियो,’ विप्लवले प्रधानमन्त्री ओलीतर्फ हेर्दै भने।करिब २० मिनेट लामो भाषणका क्रममा विप्लवले शान्तिपूर्ण गतिविधि गर्ने प्रतिवद्धता जनाए। ‘कम्युनिष्ट विद्रोहका मात्रै योद्धा होइनन् शान्तिका दूत पनि हुन्,’ उनले भने, ‘सहमति पालना गर्छौं। आशंका र उत्तेजनामूलक कुतर्क गर्न जरूरी छैन।’

यसबीचमा उनले गीत पनि सम्झिए।
‘यो कस्तो प्रेम भयो जून र घामको . . कहिल्यै भेट नहुने’ कर्णालीतिर यस्तो गीत गाइन्छ भन्दै उनले केही शब्द खर्चिए। गीतले त्यस्तो भने पनि सरकार र आफूहरू सहमतिमा पुग्नु घाम र जूनको भेट भएजस्तै भएको उनको भनाइ थियो।उनले जनताले फैसला गर्ने कुरामा आफूहरूलाई विश्वास रहेको भन्दै चुनावको संकेत पनि गरे। यसपछि बोलेका प्रधानमन्त्री ओलीले विप्लवलाई नेकपाका महासचिव भनेर सम्बोधन गरे। प्रधानमन्त्री ओलीको पार्टीको नाम पनि नेकपा नै छ। ओलीले विप्लवलाई नेकपा महाचिव भनेर सम्बोधन गर्दा दर्शक भने हाँसे। त्यसपछि ओलीले धर्मेन्द्र बाँस्तोला भर्खर जेलबाट छुटेर आएको भन्दै जिस्काए। काभ्रे जेलबाट आजै छुटेर बाँस्तोला कार्यक्रममा आइपुगेका थिए।

‘यति छोटो जेल बस्न पाए पो हुन्थ्यो र’ धर्मेन्द्रतिर हेर्दै प्रधानमन्त्री ओलीले भने। ओलीले आफू १४ वर्ष जेल बसेको बताउँदै आएका छन्। शान्तिपूर्ण बाटोमा आएकोले शान्तिको प्यारामिटर उचाइमा पुगेको भन्दै प्रधानमन्त्रीले विप्लवलाई धन्यवाद दिए।‘विप्लवले एक कदमले जनताको मन जित्नुभयो। यो सेफ ल्यान्डिङ हो,’ प्रधानमन्त्री ओलीले भने। त्यसपछि ओलीले २०३० सालमा आफू रहेको पार्टी पनि शान्तिपूर्ण बाटोमा आएको स्मरण गरे। उनले खुला राजनीतिमा प्रवेश गरेको भन्दै विप्लवलाई यति भनेर टुंग्याए- यस राजनीतिमा पनि उहाँलाई पौडी खेल्न आउँछ भन्ने मलाई विश्वास छ। सफलता प्राप्त होस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News