हिमाञ्चल (परिवर्तित नाम)ले गाउँमा भएका आफ्ना दाइ, भाइ, दिदीबहिनी र साथी भाइ को समेत नागरिकताका फोटोकपी ल्याए। उनीहरूका नामबाट डिम्याट खाता र ब्रोकर खाता खोले। नागरिकताका फोटो कपी पुरुषका भएमा स्वयम् आफू नै भएको आश्वासन दिए। महिला भएको

खण्डमा श्रीमतीलाई लगेर स्वयम् व्यक्ति भनी आश्वासन दिए। यसरी डिम्याट खाता खोल्नुको उद्देश्य थियो- सबैका नाममा आइपिओ भर्ने र दोस्रो बजारमा बेचेर आएको नाफा आफूले लिने। हिमाञ्चलजस्ता धेरै व्यक्ति अहिले आइपिओको खेती गरिरहेका छन्। एक व्यक्तिले नै ५०-६० जना व्यक्तिको नाममा आइपिओ भर्ने गरेका छन्। आइपिओ भर्नका लागि डिम्याट खाता अनिवार्य चाहिन्छ। घरमै बसेर अनलाइनबाट आइपिओमा आवेदन दिन पाइन्छ। सिडिएस एण्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यले अरूले नै आफ्नो नाममा डिम्याट खाता खोलेर आइपिओ भरिदिने गरेका गुनासाहरु प्रशस्त आएको बताए।
‘यस्ता गुनासा हजारको संख्यामा छन्, खासगरी आफ्नै नातेदारले डिम्याट खाता खोलिदिएर दुरुपयोग गरेको पाइन्छ, मुद्दा मामिलामा जाँदैनन्। त्यसकारण कारबाही गर्न पनि मिल्दैन,’ आचार्यले सेतोपाटीसँग भने। पीडित पक्षले मुद्दा दायर गरेर कानुनी प्रक्रियामा जाने हो भने अरूको नाममा डिम्याट खाता चलाउने व्यक्तिलाई बैंकिङ कसुरमा कारबाही हुन्छ। डिम्याट खाता खोलिदिने संस्था (डिपी)लाई स्वंय व्यक्ति नै उपस्थित भएपछि मात्रै खाता खोलिदिन यसअघि निर्देशन दिइएको आचार्यले बताए।

सिडिएससीको निर्देशनपछि हाल धेरै डिपीले स्वंय व्यक्तिको उपस्थितिमा मात्रै डिम्याट खाता खोलिदिन थालेका छन्। तर नागरिकताको फोटोकपी लिएर खाता खोल्नका लागि आएको व्यक्ति एउटै हो वा होइन भनेर छुट्याउन सक्ने क्षमता डिपीसँग छैन। प्रत्येक वर्ष डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ। नवीकरणका लागि त झन् आफैं उपस्थित हुनुपर्ने बाध्यता पनि छैन, अझ अनलाइनबाटै शुल्क भुक्तानी गरी नवीकरण गर्न पाइने व्यवस्था छ। पछिल्लो समय आइपिओको खेती गर्नेहरू केही हच्किएका छन्। हाल डिम्याट खाता खोल्नेको संख्या ३० लाख ४१ हजार छ, तर आइपिओ भर्नेको संख्या भने १५ लाख हाराहारीमा मात्रै छ। यसको अर्थ पहिले नै खोलिएका धेरै डिम्याट खाता अहिले निष्क्रिय भइसके। एक व्यक्तिले दुईभन्दा बढी यस्तो खाता खोल्न नपाइने व्यवस्था छ। करिब १ लाख ७० हजारले मात्रै दुई वटा खाता खोलेको सिडिएससीको तथ्यांक छ।

आइपिओको खेती गर्नेहरू अझै पनि प्रशस्त रहेको उदाहरण सिडिएससीमा परेका उजुरीले नै देखाउँछ। अब यसरी अरूको नाममा डिम्याट खाता खोलेर आइपिओ खेती गर्न नसक्ने गरी सिडिएससीले काम गरिरहेको सिइओ आचार्यले बताए। अब डिम्याट खाता खोल्दा डिपीले आफ्ना ग्राहकको विवरण भर्नका लागि छुट्टै सफ्टवेर विकास गरिँदैछ।‘सफ्टवेयर विकासका लागि आवश्यक स्पेसिफिकेसन तयार गरेर बिडिङ प्रक्रियामा जाँदैछौँ’ आचार्यले भने। स्पेसिफिकेसन तयार भएपछि डिपीहरू सिडिएससीसँग जोडिन्छन्। केन्द्रिकृत केवाइसी विवरण हुने भएपछि पटक-पटक केवाइसी फारम भर्नुपर्ने झन्झट पनि नरहने उनले बताए। साथै व्यक्तिको नागरिकतामा भएको फोटो र उपस्थित भएको व्यक्ति एउटै हो वा होइन भनेर छुट्याउन (आर्टिफिसियल इन्टेलिजेन्स) संयन्त्रको समेत सिस्टममा प्रयोग गर्ने तयारी रहेको उनले बताए।

‘नागरिकताको फोटो र उपस्थित भएको व्यक्ति एउटै होइन भने डिम्याट खाता खोल्न पाइँदैन’ आचार्यले भने। त्यति मात्रै होइन, यसअघि डिम्याट खाता खोलेका सबैको नवीकरण गर्दा पनि त्यहीं व्यवस्थाबाट गरिनेछ।नागरिकताको फोटो र डिम्याट खाता खोल्ने व्यक्ति एउटै होइन भनेर उपकरणले संकेत दिएमा सो व्यक्तिको डिम्याट खाता नै नवीकरण हुँदैन। अर्थात अब व्यक्ति पहिचान गरेरमात्रै डिम्याट खाता नवीकरण हुनेछ।

‘हाल डिम्याट खाता हुनेको पनि नयाँ सिस्टमबाट अपडेट गरिनेछ, यसले अरूको नाममा आइपिओ भर्न सक्ने छैनन्,’ उनले भने। एक वर्षमा यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्नेगरी सिडिएससीले काम गरिरहेको आचार्यले बताए।धितोपत्र बाँडफाँड निर्देशिकाले भन्छ– पुगेसम्म सबैलाई १० कित्ता सेयर दिनुपर्नेछ, नपुगेमा गोलाप्रथाबाट छनौट गर्नुपर्छ। १० कित्ताभन्दा धेरै पुग्ने भएमा सो अंकले भाग जाने सेयर संख्या सबैलाई दिनुपर्नेछ।

छरिएको पुँजीलाई एकीकृत गर्ने र बाँडफाँडमा समानुपातिक सिद्धान्त कायम गर्ने निर्देशिकाको लक्ष्य हो। निर्देशिकाअनुसार धेरै व्यक्तिको नामबाट आवेदन दिँदा पुगेसम्म सबैलाई १०–१० कित्ता पर्छ भने नपुगेमा गोलाप्रथा गरेमा पनि कसै न कसैलाई पर्न सक्छ भन्ने मान्यता छ। यही मान्यताले गर्दा पनि आइपिओको खेती फस्टाएको धितोपत्र बोर्डका अधिकारीहरू नै बताउँछन्। आइपिओ पनि प्रिमियम रकम थपेर जारी गर्न पाइने व्यवस्था भएकाले अब अरूका नाममा खेती गर्नेको संख्यामा कमी आउने बोर्डको दावी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News